जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्ने भएका छन् । आइतबार लिग चरणको खेल सकिएसँगै उपाधिका लागि आर्मी र पुलिस खेल्ने निश्चित भएको हो ।
यी दुई टिमबीचको तीनदिवसीय ढाँचाको उपाधि भिडन्त मंगलबारदेखि सुरु हुनेछ । लिग चरणको ६ खेल सकिँदासम्म केही खेलाडीले राम्रो प्रदर्शन गरे । केही स्टारले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी
लिग चरणको खेल समाप्त हुँदा बलिङतर्फ सर्वाधिक सफल खेलाडीको सूचीमा नम्बर वानमा छन्, देब्रेहाते स्पिनर साहब आलम । आर्मी क्लबबाट लिग खेलिरहेका उनले तीन म्याचमा २.८५ को इकोनमीमा २१ विकेट लिइसकेका छन् ।
साहले अझै एउटा म्याच खेल्न बाँकी छ । उनीसामु चार खेलमा ३० विकेट पूरा गर्ने मौका छ ।
जय ट्रफीमा साहबको उत्कृष्ट बलिङ ५९ रन दिएर ८ विकेट लिनु हो । उनी यस प्रतियोगितामा एकै इनिङमा ८ विकेट लिने एक्लो बलर हुन् । पहिलोपटक रेड बल क्रिकेट खेलिरहेका साहबले डेब्यू प्रतियोगितामै प्रभावित पारिरहेका छन् । यस्तै, सर्वाधिक विकेट लिने मामलामा पुलिस क्लबमा आबद्ध बायाँहाते स्पिनर ललितनारायण राजवंशी दोस्रो स्थानमा छन् ।
उनले तीन म्याच खेल्दा २.७८ को इकोनमीमा १९ विकेट लिएका छन् । जय ट्रफीमा ललितको उत्कृष्ट बलिङ ४७ रन दिएर ७ विकेट लिनु हो । उनीसामु फाइनलमा साहबलाई पछि पार्ने मौका छ ।
त्यस्तै, यो सूचीको तेस्रो स्थानमा बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने रहेका छन् । उनले तीन म्याचमा ४.६० को इकोनमीमा १८ विकेट लिए । प्रतियोगितामा सन्दीपको उत्कृष्ट बलिङ ४१ रन दिएर ५ विकेट लिनु हो ।
ब्याटिङतर्फ जय ट्रफीको लिग चरणमा मधेश प्रदेशका ओपनर मयन यादव सर्वाधिक सफल रहे । टिम जितविहीन बने पनि उनको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रह्यो । १९ वर्षीय मयनले तीन खेलमा एक शतक र एक अर्धशतकको मद्दतमा सर्वाधिक २ सय ६८ रन बनाए ।
उनी जय ट्रफीमा शतक हिर्काउने एक्लो ब्याटर हुन् । मयनले उक्त शतकीय पारी बागमती प्रदेशविरुद्ध खेलेका थिए । यस्तै, उनले विभागीय क्लब आर्मी र पुलिसविरुद्ध पनि राम्रो प्रदर्शन गरे ।
त्यस्तै, लिग चरणमा सर्वाधिक रन बनाउने सूचीमा दोस्रो स्थानमा पुलिसमा आबद्ध अमित श्रेष्ठ रहे । उनले ५ इनिङ्समा दुई अर्धशतकको सहयोगमा २ सय २४ रन बनाए ।
लिग चरणको अन्तिम खेलमा बागमतीविरुद्ध दुवै इनिङमा अर्धशतकीय पारी खेलेका थिए । पुलिसले लगातार दुई खेल जित्नुमा अमितको भूमिका पनि महत्वपूर्ण छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।