क्रिकेटमा ब्याटरका लागि रातो बलको सामना गरेर रन जोड्न कठिन मानिन्छ । प्रायः यो बल टेस्ट र प्रथम श्रेणीको क्रिकेटमा प्रयोग गरिन्छ । नेपालमा प्रथम श्रेणी क्रिकेट प्रतियोगिता भइरहेकै छैनभन्दा फरक पर्दैन ।
अहिले जनकपुर र वीरगञ्जमा जारी जय ट्रफी एलिट कप प्रतियोगिताले प्रथम श्रेणीको मान्यता पाएको छैन । क्यानले पनि यसलाई दुईदिवसीय क्रिकेट भनेको छ । यद्यपि जय ट्रफीले नेपालमा प्रथम श्रेणी क्रिकेटको झल्को भने दिएको छ । यस्ता प्रकारका प्रतियोगितामा रेड बलको सामना गरेर ठूलो पारी खेल्न सक्नु ब्याटरका लागि महत्वपूर्ण उपलब्धि हो ।
जारी जय ट्रफीमा नाम चलेका ब्याटरले ठूलो पारी खेल्न सकेका छैनन् । तर, १९ वर्षीय युवा ब्याटर मयन यादवले भने गज्जबको प्रदर्शन गरिरहेका छन् । उनले पहिलो खेलमै शतकीय इनिङ खेल्दै आफ्नो क्षमता देखाए ।
मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेका मयनले बागमतीविरुद्ध शतकीय इनिङ खेलेका हुन् । उनले उक्त खेलको दोस्रो पारीमा १०८ बलमा १२ चौका र २ छक्कासहित १०६ रन बनाए । मयनले स्टार लेगस्पिनर सन्दीप लामिछानेविरुद्ध खुलेरै ब्याटिङ गरे ।
उनकै प्रदर्शनका कारण उक्त खेलको दोस्रो इनिङमा मधेशले उत्कृष्ट कमब्याक गर्यो । त्यस इनिङमा मधेशले २११ रनमा पारी समाप्तिको घोषणा गरेको थियो । मयनले त्यस खेलको पहिलो इनिङमा ३६ बलमा एक छक्का र एक चौकासहित २१ रन जोडे ।
उनले दोस्रो खेलमा पनि आफ्नो लय कायम राखे । मयनले नेपाल पुलिस क्लबविरुद्धको यस खेलको पहिलो इनिङमा १०२ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ५९ रन बनाए । उनी घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।
१३ वर्षको उमेरदेखि नै क्रिकेट खेल्न थालेका मयनले गत संस्करणको प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध १२८ बलमा आठ चौका र दुई छक्कासहित ११५ रन बनाए ।
उक्त पिएम कपमा उनी मधेशका लागि सर्वाधिक रनकर्ताको सूचीमा दोस्रोमा थिए । जहाँ मयनले ९ खेलमा २८७ रन बनाए । यस्तै, उनले नेपाल ‘ए’ र यू–१९ क्रिकेट पनि खेलिसकेका छन् ।
मयनले यू–१९ एसिया कपमा टेस्ट टिम श्रीलंकाविरुद्ध पनि अर्धशतकीय पारी खेलिसकेका छन् । उनले गत डिसेम्बरमा भएको सो प्रतियोगितामा श्रीलंकाविरुद्ध ६२ रनको पारी खेले ।
मयनको प्रमुख लक्ष्य, सिनियर टिमबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु हो । र, त्यसका लागि उनी लगभग तयार पनि भइसकेका छन् । निकट भविष्यमा मयनले एकदिवसीय टिममा मौका पाउने सम्भावना छ ।
पछिल्लो समय कुशल भुर्तेल र आसिफ शेखको जोडीले ओपनिङमा राम्रो गर्न सकिरहेको छैन । र, मुख्य प्रशिक्षक मोन्टी देसाई ओपनिङका लागि प्रशस्त विकल्पको खोजीमा छन् । यस्तो अवस्थामा मयन कोचको आँखामा पर्न सक्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।