logo-img

हेलिकोप्टर उडान प्रकरण : हतारमा निर्णय, दबाबमा फिर्ता

सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा यही पुस १७ (१ जनवरी २०२५) देखि व्यावसायिक हेलिकोप्टर उडानमा पूर्णरूपमा रोक लगाइएको थियो । निकुञ्जले मंसिर २६ गते एक सूचना जारी गर्दै व्यावसायिक हेलिकोप्टर उडानमा पूर्ण रूपमा रोक लगाइने सूचना सार्वजनिक गरेको थियो । हेलिकोप्टर उडानले अत्यधिक ध्वनि प्रदूषण भएको र निकुञ्ज क्षेत्रमा पर्ने बस्तीमा रहेका वन्यजन्तुको वासस्थानमा असर परेको भन्दै उडानमा रोक लगाउने निर्णय गरिएको जनाएको थियो । 

यो निर्णय सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवाला संघसंस्थाले मिलेर गरेका थिए । तर, यो निर्णय एक महिना पनि टिक्न सकेन । फेरी पुस २३ गते अर्को सूचना जारी गर्दै कार्यालयले खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान रोक्ने निर्णय फिर्ता लिएको छ । कार्यालयले सबै हेलिकोप्टर कम्पनीहरूलाई पत्र लेख्दै सगरमाथा क्षेत्रभित्र नियमानुसार सेवा प्रदान गर्न अनुमति लिन र तोकिएको राजस्व बुझाउन आग्रह गरेको छ । यस पत्रको प्रतिलिपि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि पठाइएको छ ।

कार्यालयद्वारा सोमबार पठाइएको पत्रमा सगरमाथा क्षेत्रको प्राकृतिक सुन्दरताको अवलोकन गर्ने पर्यटक, आकस्मिक उद्धार, तथा आवश्यक सामग्री ढुवानीका लागि हेलिकोप्टर सेवा पुनः सञ्चालन गर्न अनुरोध गरिएको छ । पत्रमा तोकिएका नियम पालना गरी सुरक्षित रूपमा उडान, अवतरण, र ओभरिङ गर्न सकिने उल्लेख छ ।



सरकारले धेरै सोचविचारपछि मात्रै कुनै पनि निर्णयको टुंगोमा पुग्नुपर्ने हो । तर, निर्णय गर्नु अघि कुनै अध्ययन, सोच, विचार नै नगरी आवश्यकता, औचित्य र सामाजिक पक्षलाई हेक्कै नराखी हतारमा निर्णय गरिन्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो । 

अनि फिर्ता लिइयो निर्णय...



राष्ट्रिय निकुञ्ज कार्यालयको हेलिकप्टर उडानमा रोक लगाउने निर्णयपछि विभिन्न पक्षबीच विवाद उत्पन्न भएको थियो । एकातर्फ उड्डयन कम्पनी तथा पर्यटन व्यवसायीहरूले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका थिए भने अर्कातर्फ नेपालको उड्डयन नियामकले उक्त विषय आफ्नो मात्र क्षेत्राधिकारमा पर्ने भन्दै निर्बाध रूपमा उडानहरू सञ्चालन गर्न विज्ञप्ति जारी गरेका थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार उक्त निकायमा नरहेको हुँदा सगरमाथा राष्ट्रिय निकुञ्जले गरेको सो पत्राचारको कुनै पनि आधार र औचित्य नभएको जनाएको थियो । संघीय सरकारको एकल अधिकारमा हस्तक्षेप गरेको भन्दै प्राधिकरणले गाउँपालिका र निकुञ्जको निर्णय संविधान विपरीत भएको भन्दै आपत्ति जनाएको थियो । 



‘निकुञ्ज कार्यालयले प्राधिकरणको नियमन दायरामा रहेका ११ वटा हेलिकोप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थानको संरक्षण, ध्वनि प्रदूषण नियन्त्रण र खुम्बु क्षेत्रको व्यापार, व्यवसाय तथा रोजगारी व्यवस्थापन गर्ने भन्दै हेलिकोप्टरको उडानमा पूर्ण रूपमा रोक लगाउने भनी गरिएको पत्राचारप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

