logo-img

सूर्यदर्शन सहकारी ठगी प्रकरण : सकियो सरकारी वकिलको जवाफी बहस, आजै आदेशको सम्भावना

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा कास्की जिल्ला अदालतमा जारी सरकारी वकिलको जवाफी बहस  सकिएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको उक्त ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको हो । 

आरोपी लामिछानेसहित सातै प्रतिवादीमाथिको सरकारी वकिलको जवाफी बहस सकिएसँगै आजै न्यायाधीश नीतिज राईले उनीहरूलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।

जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गोविन्द गौलीले जवाफी बहस सकेसँगै अब प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिइने भएको छ । 

अब प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । यही ७ पुसमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।



लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ । 





  • प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया