नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले लामो रस्साकस्सी र जोडघटाउपछि २०७८ को पुस पहिलो साता नयाँ नेतृत्व दियो । उक्त महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई चुन्यो ।
१४औँ महाधिवेशनले देउवालाई सभापति तथा युवा पुस्ताका विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई महामन्त्रीमा निर्वाचित गरेपछि पार्टीवृत्तमा मात्र नभइ अन्य दलमा समेत तरंग ल्यायो ।
महाधिवेशनले पुस्तान्तरण र रूपान्तरणको आवाजलाई सम्बोधन त गर्यो । तर, गुटबन्दीको गतिलाई भने रोक्न सकेन । पार्टी अब एक ढिक्का भएर अघि बढ्छ भन्ने भाषणलाई आफ्नै विधि र विधानलाई पालना नगरेर हास्यास्पद बनायो । फलतः कांग्रेसले न जनताको मन जित्न सक्यो न सत्तामोह त्याग्न । एकअर्काेकाको खुट्टा तान्ने कांग्रेसको पुरानै रोगले पार्टी झनै शिथिल बन्न पुगेको विश्लेषण हुन थालेका छन् ।
२०७९ सालमा भएको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणामलाई छाड्ने हो भने कांग्रेसको मत निरन्तर ओरालो लागेको देखिन्छ । पार्टीभित्र आशा र भरोसा गरिएका महामन्त्रीहरूले नेतृत्व गरेको उपनिर्वाचनको परिणाम कांग्रेसको पक्षमा आउन सकेन । पछिल्लो समय कांग्रेसभित्रको मतभेद कसैमाझ लुक्न सकेको छैन । यहीबीचमा कांग्रेस नेता १५ औँ महाधिवेशनको तयारीमा जुट्न थालिसकेका छन् । मिति नतोकिएको महाधिवेशनको तयारीमा प्रायः नेताहरूको दौडधूप सुरु भइसकेको छ ।
आउँदो महाधिवेशनपछि कांग्रेसको नेतृत्व कसले पाउलान् ? कांग्रेस वृत्तमा अहिले यो प्रश्न चासोका साथ हेरिएको छ । अहिलेको अवस्थामा कांग्रेस भावी सभापति यिनै हुन् हुनसक्छन् भनेर दाबी गर्ने अवस्था छैन । किनकी देउवाले आफ्नो उत्तराधिकारीको संकेत देखाइसकेका छैनन् ।
उनको स्पष्ट संकेत नगर्दा देउवाको खेमाका नेतामा छटपटी बढ्न थालेको छ । पार्टीको विधानअनुसार, लगातार दुईपटक सभापति भएपछि देउवा अब तेस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार हुन पाउँदैनन् । तर, चार बर्से कार्यकालको तेस्रो वर्षसम्म आइपुग्दा देउवाले कसलाई अघि सार्छन् भन्नेमा मौन छन् । देउवाको यही मौनताले सभापतिको तयारीमा रहेका संस्थापन र संस्थापन इतर समूहका दाबेदार र प्रभावशाली नेता छटपटीमा देखिएका हुन् ।
कोइरालाको विरासत देउवाको पोल्टामा !
गिरिजाप्रसाद कोइराला र सुशील कोइराला हुँदादेखि नै देउवाले संस्थापन इतर गुट चलाएका थिए । निरन्तर लडेपछि देउवाले २०७२ सालमा भएको १३ औँ महाधिवेशनबाट कोइरालाको विरासत पल्टाए । देउवा २०७८ मा फेरि सभापतिमा निर्वाचित भए । तर, आउँदो महाधिवेशनमा भने उनलाई सभापतिको उम्मेदवार बन्न विधान बाधक बनेको छ ।
आफू उम्मेदवार हुन नपाउने भएकाले पनि होला देउवा अहिलेसम्म शान्त नै छन् । इतर समूह गुट भने आफ्नै तरिकाले अघि बढिरहेको छ । कांग्रेसको वर्तमान कार्यसमितिको अवधि तीन वर्ष पुग्दा नपुग्दै अर्को महाधिवेशन केन्द्रित भ्रमण र भेटघाटमा नेताहरू लागिसकेका छन् ।
क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य नसकी महाधिवेशन प्रक्रिया सुरु हुन सक्दैन । यसपटक विगतमा भन्दा क्रियाशील सदस्यता वितरण र नवीकरण छिटो सुरु भएको नेताहरू दाबी गर्छन् ।
कांग्रेसले संशोधित विधानअनुसार नयाँ महाधिवेशन गर्ने तयारी गरेको छ । यद्यपि, विधान मस्यौदा समिति बनाउने निर्णय भएपनि गठन भने गरिएको छैन । २०८२ सालको मंसिरभित्र महाधिवेशन सम्भव नहुनेमा संस्थापन पक्षका नेताहरू ढुक्क देखिन्छन् ।
‘महाधिवेशनको मिति नतोकिँदै विभिन्न गुट बनिरहेको छ भन्ने स्वाभाविकरूपमा हल्लाहरू चल्छन् । गुट बन्ने, फुट्ने क्रम तीन–तीन महिनामा फेरबदल भइरहन्छन् । नेपाली कांग्रेसको लिडरसिपभित्र ‘म’ हुन्छु कि हुन्न भन्ने प्रश्न खडा भएको स्थितिमा जोसँग अनुकूल वातावरण मिल्छ उसैको पक्षमा जो पनि जान सक्छन्,’ देउवानिकट मानिने कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर भन्छन् ।
‘सभापतिज्यूले देश, कांग्रेसको बारेमा पनि सोचिराख्नु भएको होला । उहाँ पनि कांग्रेसलाई राम्रोसँग कसले अगाडि बढाउँछ, मेरो उत्तराधिकारी को हुन्छ भन्ने लागिरहेको होला,’ महर भन्छन्, ‘उहाँ स्वयंले पनि आफूलाई रेस्पोन्स गर्ने, मानसम्मान गर्ने, भनेको मान्ने फेबरेबल लिडरसिप खोजिरहनु भएको होला । त्यसैले अहिल्यै नै महाधिवेशनका बारेमा बोल्ने वेला भइसकेको छैन । महाधिवेशनको मिति तोकिएसँगै विस्तारै सबै कुरा खुल्दै जालान् ।’ देउवाले आफ्नो उत्तराधिकारी को हुने भन्ने बारेमा दाबेदार र इच्छुक व्यक्तिलाई परीक्षणको घेरामा राखेर हेरिराखेको उनको भनाइ छ ।
महरका अनुसार देउवाको परीक्षणकालको परीक्षामा पास हुने नै उनको उत्तराधिकारी हुनेमा दुईमत छैन । कांग्रेसलाई अहिले अधिवेशन लागिसकेको छैन । कांग्रेसले समयमै महाधिवेशन गराएको इतिहास बिरलै मात्र देखिन्छ । कांग्रेसले एक वर्ष थपेर ०८३ को मंसिरमा १५औँ महाधिवेशन गर्न सक्ने सम्भावना रहेको महरको दाबी छ ।
देउवानिकट अर्का नेता ज्ञानेन्द्रबहादुर कार्की अहिले नै उत्तराधिकारी घोषणा गर्नु धेरै नै हतार हुने बताउँछन् । ‘महाधिवेशन अलि–अलि लाग्दैछ । तर, सभापतिको उम्मेदवार को र अरू पदमा को भन्ने अहिले नै घोषणा गर्नु धेरै छिटो हुन्छ,’ उनी भन्छन्, ‘यो रणनीतिक विषय पनि भएकाले सभापतिले समय आएपछि मुख खोल्नुहुन्छ ।’
कोइरालाको जिल्ला दौडाहा तीव्र
महाधिवेशन प्रक्रिया सुरु हुन नसके पनि नेताहरूको जिल्ला दौडाहाको गति भने बढेको छ । १५औँ महाधिवेशन समयमा हुनुपर्ने माग उठाउँदै जिल्ला दौडाहामा निस्कनेमा नेता डा. शेखर कोइराला छन् । समयमा महाधिवेशनको मागलाई उनले जोडसँग उठाउन थालेका छन् ।
चार बर्से अवधिभित्र महाधिवेशन हुँदा आगामी मंसिरभित्र महाधिवेशन हुनुपर्दछ । प्रतिकूल समयमा रहेको अवस्थामा एक वर्ष बढाउन सकिने विधानमा व्यवस्था छ । अर्को वर्ष महाधिवेशन नहुने आशंकामा रहेका कोइराला त्यही मुद्दा लिएर जिल्ला दौडाहामा रहेका हुन् ।
उनले यही महिना मधेस, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका जिल्लाहरूको भ्रमण गरिसकेका छन् । कोइराला सुनसरी, धनुषा, महोत्तरी, चितवन लगायत जिल्लाका कार्यक्रममा सहभागी भए ।
सुदूरपश्चिमलाई ‘विशेष महत्व’ दिएका कोइरालाले त्यहाँ जिल्लाअनुसार छुट्टाछुट्टै भेटघाट गरे । उनी ५ पुसमा सुदूरपश्चिम केन्द्रित हुने गरी धनगढी पुगे । कोइरालाले तीन दिन धनगढीलाई मुकाम बनाएर कैलाली, अछाम, बझाङ, बैतडी, डोटी, कञ्चनपुरका नेता कार्यकर्तासँग संवाद गरेका थिए ।
सुदूरपश्चिम जाँदा उनले आफूसँगै केन्द्रीय तहका नेताहरूलाई पनि साथमा लगे । केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल, संघीय सांसदद्वय सञ्जय गौतम, हृदयराम थानीलगायत नेता उनीसँगै सुदूरपश्चिम पुगेका थिए ।
