logo-img

सात वर्षदेखि मच्छिन्द्रनाथको मूर्ति अस्थायी मन्दिरमा
बुङ्गमतीको रातो मच्छिन्द्रनाथ मन्दिर पुननिर्माणमा भएको ढिलाइले देउताको मूर्तिको बिचल्ली

ललितपुर बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर अझै पुनर्निर्माण हुन सकेको छैन । पहिलाे ठेक्का लगाएर काम सुरु गरिएको भएपनि स्थानीयको विरोधपछि फेरि त्यसलाई भत्काएर पुनः निर्माण भएको हो ।

वि.स‌ २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यही वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको सुरुआत यहीँबाट गरेका थिए । मन्दिरको निर्माण चित्त बुझ्दो नभएको भन्दै स्थानीयवासीले आवाज उठाएपछि भत्काएर फेरि निर्माण गर्नुपर्दा काम ढिलाई भएको रातो मच्छिन्द्रनाथ निर्माण उपभोक्ता समितिको अध्यक्ष अमिर शाक्य बताउँछन् ।

मच्छिन्द्रनाथको मन्दिरमा ५२ थरीका इटाको प्रयोग भएको र सोही स्वरूपमा निर्माण गर्नका लागि मन्दिरले माग गरेका सामग्री बजारमा अर्डर गर्नुपर्ने भएकाले पनि काम ढिलाई भएको शाक्य बताउँछन् ।

उनले भने, ‘यो निर्माण कार्यमा ढिला हुनुको कारण भनेको एउटा कोभिड पहिलो कारण हो । दोस्रो भनेको श्रीलंकन सरकारले पहिला ठेक्कामा १४ फिट बनाएको संरचना भत्काएर पुनः काम गर्नु परेकाले ढिलाई भएको हो । तेस्रो कारण भनेको मच्छिन्द्रनाथको मन्दिरका लागि माग गरिएको सामग्री बजारमा अर्डर गर्नुपर्ने भएकाले ढिला भएको हो । मन्दिरमा ५२ थरीका इट्टा छन् । शिखर शैलीको मन्दिर भएकाले पनि एक-एक इट्टाको महत्व छ । मन्दिरले चाहेको र मागेको सामान बजारमा अर्डर गर्नुपर्ने भएको हुनाले पनि ढिला भएको हो ।’



पुरानो इट्टा जसरी बनाइएको त्यसरी नै बनाउने भनेर भूकम्पपछि यहाँको सामान फन्छाएर फालेको ठाँउमा पनि गएर इट्टाहरु उठाएर ल्याएको पनि उनी बताउँछन् । यसका साथै मन्दिरमा चार सय ५४ किलोको माटोको झ्याल पनि रहेको छ जसलाई बनाउनको लागि तीन जना दक्ष कलाकर्मीहरुलाई ९३ दिन लागेकाे थियाे । तयार भएर प्रयोगमा ल्याउनको लागि १३ महिना सुकाउनुपर्छ ।



मौलिकता जोगाउने हिसाबले जस्तो पहिला थियो त्यस्तै निर्माण गर्नको लागि आवश्यक सामान अहिलेको परिवेशमा पाउन पनि चुनौतीपूर्ण कुरा भएकाले पनि मन्दिर निर्माणमा ढिलाई भइरहेको निर्माण पक्षको दाबी छ । शाक्यका अनुसार कानूनी रुपमा जटिलताहरु आएपनि बजेटको कारण भने काम रोकिएको छैन ।

उनले भने, ‘बजेटको कारणले अहिलेसम्म काम रोकिएको छैन । नेपाल सरकार पुरातत्व विभागसँग हामीले झण्डै तीन करोड ८ लाख ६९ हजार रुपैयाँमा सम्झौता गरेको हो । जसमध्ये हालसम्म दुई करोड ४३ लाख रुपैयाँ प्राप्त गरेका छौँ । भुक्तानी लिन पनि बाँकी भएको हुँदा बजेटको कारण रोकिएको होइन ।’ भूकम्पपछि बनेको प्राधिकरण पुनर्निर्माण समिति विघटन भएपछि यस अन्तर्गत रहेका अधुरा कामहरूको विषयमा के गर्ने भन्ने विषयमा छलफल नहुँदा कानूनी रुपमा धेरै समस्याहरू आएको थियो ।



उनले भने, ‘कानूनी रुपमा जटिलता नभएको भने होइन, भूकम्पपछि प्राधिकरण पुनर्निर्माण समिति भनेर गठन भएको थियो, त्यो समितिले उपभोक्ता समितिलाई १० करोडसम्म काम गर्न दिने भन्ने कुरा प्राधिकरण अन्तर्गतको कुरा थियो । २०७८ साल मंसिरको ९ गते प्राधिकरण विघटन भयो । प्राधिकरण विघटन भएपछि यस अन्तर्गत भइरहेका अधुरा कामहरूको विषयमा के गर्ने भन्ने विषयमा छलफल भएन । अब प्रचलित कानून अनुसार जाने भनेपछि एक करोडभन्दा बढीमा उपभोक्ता समितिले काम गर्न पाउँदैन । तर लगभग ३ करोड ८ लाख ६९ हजार रुपैयाँको सम्झौता छ । त्यसपछि पुरातत्व विभाग, कानून मन्त्रालय दुवै अन्याेल भएपछि यहाँ थोरै कानूनी रुपमा ढिला हुन गयो ।’

मन्दिरको कार्य सम्पन्न गर्नको लागि दिनरात खट्दा पनि कमिसन लिनलाई ढिला गरिरहेको भन्ने खालको नकारात्मक कुरा समाजमा उठेको भन्दै यसले काम गर्नको लागि समस्या पैदा गरेको शाक्यले गुनासो पनि गरेका छन् । उपभोक्ता समितिको साथै इट्टा बनाउने कम्पनीहरूले पनि आजसम्म पैसा नलिएको उनको दाबी छ ।

उनले भने, ‘हालसम्म यो मन्दिरको लागि इटा बनाउने कम्पनीले एक रुपैयाँ पैसा मागेको छैन । उहाँहरूले चाहिने जति इट्टा बनाएर पैसा नमागेको अवस्थामा पनि पैसा लिएर खायो भन्ने आरोप लागेको छ । समितिले अझैसम्म तलब, भत्ता पनि नलिई काम गरिरहेका छौँ ।’

वर्तमान समयको भने पुरातत्व विभागबाट असार १५ गतेसम्मको म्याद थप भएको छ । समितिले चार हात खुट्टा टेकेर भएपनि मच्छिन्द्रनाथको मूर्ति भोटो जात्रा सकेपछि निर्माणाधीन मन्दिरभित्र राख्ने लक्ष्य राखेको पनि अध्यक्ष शाक्यको भनाइ छ ।

उनले भने, ‘पुरातत्व विभागबाट यही असारको १५ सम्म म्याद थप भएको छ । हाम्रो लक्ष्य जेठको पहिलो हप्तासम्म सकाउने छ । वैशाख अन्तिम या जेठको पहिलो हप्तासम्म सकिन्छ । यसपटक चार हात खुट्टा टेकेर हुन्छ कि कसरी हुन्छ कुनै पनि हालतमा मच्छिन्द्रनाथको मूर्ति भोटो जात्रा सकेपछि ल्याउने बेलासम्म निर्माणाधीन मन्दिरभित्र राख्ने लक्ष्य छ ।’

मन्दिरको कार्य सम्पन्न हुन नसक्दा रातो मच्छिन्द्रनाथको मूर्तिलाई सानो अस्थायी रुपमा बनाएको मन्दिरमा राख्ने गरिएको छ । यसले गर्दा पूजा गर्ने पूजारी र भक्तजन सबैलाई समस्या भइरहेको छ । सांस्कृतिक सम्पदामा राख्न मिल्ने खालको इतिहास बोकेको मन्दिरलाई यस्तो अवस्था देख्दा नराम्रो लागेको स्थानीय तथा पूजारी मदन शाक्य बताउँछन् ।

उनले देउतालाई अस्थायी मन्दिरमा राखेको छ/सात वर्ष भइसकेको छ तर अब आफ्नै मन्दिरमा राख्ने आशा गरेको पनि बताए । उनले भने, ‘समस्या त छ नि । पुजारीहरूलाई पनि समस्या छ । चाँडै सिध्याएर देउता राख्न पाएको भए धेरै राम्रो हुन्थ्यो । देउतालाई अस्थायी मन्दिरमा राखेको छ/सात वर्ष भइसक्यो । आशा गरौँ असार मसान्तसम्मको काम सकियो भने मन्दिरमा देउता राख्न पाइन्छ कि ।’ मन्दिरमा मंसिर २७ गते क्षमा पूजा गरेर फेरि काम सुरु गरिएको छ ।

  • प्रकाशित मिति : पुस २१, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया