प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताएका छन् ।
सोमबार बालुवाटारमा आयोजित एक कार्यक्रममा पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुट र नकारात्मकता फैलाइएकोमा चिन्ता व्यक्त गरे । उनले कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको बताए ।
प्रधानमन्त्री ओलीले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याए पनि विरोध आएपछि फिर्ता लिएको बताए ।
तत्कालीन समयमा विरोध गर्नेले नै पछि २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गर्दै उनीहरूले नै अहिले अध्यादेशको विरोध गरिरहेको उनको भनाइ थियो । तर, आफूले भने त्यसो गर्ने कुनै मनसाय नरहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरे ।
उनले मुलुक विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको बताए । प्रधानमन्त्री ओलीले सो विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध गरेको भनी झुटो वक्तव्य प्रचार गरिएको उल्लेख गर्दै यस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिए ।
यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए ।
उनले जारी नै नभएको अध्यादेशलाई रातारात जारी गर्यो भनेर सम्प्रेषण गरिएको उल्लेख गर्दै मुलुक र जनताका पक्षमा आफूहरूले दिनरात नभनी काम गरेको बताए ।
‘हामी १०-५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो’, प्रधानमन्त्री ओलीले भने, ‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र ?’
सरकारले विभिन्न नाममा हुने कीर्ते र जाली काम रोक्ने गरी कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यको भूमिका हुनेमा विश्वास व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।