logo-img

यू-१९ विश्वकप : नेपाललाई इतिहास रच्ने मौका, कस्ता छन् प्रतिद्वन्द्वी ? [भिडियोसहित]
एक खेल जिते सुपर सिक्समा !
फाइल तस्बिर

नेपाली युवा महिला क्रिकेट टिमको केही समययताको प्रगति हेर्ने हो भने लोभलाग्दो छ । टिमले महत्वपूर्ण प्रतियोगितामा लगातार छाप छोडिरहेको छ । पर्याप्त प्रशिक्षण र नियमित प्रतियोगिताका कारण टोलीले ठूला प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकेको हो ।

नेपाली यू–१९ टिमले लय समातेको प्रतियोगिताको रूपमा लिन सकिन्छ, गत कात्तिकमा यूएईमा सम्पन्न विश्वकप छनोट । त्यहाँ नेपालले गज्जबको प्रदर्शन गर्‍यो । प्रतियोगितामा नेपाल ६ मध्ये पाँचमा विजयी र एक खेलमा मात्र पराजित भयो । 

नेपाली टिमले उक्त विश्वकप छनोटको अन्तिम खेलमा गरेको प्रदर्शनले आफ्नो क्षमता थप प्रमाणित गर्‍यो । त्यस निर्णायक खेलमा यूएईले दिएको ८४ रनको लक्ष्य १६.२ ओभरभित्र पूरा गरे मात्र नेपाल विश्वकपमा पुग्ने समीकरण थियो ।



नेपालले यूएईलाई चकित पार्दै सो लक्ष्य १४.४ ओभरमै भेट्टायो । र, यूएईविरुद्ध ८ विकेटको रबाफिलो जित निकालेर नेपाली टोलीले पहिलोपटक विश्वकपको टिकट काट्यो ।

सो ऐतिहासिक सफलताकै कारण नेपालले यू–१९ एसिया कपमा समेत स्थान बनायो । त्यहाँ पनि नेपालले इतिहास रच्यो । गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले पाकिस्तानजस्तो टेस्ट टिमलाई ६ विकेटले हराउँदै सनसनी मच्चायो ।    



नेपाली क्रिकेट इतिहासमा महिला टिमले कुनै पनि टेस्ट टोलीलाई हराएको यो पहिलोपटक हो । तीन महिनाभित्र दुई महत्वपूर्ण सफलता हात पारेपछि युवा टोली उत्साहित छ । र, पूजा महतो कप्तानीको नेपाली यू–१९ टिमले विश्वकपमा सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । त्यसका लागि नेपालले समूह चरणमा कम्तीमा एउटा टिमलाई हराउनुपर्छ ।     



कति बलियो छन् नेपालका प्रतिद्वन्द्वी ? 

विश्वकपमा नेपाल केही कठिन समूहमा परेको छ । नेपालले ग्रुप स्टेजमै उपाधि दाबेदार अस्ट्रेलियाजस्तो बलियो टिमको सामना गर्नेछ । सन् २०२३ मा भएको पहिलो संस्करणको विश्वकपमा अस्ट्रेलियाले सेमिफाइनलसम्मको यात्रा गरेको थियो । र, ऊ यसपालि उपाधि जित्ने लक्ष्यमा छ ।

त्यस्तै, नेपालको अर्को प्रतिद्वन्द्वी बंगलादेश गत संस्करणको यू–१९ विश्वकपमा सुपर सिक्ससम्म पुगेको थियो । नेपालको तेस्रो प्रतिद्वन्द्वी स्कटल्याण्डले भने पहिलोपटक यू–१९ विश्वकप खेल्न लागेको हो ।

समूह ‘डी’ मा रहेको नेपालले ग्रुप स्टेजमा १८ जनवरीमा बंगलादेश, २० जनवरीमा स्कटल्याण्ड तथा २२ जनवरीमा अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका छ । त्यसअघि नेपालले १३ जनवरीमा वेस्ट इण्डिज तथा १५ जनवरीमा अमेरिकाविरुद्ध वार्मअप म्याच खेल्नेछ ।

  • प्रकाशित मिति : पुस २८, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया