नेपाली फुटबल टिम पछिल्लो केही महिनायता मुख्य प्रशिक्षकविहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इटालीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगको करार नथप्ने निर्णय गरेसँगै टिम प्रशिक्षकविहीन बनेको हो ।
एएफसी एसियन कप छनोट मिति नजिकिँदा पनि अहिलेसम्म एन्फाले प्रशिक्षक नियुक्त गर्न सकेको छैन । यद्यपि अब भने एन्फा केही तातेको छ । र, प्रशिक्षक चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उसको दाबी छ ।
भिन्सेन्जोको करार नथपिएपछि एन्फाले गत भदौ अन्तिम साता नयाँ प्रशिक्षकका लागि आवेदन खुला गर्यो । प्रशिक्षक बन्न एन्फाले प्रो लाइसेन्ससहित व्यावसायिक स्तरको फुटबलमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्ने सर्त राखेको छ ।
नेपाली टिमको नयाँ प्रशिक्षकका लागि ४ सय ५ जनाको आवेदन परेको एन्फाले जनाएको छ । उनीहरूबाट एन्फाले सुरुमा २० जनाको नाम छनोट गर्यो । २० मध्येबाट १० जनाको अर्को सर्टलिस्ट गरेपछि अहिले एन्फाले पाँच जनाको नाम तयार पारेको छ । अब एन्फा पाँच जनाको अन्तर्वार्ता लिएपछि नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारीमा छ ।
एन्फाका अनुसार टिमले नयाँ प्रशिक्षक केही सातामै पाउनेछ । नयाँ प्रशिक्षकको तलब आपसी सहमतिमा तय गरिनेछ । प्रशिक्षक नियुक्त भएसँगै नेपाली टिम एसियन कप छनोटको तयारी जुट्नेछ । एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह ‘एफ’ मा छ ।
नेपालले समूह चरणमा भियतनाम, लाओस र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपालले पहिलो म्याच २५ मार्चमा मलेसियासँग खेल्ने तालिका छ । नेपालले १० जुनमा लाओस, १४ अक्टोबरमा भियतनाम र १८ नोभेम्बरमा मलेसियाको सामना गर्नेछ ।
यस्तै, नेपालले २०२६ को ३१ मार्चमा लाओससँग खेल्नेछ । यदि समूह विजेता बने नेपाल सन् २०२७ को साउदी अरेबियामा हुने एसियन कपमा छनोट हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।