logo-img

सिक्लेसमा ठेलो हान्ने मेलाको राैनक

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा २ सय वर्ष अघिदेखिको इतिहास जोडिएको माघे सङ्क्रान्ति मेला भोलिदेखि सुरु हुने भएको छ । कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला मेला सिक्लेस युवा क्लबको आयोजनामा गर्न लागिएको हो । 

सिक्लेसमा माघे सङ्क्रान्तिका दिनमा ठेलो हान्ने प्राचीन परम्परा दुई सय वर्षअघि देखि प्रचलनमा आएको इतिहासअनुसार त्यही समयदेखि नै यो मेला हुँदै आएको विश्वास गरिन्छ । क्लबका अध्यक्ष भोलामान गुरुङले उनले ‘ग्रामीण पर्यटन प्रवर्द्धनका लागि सिक्लेस माघे सङ्क्रान्ति मेला’ भन्ने नाराका अवसरमा मेला गर्न लागिएको बताए । 

उनका अनुसार माघ १ देखि ४ गतेसम्म खुला पुरुष तथा महिला भलिबल, पुरुष बास्केटबल, गुरुङ गीतमा सामूहिक नृत्य प्रतियोगिता, ठेलोलगायत लोपोन्मुख स्थानीय खेलकुदका प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ ।

मेलाका अवसरमा हुने खुल्ला पुरुष भलिबल प्रतियोगिताका विजयीले १ लाख नगदका साथमा मेडल र प्रमाणपत्र, द्वितीय हुनेले ७० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।



त्यस्तै, खुल्ला महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले २० हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । खुल्ला पुरुष बास्केटबलतर्फ प्रथम हुनेले १ लाखसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले ७० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।    

मेलामा गुरुङ भाषा गीतको सामूहिक नृत्यमा प्रथम हुनेले ६० हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले ४५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुनेले ३० हजार, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।



प्रतियोगिताअन्तर्गत ठेलो खेलका विजेताले ४५ हजारसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले ४० हजारसहित मेडल र प्रमाणपत्र पाउनेछन् । सभायुला युवा परिवारले सञ्चालन गर्ने ठेलो प्रतियोगिताको प्रमुख आतिथ्यता ठेलो प्रतियोगिताका पूर्वविजेता केशबहादुर गुरुङले गर्ने जनाइएको छ ।  

पोखराबाट करिब ४० किमीको दूरीमा कास्कीको उत्तरपूर्वी भेगमा रहेको सिक्लेस मादी गाउँपालिका–१ अन्तर्गत अन्नपूर्ण हिमाल र लमजुङ हिमाल काखमा रहेको छ । यहाँ चार सय ५० घरधुरी रहेका छन् । ग्रामीण पर्यटन केन्द्रका रुपमा विकास भइरहेको यहाँ पर्यटकको सुविधालाई लक्षित गरी सुविधासम्पन्न ४७ वटा होटल दर्ता भई सञ्चालनमा रहेका छन् । 



त्यसैगरी, ३६ वटा घरबास सञ्चालनमा छन् । पर्यटकीययाममा १ हजार ५ सयदेखि २ हजार जनासम्म पर्यटक सिक्लेसमा घुम्न आउने गरेको मादी गाउँपालिका–१ का वडाअध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । 

सिक्लेसमा करिब ९ सय वर्ष अघिदेखि नै बसोबास सुरु भएको अनुमान गरिने बताउँदै उनले २ सय वर्ष अघिदेखि यहाँ माघे सङ्क्रान्तिका अवसरमा ठेलो हान्ने प्रचलन रहेका कारण त्यसैबेलादेखि सिक्लेस माघे सङ्क्रान्ति मेला सुरु भएको अनुमान गरिने जानकारी दिए ।  

पछिल्लो समय सिक्लेस जाने बाटोलाई व्यवस्थित गर्ने उद्देश्यका साथ तेस्रो खण्डको काम सुरु हुन लागेको उनले जानकारी दिए । 

काहुँखोला सिक्लेस सडकमा अहिले तेस्रो खण्डको कालोपत्र गर्ने काम सुरु गर्न लागिएको उनले बताए । गाउँ तथा पर्यटकको सुरक्षाका लागि ६४ स्थानमा सिसी क्यामेरा जडान गरिएको उनले जानकारी दिए । 

स्थानीयको सेवाका लागि चाँडो काम गर्न प्रविधिमैत्री काम थालिएको बताउँदै उनले कतिपय अवस्थामा जनतालाई कार्यालयसम्म जान नपर्ने सुविधासमेत दिइएको बताए । रासस  

  • प्रकाशित मिति : पुस २९, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया