सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चाहेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाड्न माग गरिएको छ । जिल्ला अदालत कास्कीको सोमबारको इजलासमा लामिछाने पक्षधरका कानुन व्यवसायीले उनलाई हाजिरी जमानीमा छाड्न माग गरेका हुन् ।
जिल्ला न्यायाधीश नितिज राईको इजलासमा लामिछानेका पक्षबाट वकालत गरेका पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशीलकुमार पन्त र सुरेन्द्र थापाले लामिछानेलाई हाजिरी जमानीमा छाड्नुपर्ने चारवटा तथ्य अघि सारे । पुर्पक्षमा रहने जेलमा पठाउने वा धरौटीमा छाड्ने कुरा गर्ने नमिल्ने तर्क राख्दै उनीहरूले लामिछानेलाई अदालतले चाहेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाड्न माग गरे ।
बहसका क्रममा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि अहिलेका प्रहरी प्रमुख वसन्त कुँवरसम्मले ‘लामिछाने निर्दोष छन्’ भनेर बोलेको भिडियो न्यायाधीश राईको इजलासमा पेस गर्दै ‘सरकार फरक पर्नासाथ एउटै व्यक्ति कसरी दोषी हुन्छ ?’ भन्दै प्रश्न गरे ।
उक्त भिडियो देखाउँदै वरिष्ठ अधिवक्ता श्रेष्ठले महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको र प्रहरी प्रमुख कुँवरले लामिछानेमाथि कतै पनि उजुरी नपरेको, उनको संलग्नता पुष्टि भएको जिकिर गरे ।
लामिछानेलाई पक्राउ गर्नु नै गैरकानुनी, गैरन्यायिक भएको अधिवक्ता सुरेन्द्र थापाको तर्क छ । मूल मुद्दासँगै थप र पूरक अभियोजन लगाउनु नै गैरकानुनी भएको उनले बताए । थापाले अदालतमा तर्क गरेका छन्, ‘पूरक अभियोग लगाउन उच्च सरकारी वकिलको कार्यालयले आदेश दिनुपर्छ । सिधै जिल्लाले लगाउन पाउँदैन । मूल अभियोग लगाइसकेपछि ५ गते थप र ७ गते पूरक अभियोग लगाइएको छ र ७ गतेकोमा मात्र रविलाई मुद्दा चलाइएको छ । उच्च सरकारी वकिलको कार्यालयको आदेश नै छैन । यो गैरकानुनी भो ।’
रविलाई सम्पत्ति शुद्धीकरण मुद्दा पनि लगाउन नमिल्ने श्रेष्ठको तर्क छ । सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन अपराध गरेर ल्याएको पैसा जानी जानी ल्याएर शुद्धीकरण गरेको हुनुपर्ने श्रेष्ठको भनाइ छ ।
अर्का वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले सहकारीको पैसा गएको प्रत्यक्ष देखिएको गोर्खा मिडियालाई विपक्षी नबनाएर व्यक्तिको पछाडि लाग्नुले राज्यको नियत छर्लङ्ग देखिएको जिकिर गरे । ‘सूर्यदर्शन सहकारीको पैसा गोर्खा मिडियामा गएको अध्ययन, अनुसन्धानले देखाएको छ भने गोर्खा मिडियालाई विपक्षी बनाइनुपर्थ्यो तर बनाइएन,’ अदालतमा पेस गरेको जिकिरबारे अधिवक्ता थापाले भने, ‘गोर्खा मिडिया, नेचर हब्र्सजस्ता कम्पनीलाई विपक्षी नबनाइनु र एउटा व्यक्ति रविलाई विपक्षी बनाउनुका पछाडि राज्यको नियत प्रष्टै देखियो भन्ने मेरो तर्क हो ।’
महानगरले गरेको अध्ययन प्रतिवेदन र प्रहरी अनुसन्धान प्रतिवेदन तथा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोजन पत्रबीचमा मेल नखाएको थापाको भनाइ थियो । जाहेरीका अनुसार हदम्याद सकिइसकेको मुद्दामा गैरकानुनी हिसाबले रविलाई समाएर अभियोजन गरिएको समेत उनले तर्क पेस गरे ।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा न्यायाधीश नीतिजको इजलासमा अहिलेसम्म लामिछानेसहित सातै जनाको बयान सकेर दुई जनाको थुनछेक बहस भइसकेको छ । पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी र जीबी राईसँग मिलेर सहकारीको रकम अपचलनको अभियोग लागेकी लिला पछाईको पक्षबाट बहस भइसकेको छ ।
लामिछानेकोको पक्षबाट मंगलबार पनि बहस हुनेछ । करिब २५ जनाले बहस गर्न नाम टिपाएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वसांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, उनका बाबु तथा पूर्वसञ्चालक सदस्य कृष्णबहादुर गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनालको थुनछेक बहस बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।