हवाई उड्डयनको नियमन तथा व्यवस्थापन गर्ने कानुनी जिम्मेवारी गैर सैनिक हवाई उडान ऐन तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र सो कानुनअन्तर्गतका नियमावलीमा भएको व्यवस्थाबमोजिम क्यानमा निहित रहेको क्यानले स्मरण गराएको छ । साथै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीलगायतका कानुनमा कुनै पनि आरक्षमाथिको हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार उक्त निकायमा नरहेको हुँदा निकुञ्ज कार्यालयले गरेको सो पत्राचारको कुनै पनि कानुनी आधार र औचित्य नभएको क्यानले जिकिर गरेको थियो । 

प्राधिकरणले मात्र होइन, सोलुखुम्बु प्रशासनले समेत अनधिकृत व्यक्तिहरूले खुम्बु क्षेत्रका हेलिप्याडमा हेलिकोप्टर अवतरणमा लगाएको प्रतिबन्ध तत्काल हटाउन चेतावनी दिएको थियो । सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सोमबार एक सूचना जारी गर्दै सो घटनाप्रति ध्यानाकर्षण भएको बताएका थिए । 

नियम अनुसार सञ्चालित हेलिकप्टर उडानमा अवरोध गर्दा विपद्, बिरामी उद्धार, पर्यटन प्रवर्द्धनलगायतमा समस्या भएको भन्दै यसरी अवरोध गर्नेमाथि कानुन अनुसार कडा कारबाही हुने प्रशासनले स्पष्ट पारेको थियो । 

त्यसअघि नै व्यवसायीहरूले निकुञ्जको निर्णय ‘कानुन विपरीत’ भएको भन्दै नमान्ने बताउँदै आएका थिए । तर, पुस १७ देखि लुक्लादेखि सगरमाथा क्षेत्रमा पर्ने बस्तीमा रहेका अधिकांश हेलिप्याडमा खाबोसहित झण्डा झुन्ड्याउँदै हेलिकोप्टर उडान गर्ने पाइलटलाई नियन्त्रणमा लिई कारबाही गर्ने अभिव्यक्ति दिएपछि व्यवसायीहरूले आइतबारदेखि खुम्बु क्षेत्रमा बिरामी उद्धारलगायतका कुनै पनि चार्टर तथा व्यावसायिक उडान स्थगित गरेका थिए । 

वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेद्वारा जारी गरिएको विज्ञप्तिमा यही आइतबारदेखि लागु हुने गरी त्यस क्षेत्रमा हुने सबै उडान रोक्ने निर्णय गरिएको थियो ।  पटक–पटकको वार्ता निर्क्योलमा पुग्न नसकेको, हेलिप्याडहरूमा झन्डा गाडेर अवरोध गरिएको र आपत्कालीन अवतरण गर्ने वातावरण समेत नभएको भन्दै वायुसेवा कम्पनीहरूले त्यस क्षेत्रमा अब अत्यावश्यक सहित सबै उडान रोक्ने निर्णय गरेका थिए । सबै कम्पनीले सबै उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अन्ततः सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय आफ्नो निर्णय फिर्ता लिन बाध्य भएको हो ।

तर, स्थानीयहरूले भने अझै पनि हेलिकोप्टर उडान गर्ने दिने निकुञ्जको निर्णयप्रति आपत्ति जनाएका छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले निर्णय पुनर्विचार गर्न आवश्यक ठानेको छैन । यो विषयलाई समाधान गर्न जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले माघ ११ गते हेलिकोप्टर कम्पनीहरू र खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई समन्वय बैठकमा सहभागी हुन आह्वान गरेको छ ।

कति उड्छन् दैनिक सगरमाथा क्षेत्रमा हेलिकप्टर ?

दशक अघिसम्म हेलिकोप्टर उच्च वर्गका व्यक्तिले मात्र चढ्ने विलासिताको साधन मानिन्थ्यो । सर्वसाधारणका लागि भने स्वास्थ्य उपचारलगायत आपत्कालीन र आकस्मिक प्रयोजनमा मात्र हेलिकोप्टरको प्रयोग भएको देख्न पाइन्थ्यो ।  पछिल्लो समय हेलिकोप्टर हिमाली क्षेत्रमा घुम्न जाने पर्यटकको साधनको रूपमा पनि विकास भएको छ ।

हिमालयको देशका रूपमा विश्वभर परिचित नेपालमा पछिल्लो समय पर्वतीय पर्यटनमा हेलिकोप्टरले महत्त्वपूर्ण भूमिका  खेलिरहेको छ । हिमाली क्षेत्रमा हिँडेर जान सबै पर्यटकका लागि सम्भव हुँदैन । त्यसैले त्यस क्षेत्रमा घुम्न जान चाहनेले हेलिकोप्टरको प्रयोग गर्दै आएका छन् । हाल नेपालमा ११ वटा कम्पनीका ३२ हेलिकोप्टरहरू सञ्चालनमा रहेको नेपाल वायुसेवा सञ्चालक संघले जनाएको छ । 

नेपालमा अहिले श्री एयरलाइन्स, सिम्रिक एयर, फिस्टेल एयर, अल्टिच्युड एयर, मनाङ एयर, मुस्ताङ हेलिकोप्टर, एयर डाइनेस्टि, माउन्टेन हेलिकोप्टर, प्रभु हेलिकोप्टर, अन्नपूर्ण हेलिकोप्टर, एली एभरेष्ट, कैलाश हेलिकोप्टरले सेवा दिइरहेका छन् । पर्यटनको सिजनमा प्रायः सबै हेलिकोप्टरलाई भ्याइनभ्याइ हुन्छ । वसन्त ऋतु हेलिकोप्टरको मुख्य सिजन मानिन्छ । यस ऋतुको याममा पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य संख्यामा विदेशी आउँछन् । उनीहरू सर्वोच्च शिखर सगरमाथासहित अन्नपूर्ण, लाङटाङ, लुक्ला, जोमसोम, डोल्पालगायत गन्तव्यमा हेलिकोप्टर लिएर पुग्छन् ।  

सगरमाथा क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्छ । यो क्षेत्र विशेष गरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको छ । पूर्वी नेपालको सोलुखुम्बुमा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् । हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणका लागि त्यहाँ वार्षिक सयौँ पर्यटक पुग्ने गर्छन् । 

अहिले पर्यटनको सिजन नभएका कारण सगरमाथा क्षेत्रमा दैनिक चार/पाँच वटा मात्र हेलिकोप्टर उडान हुँदै आएको बताउँछन्, नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता मुरलिधर जोशी । उनका अनुसार सगरमाथा आरोहणका लागि अनुकूल समय वसन्त यामका बेला आधार शिविरमा मात्र दैनिक औसतमा ५० भन्दा बढी हेलिकप्टर उडान हुने गरेको छ । शरद् याममा समेत अमादब्लमजस्ता साना हिमाल आरोहणका लागि त्यस क्षेत्रमा उल्लेख संख्यामा आरोही पुग्छन् ।

जहिल्यै निर्णय गर्न हतार !

निकुञ्जको यो निर्णयले हतारमा निर्णय लिने र फुर्सदमा पछुताउने जस्तो देखिएको छ । जसका कारण सरकार आफैँ विवादमा फस्दै गएको छ भने उसप्रति जनताको विश्वास पनि टुट्दै गएको छ । त्यति मात्र होइन, राज्य र कुनै पनि निकायबीच समन्वय अभाव रहेको स्पष्ट हुन्छ । 

संघ, केन्द्र र स्थानीय सरकारबीच छलफल, संवाद र समन्वय अभाव देखिएको छ । कुनै पनि निर्णयमा पुग्नुअघि त्यसले पार्न सक्ने प्रभावको आकलन नगर्दा यस्ता विवाद पर्यटन क्षेत्रमा मात्र नभई जुनसुकै क्षेत्रमा बारम्बार देखा पर्दै आएको छ । र, विवादमा परेपछि ती निर्णय फिर्ता लिनुपर्ने अवस्था पनि आउने गरेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले राष्ट्रिय निकुञ्ज र गाउँपालिकाले यस्तो संवेदनशील निर्णय गर्नुअघि सघं सरकारसँग संवाद, सल्लाह र समन्वय नगर्दा यस्तो समस्या उत्पन्न भएको बताइन्छ । 

यो पनि पढ्नुहोस् : सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडाउनमा रोक लगाउनु कति उचित ? [भिडियोसहित]

  • प्रकाशित मिति : पुस २४, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया