logo-img

आईएल टी-२० मा दीपेन्द्र र कुशलको खेल आज, डेब्यूको सम्भावना कति ?

तेस्रो संस्करणको अन्तर्राष्ट्रिय टी–२० लिग अर्थात् आईएल टी–२० शनिबारदेखि सुरु भएको छ । यूएईमा भइरहेको यस लिगमा नेपालबाट दुई अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल पनि आबद्ध छन् ।  

आईएल टी–२० मा दीपेन्द्र गल्फ जायन्ट्स तथा कुशल डेजार्ट भाइपर्समा अनुबन्धित छन् । उनीहरूसम्मिलित टिमको खेल आइतबार रहेको छ । कुशलको टिमले पहिलो खेलमा आबुधाबी नाइट राइडर्स तथा दीपेन्दआबद्ध गल्फले शारजाह वारियर्सको सामना गर्ने तालिका छ । 

उनीहरूमध्ये डेजार्ट र आबुधाबीबीचको खेल आइतबार अपरान्ह ३ः४५ तथा दीपेन्द्रआबद्ध गल्फ र शारजाहबीचको खेल आइतबार राति ७ः४५ देखि सुरु हुनेछ । 

आईएल टी–२० मा दीपेन्द्र दोस्रो तथा कुशल पहिलोपटक खेल्न लागेका हुन् ।  



डेब्यूको सम्भावना कति ? 

दीपेन्द्र र कुशल दुवैले पहिलो खेलमै प्लेइङ–११ मा मौका पाउने सम्भावना छ । टिमका केही खेलाडी अरू लिगमा व्यस्त भएका कारण दीपेन्द्र र कुशलले पहिलो खेलमै मौका पाउने सम्भावना रहेको हो । 



कुशलआबद्ध डेजार्टमा आबद्ध एलेक्स हेल्स, वानिन्दु हसरंगा, शेरफन रदरफोर्ड, डान लरेन्स पहिलो खेलका लागि उपलब्ध हुने सम्भावना कम छ । हेल्स बंगलादेश प्रिमियर लिग तथा लरेन्स र शेरफन रदरफोर्ड बिग बास लिग खेलिरहेका छन् । यस्तै, हसरंगाले शनिबार मात्र न्यूजिल्याण्डविरुद्ध एकदिवसीय म्याच खेलेका थिए । सोही कारण उनी पहिलो खेल गुमाउने सक्छन् ।

यस्तो अवस्थामा उनीहरू अनुपस्थित रहे कुशलले पहिलो खेलमै प्लेइङ–११ मा मौका पाउने सम्भावना छ । उनले हालै मात्र सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए । 



चितवन राइनोजको कप्तानीसमेत गरेका कुशलले एनपिएलको ८ खेलमा २२३ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।  

यस्तै, दीपेन्द्रआबद्ध गल्फमा रहेका टिम डेविड, क्रिस जोर्डन, जिमी ओभर्टन, क्रिस जोर्डनले पनि पहिलो खेल गुमाउने सम्भावना उच्च छ । उनीहरू अनुपस्थित हुँदा दीपेन्द्रले पहिलो खेलमै आईएल टी–२० मा डेब्यू गर्न सक्छन् ।

उनी गत सिजनमा पनि गल्फको टिममा थिए । अन्तिमतिर जोडिएका ऐरीले डेब्यूको मौका भने पाएनन् । तर, यसपालि भने आईएल टी–२० मा उनले डेब्यू गर्ने सम्भावना उच्च छ । 

दीपेन्द्रले हालै सम्पन्न एनपिएलमा सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । एनपिएलमा उनले ९ खेलमा २२७ रन बनाउनुका साथै सात इनिङ्समा ९ विकेट लिए । लिगमा दीपेन्द्रले उत्कृष्ट कप्तानी पनि गरे । उनले आफ्नो कप्तानीमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याए । 

लिग अवधिभर उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र ‘सर्वोत्कृष्ट नेपाली खेलाडी’ घोषित भएका थिए । 

  • प्रकाशित मिति : पुस २८, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया