logo-img

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस
फाइल तस्बिर

सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा सोमबार कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तर्फबाट कानुन व्यवसायीले थुनछेक बहस गर्दै छन् ।   

जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि लामिछानेको तर्फबाट कानुन व्यवसायीले थुनछेक बहस गर्न लागेका हुन् । यसअघि सोही प्रकरणमा पूर्वडिआइजी छविराज जोशी र लिला पछाईको तर्फबाट थुनछेक बहस भइसकेको छ ।

सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ, उनकी छोरी एमाले नेत्री एवं गण्डकी प्रदेश सभाकी पूर्वसांसद मीना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन् बाँकी रहेको छ ।  

यसैबीच रास्वपा सभापति लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानुन व्यवसायी यज्ञमणि न्यौपानेले सहकारी पीडितले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलासमा कुरा उठ्न थालेको बताए । 



सहकारी पीडितले बचत रकम फिर्ता पाउनुपर्ने मागसहित सर्वत्र आन्दोलन चलिरहेका बेला सहकारी पीडितले आफ्नो बचत रकम नपाउने परिस्थिति बन्दै गइरहेको बारे इजलासमा छलफल भएको अधिवक्ता न्यौपानेले बताए ।  

अहिले लामिछानेलगायतलाई लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाका कारण सहकारी पीडितले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानुन व्यवसायीले बताउँदै आएका छन् ।  



प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः सरकारी वकिलको तर्फबाट जवाफी बहस सुरु हुनेछ । थुनछेक बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । 

यही ७ पुसमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 



सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । 

सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको  जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै, लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।  

  • प्रकाशित मिति : पुस २२, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया