कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बिहान बेलुकीको खाना आयात गरेर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले बोकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कृषि अनुदान, रासायनिक मल एवं धानको उत्पादन आर्थिक वर्ष २०८१, ८२ को विवरण सार्वजनिकीकरण कार्यक्रममा उनले नेपालमा निर्यात गर्न सक्ने क्षमता रहेको भन्दै आयातको भरमा बाच्न नहुँने बताएका हुन् ।
उनले भने, ‘हाम्रो उद्देश्य भनेको आयात गर्न नपरोस् भन्ने हो । हामी यो मन्त्रालयमा बसी रहँदा हामीले खाने बिहान बेलुकीको खाना आयात गरेर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले बोकेको छ । कति उत्पादन गर्छ होइन, कम्तीमा बाहिरबाट ल्याएर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले राखेको छ । आयातको भरमा बाच्न हुँदैन निर्यात गर्न सक्ने क्षमता हामीसँग छ र त्यो राखौँ भन्ने उद्देश्य हामीले राखेका छौँ।’
यसको साथै, उनले धान, मकैजस्ता वस्तुको उत्पादन वृद्धि हुनु कृषकहरूको मेहनत भएको भन्दै यसलाई हाम्रो उपलब्धि भन्न नमिल्ने बताए । उनले भने, ‘कृषि कर्म गर्ने मान्छेले राम्रो तरिकाबाट कृषि कर्म गरिदिनुभयो त्यस कारण धान र मकैको उत्पादन वृद्धि भयो यो कुरा सही हो । हामीले हाम्रो कारणले वृद्धि भएको भनेर कहिले भनेका छैनौँ । यसको लागि कृषकहरूलाई नै धन्यवाद दिने हो र दिएका छौँ ।’
अनुदान लिएर कृषि कर्म नगरेकाहरूलाई कारबाही गर्नको लागि मन्त्रालयमा छलफल गरेर एउटा टिम बनाएको पनि उनको भनाई छ । उनले भने, ‘अनुदान कस्ता कस्ताले पाएका, कसले ठूलो रकम पाएका र अनुदान लिएर पनि कृषि कर्म नगरेको हुन सक्छ त्यसका लागि मन्त्रालयमा छलफल गरेर कारबाही गर्नको लागि एउटा टिम बनाएका छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।