भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिन गर्न माग गर्दै देशका विभिन्न स्थानमा भएका सभालाई सम्बोधन गरेर काठमाडौं फर्किएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारीमा छन् । प्रस्तुत छ, राजतन्त्र पुनर्बहाली, हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग राख्दै आएको आएको राप्रपाका आगामी योजना, प्रतिपक्षीको भूमिका, सरकारको समीक्षा र सांगठनिक गतिविधिलगायतका विषयमा केन्द्रित भएर लिङ्देनसँग गरिएको कुराकानी :
राष्ट्रिय प्रजातन्त्र पार्टी यतिबेला के गर्दैछ, हाल सम्पन्न भएका खबरदारी सभाको तात्पर्य के हो ?
राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले मुख्यरूपमा संगठनलाई प्राथमिकता दिइरहेको छ । आन्दोलनको लागि संगठन र निर्वाचनका लागि पनि संगठन गरिरहेको छ । जसमा ‘संगठन, संगठन र संगठन’ भन्ने विषयलाई प्राथमिकता दिएर पार्टीले वैशाख मसान्तसम्ममा सबै जिल्लाको अधिवेशन सक्ने कार्ययोजना बनाएको छ । अहिले वडा तहको अधिवेशन भइरहेका छन् । यसैगरी आन्दोलनको तयारीसमेत गरिराखेका छौं । हालकै अवस्थामा देश अगाडि बढ्न सक्दैन । त्यस कारणले अहिलेको व्यवस्थाको परिवर्तनको लागि जनदबाब सिर्जना गर्नुपर्छ भन्ने उद्देश्य राखेर कार्यक्रमहरू तयार गरिरहेका छौँ ।
अहिले हामीले औपचारिकरूपमा सडक आन्दोलनमा आइ नसकेको अवस्था छ । केही ठाउँमा टेस्टको रूपमा गएको २७ चैतमा काठमाडौंमा एउटा प्रदर्शन गर्यौँ । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूको भ्रमण गर्यौं । भर्खरै इटहरीमा जनसभा गर्यौँ । यसले जनताहरू राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दामा आकर्षित गराएको छ । अहिलेको व्यवस्था र नेतृत्वप्रति व्यापकरूपमा असन्तुष्टि बढेर गएको छ । देश र जनताले विकल्प खोजिरहेको छ भन्ने कुरा देखिएको छ । अब हामी पूर्णरूपमा सडकमा आइनसकेको अवस्था छ र आइसकेपछि यसले व्यापक आकार लिन्छ भन्ने मलाई लागेको छ ।
सरकार गठन प्रक्रियाको प्रारम्भमा हामीले दुईवटा ठूला राजनीतिक दल मिलेर सरकार बनाउँदाखेरी अलिकति अप्रत्यासित र अचम्मजस्तो लागेको थियो । सरकार निर्माणको क्रममा सात बुँदे कार्ययोजना प्रस्तुत गरिएको थियो । सरकार निर्माणाधीन पक्षधरका पार्टीहरूले जसरी व्याख्या गरिरहनु भएको थियो त्यसमा संविधान संशोधन गर्नुपर्ने कुरा प्रमुख थियो । यतिबेला स्थिर सरकार मुलुकलाई चाहिएको छ । त्यसका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने भयो जस्ता अस्वाभाविक कुराहरू प्रस्तुत भएका थिए । तर, पनि यस्तोबेला देशले स्थिरता प्राप्त गर्छ भने हामीले यसलाई सकारात्मक रुपमा लिनुपर्छ भनेर भनेका थियौं । तर, हालसम्मको अवस्था हेर्दा वा सरकारले आधा वर्ष बिताइसक्दा त्यो सबै भन्नका लागि मात्र भनिएको रहेछ भन्ने स्पष्ट हुँदै गएको छ । अहिलेको सरकार विगतमा भएका भष्ट्राचारको कारबाहीबाट कसरी बच्न सकिन्छ र सत्तामै बसेर आफ्नो जीवनको अन्तिम क्षण कसरी बिताउन सकिन्छ भन्ने हिसाबले गठबन्धन गरिएको रहेछ । देशलाई केन्द्रमा राखेर गठबन्धन बनाएको होइन रहेछ भन्ने कुरा प्रस्ट नै देखिएको छ । सरकार पूर्ण रुपले असफल भएको छ । आन्तरिक र बाह्य दुवै हिसाबले हेर्दा पनि सरकार असफल भएको छ ।
विदेशसँगको सम्बन्धका मामिलामा पनि असफल साबित भएको छ । सरकारको केटाकेटीपन साथै आलोकाँचो व्यवहारले गर्दा देश राजनीतिको चक्रब्यूहमा फस्ने खतरा बढेको छ । देशको अर्थतन्त्र इतिहासकै एउटा खतराको अवस्थामा पुगेको छ । सरकार पक्षले भन्नेबेला त अहिले विदेशी मुद्राको सञ्चितीको अवस्था राम्रो छ, बैंकमा प्रशस्त पैसा छ भने पनि अवस्था नाजुक भइसकेको छ । रेमिट्यान्स आइराखेको भनेको कुनै व्यापार गरेर नेपालले आर्जन गरेको पैसा होइन । त्यो हाम्रो वैदेशिक रोजगारीबाट आएको पैसा हो । त्यो पैसालाई पनि ठिक ठाउँमा खर्च गर्न नसकेर सञ्चितीको बढिराखेको हो ।
सरकारले भ्रष्टाचार र सुशासनको अवस्था ल्याउन र घटनामाथि अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानुनी कठघरामा ल्याउने प्रयास त सरकारले गरिरहेको छ, होइन र ?
कसैलाई पनि अनुसन्धान गरिनु कारबाही गर्नुलाई अनुचित भन्नुभन्दा पनि यसप्रकारको अनुसन्धान र कारबाही सबैलाई समान हुनुपर्छ भन्ने राप्रपाको निरन्तर धारणा हो । अहिले देखिँदा आफ्ना मान्छेलाई उन्मुक्ति दिने र भेटेसम्म विपक्षलाई कसेर ल्याउने जुन किसिमको सरकारको व्यवहार देखिरहेको छ, त्यसमा हामीले अगाडि नै भनिसकेका छौँ । अब पनि भन्छौँ यस्तो अनुसन्धान सबैमाथि हुनुपर्छ । त्यसमाथि पनि अहिले सम्पत्ति शुद्धीकरणको कुरा छ । एकजना पार्टी अध्यक्ष (रास्वपा सभापति रवि लामिछाने) माथि पहिलोपटक यो सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयो । सार्वजनिकरूपमा भनेको छु । यो सम्पत्ति शुद्धीकरणको हतियार धापबाट एउटा राजनीतिक नेतामाथि पहिलो चोटि झिकियो । तर, यो बिसाउन हुँदैन र मिल्दैन । सम्पत्ति शुद्धीकरणको मुद्दा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हामीसम्मलाई पनि चलाउनुपर्छ । र, छानबिन गरिनुपर्छ । हाम्रो सम्पत्तिको स्रोत के हो ? कसैको धेरै होला कसैको थोरै होला तर स्रोत के हो, त्यसको सबैले पुष्टि गर्ने एउटा वातावरण बनाउनुपर्छ । त्यसपछि मात्रै यो तरबार धापमा राख्नुपर्छ भनेको छु ।
त्यो छानबिन प्रधानमन्त्रीबाट सुरु हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यसमा पनि अप्ठ्यारो लाग्छ भने राजेन्द्र लिङ्देनबाट सुरु गरे पनि हुन्छ । तर, गर्नुपर्यो । रवि लामिछानेलाई मात्र गरेर पुग्दैन । उनी दोषी वा निर्दोष अदालतको छानबिन प्रकृयामा छ । त्यसलाई इमान्दारीपूर्वक र निष्पक्षतापूर्वक टुंगो लगाउनुपर्छ । तर, त्यस्तै अरू मानिस पनि छन् । अरूको पनि छानबिन हुनुपर्छ ।
गठबन्धन सरकारले संविधान संशोधनको मुद्दालाई प्राथमिकता दिएको छ । राप्रपाको चाहिँ संविधान संशोधनका लागि मूल मुद्दा के हुन् ?
राप्रपाले प्रष्टरूपमा नै यो संविधानको विकल्पको रूपमा आफ्ना मान्यता अगाडि बढाएको छ । देश पछाडि फर्कन पनि सक्दैन । तर, हालकै अवस्थामा पनि बसिराख्न पनि सक्दैन । त्यसकारण नयाँ सम्झौता गरेर देश अगाडि जानुपर्छ । त्यसको लागि अभिभावकीय संस्थाको रूपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आवश्यक छ । देशलाई एउटा प्रत्यक्ष निर्वाचन क्षेत्र बनाएर संसदको निर्वचन पूर्ण समानुपातिक बनाउनुपर्छ । सांसदले मन्त्री हुन नपाउने व्यवस्था गर्नैपर्छ । सांसद कानुन निर्माताको रूपमा मात्र रहने व्यवस्था हुनुपर्छ । यत्रो ठूलो संख्यामा जनप्रतिनिधि देशले व्यहोर्न सक्दैन । त्यसैले जनप्रतिनिधिको संख्या सबै तहमा व्यापकरूपमा कटौती हुनुपर्छ । राज्य संरचनाको हिसाबले दुई तहका मात्रै सरकार हुनुपर्छ । केन्द्र र बलियो स्थानीय तह भए पुग्छ । शिक्षा, स्वास्थ्य पूर्णरूपमा निःशुल्क हुने व्यवस्था हुनुपर्छ र सबै संवैधानिक अंगमा नियुक्ति दलीय भागबन्डाको आधारमा नभइ योग्यता, दक्षताको आधारमा नियुक्ति हुने व्यवस्था हुनुपर्छ । त्यसकारण मात्र देश नयाँ बाटोमा जान्छ ।
पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवसको तयारी के छ, ठूला दल एकता दिवस मनाउन किन कन्जुस्याइँ गरिरहेका छन् ?
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहलाई आफ्नो आदर्श पुरुषको रूपमा स्विकार गरेको छ । पृथ्वीनारायण शाह नेपाल एकीकरणकर्ता, नेपालका निर्माता र जसले हामीलाई नेपाली नाम र पहिचान दिनुभयो उहाँलाई सम्मान गर्नु हामी सबैको कर्तव्य हो । त्यसकारण राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । राप्रपा विगतमा सरकारमा हुँदा यसलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्न सफल भयो । औपचारिकरूपमा सरकारी तवरमै यसलाई राष्ट्रिय एकता दिवसको रूपमा घोषणा गरिएको छ ।
सरकारले यो दिनलाई राष्ट्रिय एकता दिवसको रूपमा घोषणा गरे पनि औपचारिक कार्यक्रम नगरेको अवस्थामा राप्रपाले देशभर, सबै जिल्ला र स्थानीय तहमा समेत उत्सवको रूपमा मनाउने कार्यक्रम राखेका छौँ । र, काठमाडौंको भृकुटीमण्डपमा जलपान कार्यक्रमको आयोजना गरेका छौँ । त्योभन्दा अगाडि महेन्द्र शालीक दरबारमार्गबाट पृथ्वी सालिकसम्मको र्यालीको पनि आयोजना गरेका छौँ । सम्पूर्ण देशवासीले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा हर्षका साथ मनाउन र सरकारलाई पनि आग्रह गर्न चाहन्छु ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।