क्यालिफोर्नियाका मौसम पूर्वानुमानकर्ताले ठूलो हुरीको चेतावनी दिएसँगै त्यहाँ लागेको आगो यो साता फेरि उग्र रूपले फैलने ठानिएको छ ।
अग्नि नियन्त्रक झन्डै एक सातादेखि उक्त डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । यसबीचमा उनीहरूले तीनवटा डढेलो नियन्त्रण गर्ने काममा उल्लेख्य प्रगति गरेको बताइएको छ ।
सप्ताहान्तमा हावाको वेग तुलनात्मकरूपमा केही शान्त रहेता पनि सुक्खा हावासहितको निकै खराब सेन्टा एना वायु आइतबार रातिबाट बुधबारसम्म सक्रिय हुने भन्दै चेतावनी दिएका छन् ।
उक्त हुरीको गति प्रतिघण्टा ९६ किलोमिटरसम्मको हुन्छ । गत मङ्गलबारदेखिको यस विपद् नियन्त्रणको प्रयासमा जुटेका स्थानीय अग्निनियन्त्रकहरूलाई अन्य आठ राज्यका साथै क्यानडा र मेक्सिकोका सहायताकर्ताले साथ दिइरहेका छन् ।
लस एन्जलस सहरका स्वास्थ्य अधिकारीहरूले आइतबारसम्म मृतकको सङ्ख्या २४ पुगेको बताएका छन् । यो डढेलो अमेरिकी इतिहासकै सबैभन्दा बढ्ता आर्थिक क्षति गराउनेमध्येमा समेत पर्ने देखिएको छ ।
आइतबार मूल्याङ्कनकर्ताहरूले यसको प्रारम्भिक क्षतिको अनुमानलाई बढाउँदै त्यो २५० देखि २७५ अर्ब अमेरिकी डलरबीच हुने बताएका छन् ।
अग्नि नियन्त्रकहरू ठूला आगलागी नियन्त्रणमा लिने प्रयास सुरु गर्दै गर्दा अधिकारीहरूले आउन लागेको नयाँ हुरीले ‘सम्भावितरूपमा विनाशकारी हावा’ सिर्जना गर्न सक्ने चेतावनी दिएका छन् ।
पूरै एलए काउन्टीलाई सजग अवस्थामा राखिएको छ । एलए सहरका अग्नि नियन्त्रणसम्बन्धी प्रमुख क्रिस्टिन क्रोलेले घर छाड्नुपर्ने हुन सक्ने अवस्थामा राखिएका मानिसहरूलाई चेतावनी जारी हुँदाका अवस्थामा भाग्नका लागि तयार रहन आग्रह गरेका छन् ।
उनले सहायताकर्ताहरूलाई अवरोध नहुनका लागि सक्दो सडक र आसपास नरहन आग्रह गरेका छन् । सअनिवार्यरूपमा खाली गराइएका क्षेत्रबाट लुटपाटमा संलग्न कम्तीमा २९ जना मानिसलाई पक्राउ गरिएको छ जसमध्ये दुईजना अग्नि नियन्त्रकको पोसाकमा थिए ।
अधिकारीहरूका अनुसार दक्षिण क्यालिफोर्निया क्षेत्रमा यतिखेर १४ हजार अग्नि नियन्त्रकहरू सक्रिय छन्, जसलाई ८४ वटा विमान र १ हजार ३५४ वटा दमकलले सघाइरहेका छन् ।
अनिवार्यरूपमा घर छाड्नुपर्ने आदेशका कारण अन्यत्र सारिएका मानिसको सङ्ख्या घटेर यतिखेर १ लाख ५ हजार पुगेको छ । अझै ८७ हजार मानिसलाई घर छाड्नुपर्ने हुन सक्ने भनिएको छ । बीबीसी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।