गत असारअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा विरोध गर्दै आएका थिए । यतिसम्म कि कुनै बेला बालकोट गएर ओलीलाई ट्युसन पढाउनेजस्ता अभिव्यक्तिसम्म दिन भ्याए ।
गत संसदीय निर्वाचनको बेला ओलीप्रति त्यसरी आक्रोश भएका गगन संसदमै पुगेर पनि रोकिएनन् । संसदका बैठकहरूमा उनले ओलीप्रति बेलाबखत घोचपेच गरिरहन्थे । अहिलेका प्रधानमन्त्री ओलीलाई गगनले कयौँ पटक उनकै शब्दमा ‘अहङ्कारी र अयोग्य’ भनेका छन् । त्यति मात्रै होइन, केपीलाई कीर्ते प्रसाद ओलीको उपमा दिने गगन महामन्त्री रहेको उनको पार्टी कांग्रेसले अहिले उनै ओलीलाई दरिलो काँध थापिरहेको छ ।
गगनको नजरमा अहिले भन्नलाई सरकार ‘गजब’ नै छ । उनका अभिव्यक्तिहरूले भने त्यो देखाउँदैन । पछिल्लो समययता नयाँ सत्ता समीकरण बनेदेखि गगन पहिले जसरी ‘ठूलो’ स्वरमा बोल्न सकेका छैनन् । तर, ‘बरबराउन’ पनि छाडेका छैनन् । आफू प्रतिपक्षीमा हुँदा सरकारले काम गर्न नसकेको, प्रशासनिक कमजोरीहरू बढेको, भ्रष्टाचार मौलाएको तथा जनतासँगको अपेक्षाअनुसार काम नगरेको भनेर सरकारको खरो आलोचना गर्ने गरेका थिए ।
अहिले आफ्नै पार्टी सरकारमा हुँदा उनलाई ‘तातो दूध निल्नु न ओकल्नु’ भएको छ । गत मंगलबार एक कार्यक्रममा उनले नेतृत्व गर्नेको मति ठिक नहुँदा देशको गति ठिक नभएको बताए । सोही दिन उनले राजनीतिक दलहरू संघीयताप्रति उदार नभएको भने । संसदको ठूलो दलका प्रभावशाली नेताले थिति बसाल्नुपर्ने ठाउँमा भएर पनि बरबराउँदै हिँड्नुपर्ने दिन आएको देखिन्छ ।
एमालेसँग काँध मिलाउनुअघि उनले ओलीलाई त भ्रष्टकै संज्ञा दिन्थे । अहिले नाम लिन सक्दैनन् । तर घुमाउरो तरिकाले भन्छन्, ‘जनताले सुनेका जति पनि काण्डहरू छन् त्यसको लामो लिस्ट बनाएर सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्छ । जतिसुकै शक्तिशाली प्रधानमन्त्री, मन्त्री भए पनि नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छाड्दैन ।’
नेपाली राजनीतिमा आफूहरू मिल्दा सबै ठिक, नमिल्दा सबै गलत भन्ने परिपाटी छ । गगन र ओलीबीच पनि त्यही छ । ओलीविरुद्ध संसदमा चर्को स्वर गर्ने गगन अहिले नबोल्नुको कारण सत्ताकै लागि हो । ‘कुर्सी’को लागि राजनीति गर्नेहरूको यस्तै व्यवहारले काम त बन्न सक्दैन नै, जनतामा अविश्वास पनि बढ्दै गएको छ ।
कांग्रेस–एमाले समीकरणपछि गगन न सरकारबारे बोल्नसकेका छन् न त आफ्नै पार्टी भित्र । कांग्रेसको १५औँ महाधिवेशनको समय नजिकिँदै गर्दा उनी पार्टी सभापति शेरबहादुर देउवा नजिक बन्न थालेका हुन् । पार्टीभित्रै संस्थापन समूह र संस्थापन इतर समूह आन्तरिक किचलोमा छ । कांग्रेसभित्रको तीब्र धुव्रीकरणले आगामी महाधिवेशनसम्म परम्परागत गुट भत्किएर नयाँ गुटको उदय हुने संकेत पनि गरेको छ ।
आउँदो महाधिवेशनमा संस्थापन इतर समूहबाट नेता डा. शेखर कोइराला पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेको बताइन्छ । तर, उनकै समूहबाट महामन्त्री बनेका गगन पनि पार्टी सभापतिको आकांक्षी बन्ने तयारीमा रहेको चर्चा भइरहेको छ । यही विषयलाई लिएर शेखर–गगनबीच दूरी बढेको धेरैको अनुमान छ । शेखरसँग दूरी बढेपनि गगनले देउवासँग भने सम्बन्ध राम्रो बनाउन लागिपरेका छन् ।
सडक, सभा र सदनमा आफ्नै पार्टी नेतृत्वको कार्यशैलीप्रति ‘आगो ओकल्ने’ गगन अहिले सत्ताका सारथि ओली र आफ्नो पार्टी सहयात्री रहेका बेला उक्तिकै धारिलो बन्न सकिरहेका छैनन् । उनलाई कांग्रेसका नेता र कार्यकर्ताले समेत हल्कारुपमा लिइरहेको टिप्पणी पनि भइरहेकै छन् ।
त्यस्तै, सभापति देउवाले कांग्रेसकै एक कार्यक्रममा ‘धेरै बोल्ने मान्छे आफैँ सकिन्छ, थोरै बोल्नेले काम गरेर देखाउँछ’ भन्ने अभिव्यक्ति दिएर घुमाउरो तरिकाले गगनलाई कामभन्दा कुरा मात्रै गर्ने व्यक्तिको पंक्तिमा उभ्याइदिए । जसकारण पनि देउवाको रक्षाकवच बन्ने प्रयास उनका लागि पार्टी महाधिवेशनका बेला घातक बन्नसक्ने राजनीतिक विश्लेषकहरूले तर्क गर्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।