logo-img

देवघाटमा स्नान गर्नेको घुइँचो : गैँडाकोटबाट निःशुल्क डुंगाको व्यवस्था

हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।  

नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो । 

गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क र्‍याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताए । 

‘नवलपुरतर्फबाट सहज र छिटो रूपमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा देवघाटधाम स्नान गर्न जान सकिन्छ’, उनले भने, ‘जसका लागि गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो भएर जान सकिन्छ ।’ कालीगण्डकी चोकबाट करिडोरको बाटो हुँदै चारपाङ्ग्रे सवारीसाधनबाट कालीगण्डकीको पक्की पुलबाट देवघाटधाममा नै पुग्न सकिने भन्दै उनले शिलान्यासचोक हुँदै ब्रिटिस क्याम्प भएर दुईपाङ्ग्रे सवारीसाधनमा देवघाटको केलादीघाटमा पुग्न सकिने बताए । 



चितवनतर्फबाट देवघाट जान घुमाउरो र असहज यात्रा हुने भन्दै वडाध्यक्ष तिवारीले नवलपुरतर्फबाट सहज रूपमा यात्रा गर्न सकिने बताए । गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको उनले बताए । कालीगण्डकीमा स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको जनाउँदै उनले बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको बताए ।

‘माघे सङ्क्रान्तिको दिन नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाटको बेनी पुग्न तीर्थालुलाई निकै कठिन र असहज हुने गरेको छ’, वडाध्यक्ष तिवारीले भने, ‘तीर्थालुले माघे सङ्क्रान्ति स्नान सहज रूपमा गरून् भन्ने उद्देश्यले हामीले केलादीघाटबाट निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरेका हौँ ।’ नवलपुरसहित पश्चिमतर्फबाट आउने तीर्थालुहरू गैँडाकोटको केलादीघाट हुँदै देवघाट स्नान गर्न जाँदा सहज र बाटोसमेत छोटो पर्ने उनले बताए । 



चितवनतर्फबाट देवघाट पुग्न पुलचोकबाट १० किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने भन्दै वडाध्यक्ष तिवारीले नवपुरतर्फबाट करिब पाँच किलोमिटरमा देवघाट पुग्न सकिने बताए । 

नवलपुरभन्दा पश्चिमबाट आउने सबै तीर्थयात्रीलाई गैँडाकोटको केलादीघाटको बाटो प्रयोग गर्न वडाध्यक्ष तिवारीले आग्रह गरे । मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन् । 



  • प्रकाशित मिति : माघ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया