आइतबारदेखि सुरु भएको जय ट्रफी एलिट कपको पहिलो दिन बलरका लागि विशेष रह्यो । खेलको पहिलो दिन त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस तथा बागमतीले मधेश प्रदेशको सामना गरे । दुवै खेलमा स्पिनरले जादुमयी प्रदर्शन गरे ।
विभागीय क्लबको भिडन्तमा नेपाल पुलिसले टस जितेर आर्मीलाई ब्याटिङको निम्तो दियो । वीरगञ्जको नारायणी क्रिकेट ग्राउन्डमा आर्मी क्लब पहिलो इनिङमा ३४.४ ओभरमा १ सय २१ रनमै अलआउट भयो ।
उसका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, बसिर अहमदले १२ र पवन कार्कीले अविजित ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
आर्मीको इनिङ ध्वस्त पार्नेक्रममा पुलिस क्लबका बायाँहाते स्पिनर ललितनारायण राजवंशीले सानदार बलिङ गरे । उनले १४.४ ओभरमा ४ मेडनसहित ४७ रन दिएर सर्वाधिक सात विकेट लिए ।
यस्तै, कुशल भुर्तेल, श्रवन यादव र राशिद खानको नाममा एक/एक विकेट रह्यो । यस्तै, पुलिसले पनि पहिलो इनिङमा निकै खराब सुरुवात गरेको छ । उसले पहिलो दिनको खेल सकिँदा २४ ओभरमा ७ विकेट गुमाएर १ सय ३ रन बनायो ।
पुलिसका लागि गुलशनकुमार झा ३६ बलमा तीन छक्का र एक चौकासहित ३४ रनमा अविजित छन् ।
यस्तै, अमित श्रेष्ठले १८, राशिद खानले १६, शंकर रानाले १३ र दिलिप नाथले १० रन जोडे । ओपनरद्वय कुशल भुर्तेल र अर्जुन साउद शून्यमै आउट भए । आर्मीका लागि बलिङमा स्पिनर साहब आलमले ११ ओभरमा एक मेडनसहित ५५ रन दिएर पाँच विकेट लिइसकेका छन् । यस्तै, सोमपाल कामी र पवन कार्कीले एक/एक विकेट लिए । पहिलो दिनको खेल सकिँदा पुलिस १८ रनले पछाडि छ ।
यस्तै, अर्को खेलको पहिलो इनिङमा बागमतीविरुद्ध मधेश प्रदेश ३५.३ ओभरमा १०२ रनमै अलआउट भयो । जनकपुरस्थित रामजानकी मल्टिप्रपोज ग्राउन्डमा भएको खेलमा मधेशका लागि मयन यादवले २१, विशाल पटेलले १६, निरज यादवले १२, अभिषेक तिवारीले ११ र सोहिल पटेलले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बागमतीका लागि कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले १४ ओभरमा २ मेडनसहित ४१ रन दिएर ५ विकेट लिए । यस्तै, अर्का स्पिनर सूर्य तामाङले २.३ ओभरमा ७ रन दिएर तीन विकेट हात पारे ।
त्यस्तै, नन्दन यादव र प्रतिश जिसीको नाममा एक/एक विकेट रह्यो । पहिलो इनिङमा बागमतीले पनि निकै खराब सुरुवात गर्यो । उसका ओपनरद्वय रित गौतम तीन तथा आशुतोष घिरैया शून्यमै पवेलियन फर्किए । यद्यपि शुभ कंशाकार र इशान पाण्डेले बागमतीलाई खेलमा फर्काएका छन् ।
अविजित रहेका शुभले २२ र इशानले ९ रन बनाएका छन् । पहिलो दिनको समाप्तीमा बागमती ६८ रनले पछाडि छ । मधेशका लागि बलिङमा रुपेश सिंह र विशाल पटेलले एक/एक विकेट लिए ।
पहिलो दिनको खेल हेर्दा ब्याटरमा धैर्य गर्ने क्षमतामा कमी देखियो । दुईदिवसीय खेल भए पनि प्रायः ब्याटर टी–२० र एकदिवसीय फरम्याटमा खेल्ने तरिकाले प्रस्तुत भए ।
फलस्वरूप पहिलो इनिङमा कुनै पनि टिम ४० ओभर पनि क्रिजमा टिक्न सकेनन् । ‘मिनी टेस्ट’ मानिने यस्ता प्रकारका प्रतियोगितामा ब्याटरले आफूलाई प्रमाणित गर्नुपर्छ, अब सोमबार उनीहरूले कस्तो प्रदर्शन गर्नेछन्, त्यो भने हेर्नलायक हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।