सुदूरपश्चिम सभापति देउवाको पकड क्षेत्र हो । संस्थापन पक्षको हालिमुहाली रहेको प्रदेश पुगेर कोइरालाले समयमा महाधिवेशन नहुने चिन्ता व्यक्त गरेका छन् । कोइरालाले देउवा पक्षका नेता कार्यकर्तासँग पनि भेटघाट गरेका थिए ।
भावी नेतृत्वको विषय रणनीतिक भएकाले देउवा अहिले नै मुख खोल्न चाहँदैनन् । किनकि अहिले नै उत्तराधिकारी घोषणा गर्दा अर्को पक्षलाई रणनीति बनाउन सहज हुनेछ । यसैले सभापतिको सम्भावित दाबेदारको नाम सतहमा ल्याएर देउवा जोखिम मोल्ने पक्षमा छैनन् । उनी अहिले पनि केन्द्र, प्रदेश, जिल्ला सबैतिर बलियो पकडमा छन् । यसैले अहिलेकै संगठित शक्ति र निकट नेताको भरपूर प्रयोग गर्ने र काम लिने दाउमा देउवा देखिन्छन् । यही बलियो शक्तिमार्फत सदस्यता वितरण, क्षेत्र र जिल्लाको अधिवेशनमा वर्चस्व स्थापित गर्ने दाउमा छन् । यसैले महाधिवेशन प्रतिनिधि छानिने क्षेत्रीय अधिवेशनको शक्ति सञ्चयका स्थितिको मूल्याङ्कनसम्म देउवाले मुख नखोल्ने नीति लिएका छन् ।
‘कांग्रेसमा उत्तराधिकारी तोक्ने भन्ने बेकारको कुरा हो,’ देउवाले केही समयअघि मात्रै विराटनगर पुगेर सञ्चारकर्मीसँग भनेका थिए, ‘उत्तराधिकारीको घोषणा मैले गर्ने होइन, महाधिवेशनले गर्छ ।’
कम बोल्ने स्वभावका देउवाको यही भनाइले पनि उनी धेरै कुराको अंकगणितमा छन् भन्ने देखाउँछ ।
महत्वकांक्षीको लस्कर !
कांग्रेसमा देउवाको उत्तराधिकारी को बन्ने भन्ने विषयमा पार्टी सभापति देउवा मौन छन् । यस्तोमा देउवाबाट शक्ति हत्याउन खोज्ने महत्वकांक्षीको लाइन पनि लामै रहेको अहिले कांग्रेस वृत्तमा चर्चा छ । यस लाइनमा उपसभापति पूर्णबहादुर खड्का बीपीपुत्र डा. शशांक कोइराला, महामन्त्री गगन थापा, केशव–नोनापुत्र डा. शेखर कोइराला, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायत छन् ।
१३औँ महाधिवेशनमा निर्वाचित भएदेखि देउवालाई सहयोग गरेकाले शशांक देउवाको आशीर्वाद आस गरेर बसेका छन् । त्यसैले उनी पार्टीलाई गुटबन्दीबाट माथि उठाउनुपर्नेमा जोड दिँदै आएका छन् । देउवाको आशीर्वाद पाए सहजै जित निकाल्ने दृढ विश्वासमा छन्, शशांक ।
अर्कोतिर महामन्त्री गगन थापाले पनि आफूलाई सभापतिको बलियो दाबेदारका रूपमा पहल गर्दै छन् । १३औँ महाधिवेशनमा पराजित भए पनि १४औँ महाधिवेशनमा थापाले शेखर समूहबाट महामन्त्री जितेका थिए । अब उनको नजर पार्टी सभापतिको पदमा छन् ।
थापा पनि देउवाको आशिष पाइने आसमा उनलाई रिझाउन लागिपरेका छन् । देउवालाई रिझाउने चक्करमा जुन गुटबाट महामन्त्री जितेका थिए थापा सोही समूहलाई नजरअन्दाज गरिरहेको यथार्थ कोहीमाझ लुकेको छैन । आजकल उनले पनि पार्टीमा अब गुटबन्दी आवश्यक नरहेको भाषण गर्न थालेका छन् । यसको पछाडि थापाले पनि सभापतिमा देउवाको आशीर्वाद खोजेको नेताहरू बताउँछन् ।
खड्का, निधि, गगन, शशांक र शेखर मात्रै होइनन् । यही लाइनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि देउवाको उत्तराधिकारी बन्न चाहेका छन् । सरसर्ती हेर्दा पार्टी सभापति बन्न चाहनेको सूची लामो नै देखिन्छ । अन्ततः देउवाले कसलाई आफ्नो आशीर्वाद देलान्, त्यो हेर्न भने रोचक हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।