कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको बताएका छन् ।
‘फाउन्डेसन अफ ट्रान्स हिमालयन एन्ड रिसर्च स्टडिज’ले आज आयोजना गरेको ‘बिआरआई ढाँचामार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निम्ति अवसरको खोजी’ विषयक कार्यक्रममा मन्त्री अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध जहिल्यै सौहार्दपूर्ण रहेको बताए ।
उनले भने, ‘नेपाल र चीनबीच भौगोलिक, राजनीतिक तथा व्यापार र पारवहनको सम्बन्ध प्रगाढ छ । नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएकाले चीनको विशेषज्ञता यस क्षेत्रको विकासका लागि महत्वपूर्ण छ ।’
नेपालका लागि चीनका राजदूत छन सङले नेपालमा कृषि तथा पर्यटनलगायत परियोजनाहरूमा चिनियाँ लगानीकर्ता इच्छुक रहेको बताए । उनले भने, ‘हालै मात्र चिनियाँ उद्यमीको टोली नेपाल आएको थियो । उहाँहरू लगानी गर्न हौसिनुभएको छ ।’ नेपालको धेरै जनसङ्ख्या कृषिमा आश्रित भएकाले यसको विकासमा थप जोड दिनुपर्ने राजदूत सङले बताए ।
कृषि तथा खाद्य सुरक्षाविज्ञ डा. यमुना घलेले कार्यपत्र प्रस्तुत गर्दै कृषि तथा पर्यटन क्षेत्रमा नेपालको सम्भावना अधिक रहेको बताए । उनले भने, ‘बिआरआईसँग सम्बन्धित लगानीले न्यून आय भएका देशहरूमा कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्न मद्दत गरेको छ । नेपालमा पनि कृषि र पर्यटनको अत्यधिक सम्भावना छ । राँगा र भैँसीको मासु निर्यात सम्झौता चीनसँग भइसकेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।