चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे । उनका दुई छोरा र तीन छोरी छन् ।
लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापतिसमेत थिए । पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्वगाविस अध्यक्षसमेत हुन् ।
केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।