राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो।
आज न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेका हुन् । अब उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राख्ने तयारी भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा लामिछानेविरुद्ध मुद्दा चलेको हो ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार बिहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । बयान सकिएपछि अदालतले न्यायिक हिरासतमा राख्न भनेको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो ।
बयान सकिएलगत्तै थुनछेक बहस गराउन लामिछानेपक्षका कानून व्यवसायीको माग गरेका थिए । थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।