राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा रहेका बेला मुकुल ढकाल जिल्ला दौडाहामा निस्किए । उनी जिल्ला–जिल्ला पुग्नुको उद्देश्य थियो, कार्यकर्ताको भावना बुझेर प्रतिवेदन तयार पार्नु । ढकालले ३८ जिल्ला घुमेर प्रतिवेदन पनि तयार पारे ।
उनले ती जिल्लाका फरक–फरक क्षेत्रका २ हजार ७९ जनासँग अन्तरक्रिया गरे । उनीहरूको प्रतिक्रियाको आधारमा प्रतिवेदन तयार पारेको मुकुलको दाबी छ । त्यही प्रतिवेदन हो जसले उनी र रास्वपा सभापति रवि लामिछानेबीचको सम्बन्धमा चिसोपन बढायो ।
प्रतिवेदन तयार पारेसँगै मुकुलले पार्टी सभापति लामिछाने सच्चिनुपर्ने तर्क गर्न थाले । तर, उनलाई त्यो तर्क महँगो साबित पर्यो । पार्टी अनुशासनबाहिर गएको भन्दै २५ असारमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटायो । लामिछाने सच्चिनुपर्छ भन्दै औँला उठाएकै कारण आफूलाई पदबाट हटाएको उनको दाबी थियो ।
पार्टीको निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन गर्न भन्दै ढकाललाई समय दिइयो । तर, उनले पुनरावेदन गरेनन् । बरु ढकालले दुवैपटक जवाफ पठाउँदा सभापति लामिछानेमाथि नैतिकताको प्रश्न उठाए । रास्वपालाई ‘रवि क्लब’ बनाइएको भन्दै उनले असन्तुष्टि जनाए । पार्टीबाट निष्कासनमा परेपछि ढकाल आफू रवि क्लबबाट निकालिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै हिँडे ।
पार्टी जिम्मेवारीबाट मुक्त गरेपछि ढकाल र लामिछानेसहित शीर्ष नेताहरूसँग दूरी बढ्दै गयो । तर, उनले सार्वजनिक मञ्चमा लामिछानेको भने खुलेरै आलोचना गरे । मुकुलले रविसहित रास्वपाका अर्का सांसद तथा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेमाथि पनि विभिन्न आरोप लगाए ।
उनले दुईपटक मुलुकको उपप्रधानमन्त्री एवं गृहमन्त्री भइसकेका लामिछानेले आफू प्रधानमन्त्री बन्न भारतसँग सहयोग मागेको र उपसभापति वाग्लेले नेपाललाई भारतको राज्य बनाउने प्रस्ताव गरेको गम्भीर आरोप लगाएका हुन् ।
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ढकालले भनेका थिए, ‘पार्टीमा भारत मामिला हेर्ने जिम्मा मलाई थियो । रवि लामिछानेले बारम्बार भन्नुभएको थियो– भारतलाई म जे बुझाउन पनि तयार छु, मलाई प्रधानमन्त्री बनाउन भारतलाई मनाऊ भनेर भारत पठाउनुभयो ।’
रास्वपा फर्किँदै छन् मुकुल ?
ढकाल रास्वपाबाट पूर्णरूपमा निकालिएको चार महिना पूरा भएको छ । योबीचमा रास्वपाभित्र र बाहिरको राजनीतिक परिस्थिति पनि निकै फेरबदल भइसकेको छ । ढकालले सच्चिन भनेका पार्टी सभापति लामिछाने अहिले सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।
उनी हिरासतमा रहेका बेला मुकुल भने रास्वपा फर्किने तयारी थालेका छन् । र, पछिल्लो समय रविप्रति ढकाल नरम देखिएका छन् । उनले हिरासतमा पुगेर रविलाई भेट्ने कोसिस पनि गरे । यद्यपि उनी त्यसमा सफल भएनन् ।
यही १७ पुसमा ढकालले आफू र लामिछानेबीच दरार आयो भनेर फेसबुकमार्फत स्पष्ट पार्न खोजे । उनले फेसबुक लेखे, ‘फुटेर होइन, जुटेर । यदि अदालतले निर्दोष भने माफी मागौँला, नभने खैर, सबै बिर्सौँ । तर, संकटको यो घडीमा पार्टी जोगाऔँ । जोगाउने मात्र होइन, ८४ सम्म भरोसा युक्त शक्तिको रूपमा स्थापित गरेर, मिसन ८४ लाई सफल बनाऔँ ।’
यो स्टाटसपछि धेरैले उनले रास्वपामा फेरि ठाउँ खोजिरहेको आकलन गरेका छन् । लामिछानेमाथि कानुनी कारबाही प्रक्रिया सुरु हुँदै गर्दा ढकाल रास्वपा फर्किने उपायको खोजी गरिरहेका हुन् ।
लामिछानेका ती विश्वासपात्र
पार्टी संस्थापक महामन्त्रीका साथै सभापति रविका खास विश्वासपात्र पनि थिए, ढकाल । तर, पार्टी सभापतिसँगै दूरी बढेपछि पार्टीबाट निकालिँदा कति छटपटी हुन्छ भन्ने कुरा मुकुलका गतिविधिले प्रष्ट पार्छ ।
उनी रास्वपा फर्किन हरसम्भव प्रयास गरिरहेका छन् । तर, रास्वपाका शीर्ष नेताहरू भने उनलाई पुनरागमन गराउन त्यति इच्छुक छैनन् । सोही कारण पनि उनीहरू मुकुलको कमब्याक सम्भावनाबारे प्रतिक्रिया दिन आनाकानी गरिरहेका छन् ।
सभापति लामिछाने र रास्वपाबारे ढकालका अभिव्यक्तिले पार्टीलाई क्षति पुर्याएको भन्दै नेता तथा कार्यकर्ता ढकालसँग असन्तुष्ट देखिन्छन् । यद्यपि केही नेता/कार्यकर्ता सभापतिविरुद्धको मुद्दा अदालतमा अड्किरहेको अवस्थामा पार्टी बचाउन मुकुललाई पुरानै जिम्मेवारी दिनुपर्ने तर्क पनि गरिरहेका छन् ।
रास्वपामा फर्किन ढकाल पनि विभिन्न नेतामाझ पुगेर रिझाइरहेका छन् । र, उनले केही प्रदेशस्तरका नेतालाई फकाइसकेका पनि छन् । गत बुधबार मात्रै रास्वपाका कोशी प्रदेश कमिटी सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले मुकुललाई जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए ।
रास्वपा आजसम्मकै सबैभन्दा ठूलो संकटको घडीमा रहेको र मुकुललाई पार्टीबाट निष्कासन गरेपछि पार्टी झन् कमजोर भएको भन्दै उनलाई फिर्ता गर्नुपर्ने पत्रमा उल्लेख छ । यता मुकुलले पनि प्रतिक्रिया दिँदै ढकालले आफूले उठाएको विषय अदालत प्रवेश गरिसकेकाले अदालतको फैसलापछि स्वतः कोर्स करेक्सनको विन्दु आइपुग्ने जनाएका छन् ।
रास्वपामा ढकालको पुनरागमन हुनसक्ने वा नसक्ने भनेर विभिन्न अड्कलबाजी भइरहेको अवस्था छ । यता रास्वपा पार्टीका कार्यवाहक प्रवक्ता मनिष झा भने ढकाललाई पार्टीमा भित्र्याउने पार्टीको कुनै योजना नरहेको बताउँछन् ।
‘पार्टीमा हुँदा नानाथरी भन्दै हिँड्नुभयो,’ प्रवक्ता झाले फरकधारसँग भने, ‘अहिले विभिन्न ठाउँ गएर पार्टीमा फर्किने चाहना राख्दैमा हामीले प्रतिक्रिया दिनुपर्छ भन्ने छैन । पार्टीले उहाँबारे अहिले केही धारणा बनाएको पनि छैन, छलफल पनि भएको छैन ।’
उनले छोटो र संक्षिप्त उत्तरमा ढकालको रास्वपामा आउने चाहना राख्ने बारेमा पार्टीले कुनै आधिकारिक धारणा नबनाएको जनाए । यस्तै, रास्वपाका एक नेता पार्टीभित्र केही नेताहरू मुकुललाई पार्टीमा फर्काउन पर्छ भन्दै लबिङ गरिरहेको बताउँछन् ।
नाम उल्लेख नगर्ने सर्तमा ती नेता भन्छन्, ‘जब, मुकुललाई पार्टीमा फर्काउन संकेत गरिएको पत्र आयो, त्यसले हंगामा मच्चायो । केन्द्रीय सदस्यहरूले पनि प्रतिक्रिया जनाउन थाले ।’ तर, दुई तिहाइभन्दा बढीले ढकाललाई पार्टीमा फर्काउन नहुने धारणा राखेको उनले बताए ।
अहिले रवि र मुकुलबीच संवाद गराएर फेरि पार्टीमै ल्याउन खोजेको अनुमान गर्दै नेताहरूले चरम असन्तुष्टि जनाएको अर्का केन्द्रीय सदस्यले जनाए । ‘उहाँलाई ल्याउने कुरा सम्भव छैन, आउन दिनु हुँदैन भनेर साथीहरू लाग्नुभएको छ,’ ती केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय समिति ल्याउन तयार छैन ।’ उनले पनि रास्वपाभित्र ढकालका लागि ठाउँ नभएको संकेत गरे ।
चिकित्सकबाट राजनीतिमा कसरी ?
लामिछानेकै चाहनामा चिकित्सक पेसा छाडेर राजनीतिमा होमिएका ढकाल उनीसँगैको टसलले राजनीतिबाट हात धुनु परेको थियो । कालीकोटको रास्कोट अस्पतालदेखि रास्वपा महामन्त्री हुँदै साधारण सदस्यबाट निकालिएका ढकालको राजनीतिक उदयदेखि पतनसम्मको श्रृंखला कोहीबाट लुकेको छैन ।
विवेकशील साझा पृष्ठभूमि हुँदै रास्वपाको महामन्त्री तथा प्रवक्तासम्म बनेका ढकाल मोरङको विराटनगर महानगरपालिका–३ का स्थायी बासिन्दा हुन् । पेसाले चिकित्सक ढकाल रास्कोट अस्पतालका निर्देशक हुँदा तत्कालीन सञ्चारकर्मी हालका रास्वपा पार्टी सभापति लामिछानेसँग चिनजान भयो ।
७ असार २०७९ मा राष्ट्रियसभा गृह भृकुटीमण्डपबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिँदा २१ जना केन्द्रीय सदस्य थिए । लामिछानेले ९ असारमा प्रवक्ताको जिम्मेवारी दिएसँगै राजनीतिक वृत्तमा ढकालको चर्चा सुरु भयो ।
सोही वर्षको मंसिरमा पार्टी चुनावमा होमियो । तनहुँ र चितवनको उपचुनावसम्मको परिणामका आधारमा रास्वपा संसदको चौथो ठूलो हैसियत बन्यो । सभापति लामिछानेका सबैभन्दा निकट रहेर काम गरेका ढकालको इलाम उपचुनावपछि खटपट सुरु भएका पार्टीका नेताहरू बताउने गर्छन् ।
सत्ता र शक्तिको अभ्यासमा आफूलाई अभ्यस्त बनाइसकेका अनि राजनीतिमा जे पनि गर्न पछि नपर्ने लामिछानेको निशानामा ढकाल पर्नेक्रम क्रमशः सुरु भयो । ६ जेठ २०८१ मा सभापति लामिछानेकै जोडबलमा समीक्षा यात्रामा निस्किएका ढकालले महिना दिनसम्म ३८ जिल्लाका विभिन्न स्थानमा पुगेर पार्टीको धरातलीय अवस्थाको सूक्ष्म अध्ययन गरे । अनि तयार भयो प्रतिवेदन । तर, उक्त प्रतिवेदनसँगै लामिछाने–ढकाल विवाद चरम उत्कर्षमा पुगेर छताछुल्ल भयो ।
लामिछानेसँगको सम्बन्ध बिग्रेका कारण ढकालको राजनीतिक यात्रा पनि अन्योल बनेको छ । यद्यपि उनी बिथोलिएको राजनीतिक यात्रालाई लयमा ल्याउन विभिन्न कसरत गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।