पृथ्वीनारायण शाह जसले गोरखा राज्यको राजा हुनुअघि छरिएर रहेका विभिन्न राज्यहरूलाई निरन्तर तीन दशक लगाएर एकीकरण गरे र आधुनिक नेपालको जग बसाले ।
पहिले बिर्सिनै नहुने कुरा । पृथ्वीनारायणले आजभन्दा २ सय ८० वर्षअघि नेपाल एकीकरण अभियान सुरु गर्नुअघि मेची महाकालीभित्रको क्षेत्रमा गोरखासहित ५३ राज्य थिए । २० वर्षको उमेरमा पृथ्वीनारायणले गोरखा राज्यको राजपाट पाएदेखि निधन नहुँदासम्म तीन दशकसम्म राज्य जित्ने अभियानमा आफूलाई होमे ।
सायद बिफरका कारण वि.सं १८३१ मा ५२ वर्षको उमेरमा ज्यान गुमाउन पुगेका पृथ्वीनारायणले बाइसे र चौबिसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुवान क्षेत्रहरूमा एउटा सशक्त धक्का दिए । वि.सं १८७३ मा सुगौलीसन्धि नहुन्जेलसम्म ७२ वर्षसम्म एकीकरण अभियान चल्यो । त्यही एकीकरणको जगको बलमा आधुनिक नेपाल राष्ट्र बन्न पुग्यो । र, त्यही राष्ट्र अहिले अस्तित्वमा छ । दक्षिण एसियाकै सबभन्दा पुरानो राष्ट्र नेपाल भनेर चिनिएको छ ।
आफ्नो राज्यकालको बेला भारतको मैदानमा अंग्रेजको इष्ट इण्डिया कम्पनीको कब्जा देख्न थालिसकेका थिए ,पृथ्वीनारायणले । नेपाल टुक्राटुक्रा भएर बस्यो भने सबै राज्य विस्तारै अंग्रेजको अधीनमा जान सक्छ भन्ने उनले बुझिसकेका थिए । हिन्दूहरूको वास्तविक भूमि अर्थात् ‘असिल् हिन्दुस्थाना’ को अखण्डताको लागि नेपालको एकीकरण अपरिहार्य रहेको उनको ठम्याइ थियो । यसैले विभाजित राज्यहरूमाथि विजय प्राप्त गर्न उनीहरूलाई अँठ्याए । साम, दाम, दण्ड, भेदको नीति प्रयोग गरे । परिणाम, एउटा सिङ्गो नेपाल राष्ट्र जन्माएरै छाडे । तर, राष्ट्र निर्माता भनिएका पृथ्वीनारायण आलोचनाभन्दा माथि पनि छैनन् । यसमा केही थान किनको जवाफ खोज्नुपर्ने हुन्छ ।
उनको सालिकमा कालो पोत्ने उपक्रम किन चल्छ ? कीर्तिपुरको लडाईंमा उनको फौजले स्थानीयको नाक काटेको भनेर किन लेखिन्छ ? उनले आफ्नो जीवनको अन्त्यतिर नुवाकोटमा दिएको उपदेश उनको नभइ भीमसेन थापाको हो भनेर किन भनिन्छ ? उनलाई नाकाबन्दीको सूत्रधारको बात किन लगाइन्छ ? किन उनलाई लुटेरादेखि विस्तारवादीसम्मको आरोप लाग्छ ?
२०६२/०६३ को आन्दोलनपछि सत्तामा चढेको माओवादीले पृथ्वी जयन्तीमा बिदा कटौती किन गर्यो ? ‘हामीले किन पृथ्वीनारायण शाहको विरोध गर्नुपर्छ ?’ भन्ने ब्यानर टाँगेर सभा–गोष्ठीहरू चलाइन थाले, किन ? राष्ट्र निर्माण गरेका उनलाई क्रूर विजेताको दाग किन लगाइयो ? स्वदेशबाट मात्र होइन, विदेशबाट पनि उनीमाथि आरोपको धनुकाँण छोड्ने क्रम चल्यो, किन ? अर्थात् पृथ्वीनारायणलाई दानवीकरण गर्न कुनै कसर बाँकी राखिएको छैन । आखिर किन ?
यी किनहरूको जवाफ के होला ?
सायद एकपटक फेरि इतिहासका ती मोडहरूमा पुग्नुपर्छ होला ।
एकपटक २ सय ५७ वर्षअघिको सिन्धुली पुगौँ । जुन ठाउँमा पृथ्वीनारायणको गोर्खाली फौज अंग्रेजसँग हारेको भए गोरखाली राज्य विस्तार अभियान अस्ताउने निश्चित थियो र नेपाल एउटा स्वतन्त्र राष्ट्र हुन्थ्यो वा हुन्नथ्यो यसै भन्न सकिँदैनथ्यो ।
यो युद्ध किन भयो ? यसको पृष्ठभूमि केलाउने प्रयास गरौं ।
कीर्तिपुरमा तेसोपल्टको युद्धमा पृथ्वीनारायणले विजय प्राप्त गरे । काठमाडौं उपत्यकामा नाकाबन्दी लगाएर घेराबन्दी गरे । त्यसताका काठमाडौं उपत्यकाका तीनै शहरमा पादरीहरू चर्च खोलेर बसेका थिए । काठमाडौं उपत्यका जित्यो भने पृथ्वीनारायणले के गर्ने हुन्, कसो गर्ने हुन् भन्ने भएपछि राजा जयप्रकाश मल्लको सल्लाहमा पादरीहरूले भारतको बंगालस्थित इस्ट इन्डिया कम्पनीका गभर्नरलाई चिठी लेखि पठाए ।
चिठीको आशय थियो– गोरखाली राजाले तीन शहरमा नाकाबन्दी गरे । उनले जिते भने हाम्रो उठीबास हुन्छ । यदि हराउन सकियो भने हामी र हाम्रा व्यापारीहरूले यहाँ ढुक्कसँग कोठी खोलेर भोटको व्यापार हात पार्न सकिन्छ । तिब्बतमा असहज भएको धर्मको प्रचार गर्न यहाँ सहज हुन्छ । यसैले जयप्रकाशको मद्दतका लागि कम्पनीले सहायता गरोस् ।
यो चिठी पाउनासाथ क्याप्टेन जर्ज किन्लकको नेतृत्वमा सशस्त्र सैनिक बल जनकपुर हुँदै सिन्धुलीगढितर्फ चढ्छ । तर, पृथ्वीनारायणको फौजले १५ असोज १८२४ मा एकै झमटमा अंग्रेजको सेनालाई हराइदिन्छ । यसपछि काठमाडौं उपत्यकाका तीन वटै राज्य पनि पृथ्वीनारायणले आफ्नो अधीनमा लिन्छन् । नेपाल एकीकरणको एक चरणको अभियान सकिन्छ ।
पृथ्वीनारायणको निधन भएको २ सय ५० वर्षपछि पनि उनीमाथि देशभित्र र बाहिरबाट प्रहार हुँदै आएको छ । विभिन्न राज्यको एकीकरण गर्दा केही वर्ग विशेषको स्वार्थमा धक्का पुग्नु स्वभाविक थियो । केही असन्तुष्टि र गुनासाका कुराहरू आउनु पनि अस्वाभाविक होइन । राज्य जित्दा स्थानीयको भाषा,धर्म,परम्परामा चोट पुगेको पनि छ । यो सिक्काको एउटा पाटो हो । तर, सिक्काको अर्को पाटो पनि छ । विशेषगरी भारतमा त्यसबेला फणा उठाएको अंग्रेजको पनि कतिपय स्वार्थमा पृथ्वीनारायण बाधक बने । युद्धमै हराइदिए । यसपछि उनीमाथि आरोपको बज्र प्रहार गर्ने क्रम सुरु भएको र यस्ता आरोपको जरो त्यतै जोडिएको बुझ्न कठिन छैन ।
काठमाडौं उपत्यकाका तीन शहर जितेपछि ६० जना पादरीलाई धपाएपछि अंग्रेजहरू पृथ्वीनारायणसँग चिढिए । नेपालबाट निकालिएका पादरी भारतीय सिमाना बेतियामा गएर बसे । उनीहरूसँगै काठमाडौंमा धर्म परिवर्तन गरेर इसाई भएकाहरूको एउटा लर्को पनि बेतिया पुग्यो । उनीहरू पृथ्वीनारायणप्रति अति क्रोधित थिए । तीमध्ये पादरी जिसेप्पीले पृथ्वीनारायणले ८ सय कीर्तिपुरेका नाक काटेर विरूप बनाए भन्ने लेखेर बेलायतको जर्नलमा छपाए । नेपाल आएका ब्रिटिस क्याप्टेन विलियम कर्कपयाट्किले पनि पृथ्वीनारायणले जम्मै कीर्तिपुरेका नाक काटे भनेर लेखे ।
अठारौँ शताब्दीको अन्त्यतिर ब्रिटिस रेजिडेन्ट भएर ब्रायन हज्सन काठमाडौं आए । उनले कीर्तिपुरेका काटिएको नाकको तौल सत्र धार्नी थियो भने । हज्सनले पृथ्वीनाराणणले ३२ हजार किराँती र सबै लिम्बूहरूलाई मारेका थिए भनेर लेखे । जुन ब्रिटिस लाइब्रेरीमा अहिले पनि सुरक्षित छ । सनसनी फैलाउने खालको कुरा छाप्ने भनि कहलिएको जर्मन साप्ताहिक पत्रिका स्टर्न्मा पत्रकार हान्स–गेओर्ग बेहरले जर्मन भाषामा लेखेको ‘नेपाल–देवताहरूको कोसेली’ मा दाबी गरे– पृथ्वीनारायणले अंग्रेजबाट हातहतियार र पैसा पाइ नेवार राज्यमा हमला गरे ।
यी यावत विदेशी आरोपहरूको जगमा उभिएर नेपालमा पनि कसै कसैले पृथ्वीनारायणमाथि आलोचना गर्दै आएका छन् । अब बुझ्न कठिन छैन, पृथ्वीनारायणमाथि लगाइने आरोपहरूको मूल स्रोत कहाँ छ भनेर ।
यसरी नेपालको आधुनिक इतिहास निर्माण गर्ने श्रेय पाएका पृथ्वीनारायणका भूमिकाबारे विभिन्न कोणबाट बहस चलिरहेकै छ । यही मेसोमा नेपाली इतिहास, संस्कृति र पुरातत्वका विविध क्षेत्रको अनुसन्धानमा सक्रिय विद्वान् डाक्टर महेशराज पन्तले पृथ्वीनारायणबारे तयार पारेको पुस्तक ‘पृथ्वीनारायण शाह : नायक, प्रतिनायक अनि नायकदेशीय’ आज पब्लिकेसन्स नेपालयले सार्वजनिक गरेको छ ।
नेपालको आधुनिक इतिहास पृथ्वीनारायणबाटै सुरु हुने भएकाले उनको कामलाई नबुझी नेपाल बुझ्न नसकिने पन्तको ठहर छ । उनी सुनाउँछन्, ‘पृथ्वीनारायण शाहको समयका आधिकारिक सामग्रीको परिशीलन गरी उनकाबारे चल्दै आएका विभिन्न भ्रम चिर्दै वस्तुस्थिति खोतल्ने काम यस पुस्तकमा गरिएको छ ।’
पृथ्वीनारायणले आफूले जितेका राज्यहरू भाइहरूको चाहनाअनुसार सबैलाई भाग लगाउन पनि सक्थे । तर, उनले त्यसो गरेनन् । किनकी उनको चाहना प्रारम्भमा गोरखा राज्यको विस्तार भए पनि कालान्तरमा नेपाल राष्ट्रको अस्तित्व स्थापना गर्नु थियो भन्ने तर्क पनि आउँछन् ।
पृथ्वीनारायणले जुन-जुन राज्यहरू जोडे ती राज्य जोड्न उनको पूरै राज्य समय अर्थात् तीन दशक लाग्यो । यी राज्यहरू ज्यानको बाजी लगाएर जितिएको थियो । बुझ्न सकिन्छ, यसमा उनको कठोर परिश्रम परेको थियो । यसैले पृथ्वीनारायण शाहले आफ्नो उपदेशमा भने– मेरा साना दुःखले आर्ज्याको मुलुक होइन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।