रूपन्देहीको सालझण्डीमा भएको नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ को १८औँ संस्करण सकिएको छ ।
रूपन्देहीको नेपाली सैनिक ब्याटल स्कुलमा १५ पुसदेखि सुरु भएको अभ्यासको सेनाका बलाध्यक्ष रथी प्रदीपजंग केसीले एक समारोहबीच समापन गरेका छन् ।
समापन समारोहमा बोल्दै केसीले संयुक्त अभ्यासमा सहभागी फौजलाई सफलतापूर्वक अभ्यास सम्पन्न गरेकोमा बधाई दिँदै अभ्यासका क्रममा दुवै देशका सैनिकले प्रदर्शन गरेको व्यावसायिक दक्षता, उच्चस्तरको समर्पण र सामूहिक लगावको प्रशंसा गरे ।
समापन समारोहमा भारतीय सेनाको अभ्यास अब्जर्भर ग्रुपका तर्फबाट ब्रिगेडियर जनरल गोविन्दन प्रवीणले समेत मन्तव्य राखेका थिए ।
विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगलगायतका विषयमा अभ्यास गरिएको थियो । यसमा नेपाली सेनाबाट सेनानी निराजन कटवाल र भारतीय सेनाबाट कर्णेल जपेन्दरपाल सिंहको नेतृत्वमा ६६८ जना सैनिक सहभागी थिए ।
नेपाल र भारतका सैनिकबीच २०६७ सालदेखि निरन्तर एकअर्काको मुलुकमा संयुक्त सैन्य अभ्यास हुँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।