logo-img

तथ्यांकमा ५ नेपाली ब्याटर, को कति सफल ? [भिडियोसहित]

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको तीन दशक पुग्दैछ । नेपालले ६ सेप्टेम्बर सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेको हो ।

यद्यपि नेपालले टी–२० र ओडिआई राष्ट्रको मान्यता पाउन भने लामो समय प्रतीक्षा गर्नुपर्‍यो । नेपालले सन् २०१४ मा टी–२० राष्ट्रको मान्यता पायो । नेपालले ओडिआई स्टाटस भने सन् २०१८ मा प्राप्त गर्‍यो । 

दुई फर्म्याटको अन्तर्राष्ट्रिय मान्यता हासिल गरेको नेपालले हालसम्म टी–२० आईमा ९५ तथा ओडिआईमा ७३ म्याच खेलेको छ, जसमा नेपालले टी–२० मा ५३ म्याचमा जित र ३८ खेलमा हार बेहोरेको छ । यस्तै, नेपालले खेलको दुई खेल बराबरीमा टुंगिँदा दुई म्याच नतिजाविहीन बने । 



यस्तै, नेपालले ७३ ओडिआईमध्ये ३५ मा जित र ३५ खेलमा हार बेहोरेको छ । नेपालले एकमा बराबरी खेल्दा दुई ओडिआईमा भने अंक बाँडेको छ । नेपालले टी–२० र ओडिआई राष्ट्रको मान्यता पाएपछि नेपाली खेलाडी पनि विश्वक्रिकेटमा देखिन थालेका छन् ।

उनीहरूले क्रिकेटका शक्ति राष्ट्रविरुद्ध पनि खेलिसकेका छन्, जहाँ नेपाली खेलाडीले समर्थकलाई प्रभावित पारे । केही नेपाली क्रिकेटरको नाममा त विश्वकीर्तिमानसमेत छ ।​ यसैबीच, यस सामग्रीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता प्राप्त गरेपछि सर्वाधिक रन बनाउने ५ ब्याटरको चर्चा गरिएको छ :



रोहितकुमार पौडेल



हालसम्म नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा कप्तान रोहितकुमार पौडेल रहेका छन् । ओडिआई र टी–२० आई गरी उनले कुल ३ हजार ६३ रन बनाएका छन्, जसमध्ये रोहितले १ हजार ७५३ रन ओडिआईमा र १ हजार ३१० रन टी–२० आईमा बनाएका हुन् ।

उनले हालसम्म दुई प्रारूपमा जम्मा १८ अर्धशतक र एक शतकीय पारी खेलेका छन् । 

आसिफ शेख

नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने मामलामा दोस्रो नम्बरमा ओपनिङ ब्याटर आसिफ शेख रहेका छन् ।

उनले हालसम्म दुवै फर्म्याट गरी २ हजार ७६७ रन बनाएका छन्, जसमध्ये आसिफले १ हजार ५२२ रन ओडिआई तथा १ हजार २४५ रन टी–२० आईमा बनाएका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म १९ अर्धशतक र एक शतकीय इनिङ खेलेका छन् । 

दीपेन्द्र सिंह ऐरी

त्यस्तै, नेपालका लागि सर्वाधिक रन बनाउने सूचीमा तेस्रो स्थानमा स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् । उनले हालसम्म दुवै फर्म्याट गरी कुल २ हजार ६७३ रन बनाएका छन्, त्यसमध्ये ऐरीले १ हजार ७२५ टी–२० आई मा र ९४८ रन ओडिआईमा बनाएका हुन् ।

उनले हालसम्म दुवै ढाँचा गरी १२ अर्धशतक र दुई शतक हिर्काएका छन् । टी–२० आईमा दीपेन्द्रको नाममा सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड पनि छ । उनले सन् २०२३ मा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक हिर्काउँदै विश्वकीर्तिमान बनाएका थिए ।  

कुशल भुर्तेल

ओपनिङ ब्याटर कुशल भुर्तेलको पनि विगत प्रदर्शन राम्रो छ । उनले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार ५८३ रन बनाएका छन्, जसमध्ये कुशलले टी–२० आईमा १ हजार २९८ तथा ओडिआईमा १ हजार २८५ रन बनाएका हुन् ।

कुशलले हालसम्म टी–२० आईमा ९ अर्धशतक र एक शतक तथा ओडिआईमा ८ अर्धशतक र एक शतकीय इनिङ खेलेका छन् । यसरी हेर्दा उनको नाममा टी–२० आईमा १७ अर्धशतक र दुई शतक रहेको छ ।  

ज्ञानेन्द्र मल्ल

नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउनेक्रममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाम पाँचौं स्थानमा छ । उनले आफ्नो क्रिकेट करियरमा ४५ टी–२० आई र ३७ ओडिआई म्याच खेले ।

ज्ञानेन्द्रले कुल १ हजार ७५९ रन बनाए । जसमध्ये उनले ८ सय ८३ रन टी–२० मा तथा ८ सय ७६ रन ओडिआई ढाँचामा बनाएका हुन् । ज्ञानेन्द्रले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ९ अर्धशतक र एक शतकीय पारी खेले । 

  • प्रकाशित मिति : ११ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया