शुभनारायण सदा र सुमित्रा सदाको बसेरा ‘ओडार युगको घर’ जस्तै छ ।
वैशाखको टन्टलापुर घामले पिठ्युँ डढाउँछ, बर्खेझरीमा घरभित्रै निथ्रुक्क रुझ्नु, मैनाबत्ती खोलाको भेलले बगाउने त्रासमा रातभरी जाग्राम बस्नु र शीतलहरमा कठ्याङ्ग्रिनु उनको जीवनभरको भोगाइ हो ।
उनीहरू मैनाबत्ती नदीको पुलमुनि एक दशकदेखि आश्रय लिएर बसिरहेका छन् । पुस महिना तराईको कठ्याङ्ग्रिने शीतलहर छ । सदा दम्पत्तिले खर बटुलेर, पराल मागेर, वनमाराको स्याउला काटेर पुलको पिलरमुनि आश्रय स्थल बनाएका छन् ।
पुराना जडाउरी मागेर आङ ढाकेका छन् । न ओढ्ने छ, न ओछ्याउने । घरमा अन्नको गेडो पनि छैन । शीतलहर चलेकाले कतै मजदुरी पनि पाइँदैन । चिसो रातमा भोको पेट । पुलमुनिको बास छ । कसरी बाँचेको हुनुहुन्छ भन्ने प्रश्नमा सुमित्रा भन्छिन्, ‘आगोको सहारा छ । भोक लागे पनि आगो ताप्छौँ जाडो भएपनि आगो ताप्छौँ । शुभनारायण भन्छन्, ‘बाँचेका छैनौं, मृत्यु पर्खेर बसेका छौँ । मरेपछि यहाँबाट पल्टाइ दिन्छन् । नदीमै छौं । चार चपरी माटो हालेर पुरिदिन्छन् । सकियो मुसहरको जीवन ।’
‘नेपाल राज्यमा हामीले बाँचुञ्जेल लमतन्न भएर सुत्न एउटा खट राख्ने जमिन पनि पाएनौँ । ठूला जातिका धनीमानीहरूले हामीलाई बस्तीबाट उठीबास लगाएर खेदे,’ शुभनारायणले दु:खेसो पोखे ।
सिराहाको गोलबजार नगरपालिका–११ बलकवा बजार पुग्नुअघि मैनाबत्ती नदीको पुल पार गर्नुपर्छ । यो पुलमुनि मैनाबत्तीको बगरमा झण्डै ४० घर मुसहर परिवार बस्छन् । पूरै बस्तीमा अहिले अनिकाल छ ।
प्रायः सबै घरमा चुल्हो बाल्न हम्मेहम्मे छ । ओढ्ने ओछ्याउनेको कमी छ । काठपात र कसमलसमेतको अभावले आगो बाल्न पनि मुस्किल छ । तिरझैँ शरीर घोच्ने पश्चिमी सिरेटोले अधिकांश केटाकेटी बिरामी परेका छन् । भोकभोकै रात बित्छ ।
नेपाली कांग्रेसका नेता रामवृक्ष साह भन्छन्, ‘शीतहलरका कारणले रोजगारी पनि पाइँदैन र काम गर्नसक्ने मौसम पनि छैन । मुसहर समुदायको बिजोग भएको छ,’ साह भन्छन्, ‘तत्कालै मुसहर बस्तीमा खाद्यान्न । ओढ्ने, ओछ्याउने, न्यानो कपडा र औषधी उपचारको खाँचो छ । राहत नदिने हो भने मुसहर बालबालिकाहरू चिसोले मर्न सक्छन् । पूरै मुसहर बस्ती संकटमा छ ।’
गोलबजार नगरपालिकाले अन्न र कपडा त परै जाओस् जाडोमा दाउरा समेत दलित मुसहर बस्तीमा पुर्याउन सकेको छैन । बजार क्षेत्रमा धनीमानी माझ दाउरा वितरण गरियो तर जहाँ गरिब, दलित मुसहर छन् त्यहाँ नगरपालिकाको आँखा परेन,’ शुभनारायण सदाले आक्रोश पोख्दै भने, ‘पाँचपटक लीला मालिक र श्याम मालिक दाजुभाइलाई (सांसद लीलानाथ श्रेष्ठ र मेयर श्याम कुमार श्रेष्ठ) भोट हाल्यौँ । तर, हाम्रो अवस्था यस्तै छ । पुलमुनि छौँ ।’
पुलमाथिबाट आउजाउ गर्नेहरूलाई पुलमुनिको मुसहर बस्ती कठाङ्ग्रिने शीतलहरमा भोको पेट सुतेको थाहा पाउँदैनन् । तर नगरपालिकालाई पनि दलित मुसहर समुदायको अवस्थाबारे बोध र चेत छैन्–मुसहर समुदायका अगुवा अरुण सदाले रोष प्रकट गरे ।
अगुवा अरुण सदा भन्छन्, ‘यो पुलको आडैमा भवरी मेला (धार्मिक जात्रा) लाग्दछ । आउँदो माघ १ देखि ७ गतेसम्म यहाँ ठूलो मेला लाग्छ । मेलाका लागि पसल थाप्न जग्गा बाँडफाँट हुँदैछ । नगरपालिकाले जात्राका लागि लाखौं रुपैयाँ सहयोग दिएको छ । तर, यो मुसहर बस्तीमा नगरपालिकाको नजर पुगेको छैन । यसरी समाजवाद ल्याइँदैछ नेपालमा ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।