नेपाली स्टार अलराउन्डरद्वय दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले यही पुसमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गरे । लिगमा दीपेन्द्र त ‘सर्वोत्कृष्ट नेपाली खेलाडी’ नै घोषित भए ।
एनपिएल अवधिभर उनले अलराउन्ड प्रदर्शन गरे । दीपेन्द्रले ब्याटिङतर्फ ९ खेलमा १६० भन्दा बढीको स्ट्राइक रेटमा २ सय २७ रन बनाए । यस्तै, बलिङमा उनले ७ इनिङ्समा ९ विकेट लिए ।
कप्तानीमा दीपेन्द्रले सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्याए । उनको नेतृत्वमा सुदूरपश्चिमले एनपिएलमा ९ मध्ये सातमा जित र दुई खेलमा मात्र पराजय बेहोर्यो ।
यस्तै, चितवन राइनोजले प्लेअफसम्म पुग्नुमा कप्तान कुशल मल्लले पनि अलराउन्ड प्रदर्शन गरे । उनले ८ खेलमा २ सय २३ रन बनाउनुका साथै ९ विकेट लिए । एनपिएलमा राम्रो प्रदर्शन गरेपछि कुशल विदेशी लिगको आँखामा परे । जसअन्तर्गत उनी इन्टरनेशनल लिग टी–२० (आईएल टी-२०) क्लब डेजार्ट भाइपर्समा अनुबन्धित भए ।
नेदरल्याण्ड्सका बासडे लिडे चोटका कारण लिगबाट बाहिरिएपछि डेजार्टले कुशललाई भित्र्याएको हो । एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेकाले दीपेन्द्र र कुशलले आइएल टी–२० को सुरुवाती खेलमै डेब्यू गर्ने अनुमान थियो । तर, समर्थकको आकलनविपरीत उनीहरू दुई खेल सकिँदासम्म ‘वाटर ब्वाइ’ को भूमिकामा सीमित छन् । अर्थात् टिमहरूले दुई/दुई म्याच खेल्दा दीपेन्द्र र कुशलले प्लेइङ–११ मा मौका पाएका छैनन् ।
दीपेन्द्र दोस्रो तथा कुशल पहिलोपटक यो लिगमा आबद्ध छन् । ऐरी गत संस्करणको आइएल टी–२० को अन्तिमतिरको खेलका लागि गल्फ जायन्ट्समा अनुबन्धित भएका थिए । गल्फले उनलाई यसपटक रिटेन गरेको थियो । तर, भारतको चर्चित अडानी ग्रुपको स्वामित्व रहेको गल्फले दीपेन्द्रलाई डेब्यूको अवसर भने दिएको छैन ।
सामाजिक सञ्जालमा चर्चा बटुल्न मात्र उनलाई अनुबन्ध गरेको भन्दै नेपाली समर्थकले गल्फ जायन्ट्सको आलोचना गरिरहेका छन् । दीपेन्द्र हाल आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा छन् ।
उनी वरीयतामा कयौँ स्टार क्रिकेटरभन्दा माथि छन् । टी–२० क्रिकेटमा दीपेन्द्रको विगत प्रदर्शन पनि उत्कृष्ट छ । साथै, उनले अरू विदेशी लिग पनि खेलिसकेका छन् । तर, आइएल टी–२० मा भने गल्फले दीपेन्द्रलाई डेब्यू गराउन हतार गरिरहेको छैन ।
उनलाई छिटो डेब्यू नगराउनुको प्रमुख कारण, एसोसियट प्लेयर हुनुलाई मान्न सकिन्छ । गल्फमा आबद्ध अधिकांश टेस्ट राष्ट्रका खेलाडी छन् । र, उनीहरूसँग विदेशी लिग खेलेको बढी अनुभव पनि छ ।
यद्यपि सुरुवाती दुई खेलमा लगातार पराजय बेहोरेकाले गल्फले तेस्रो म्याचमा भने दीपेन्द्रलाई डेब्यू गराउने सम्भावना छ । गल्फले तेस्रो खेलमा शनिबार दुबई क्यापिटल्सविरुद्ध खेल्ने तालिका छ ।
यस्तै, लगातार दुई जित निकालिसकेको कुशलआबद्ध डेजार्ट भाइपर्सले तेस्रो खेलमा बिहीबार एमआई इमिरेट्सको सामना गर्नेछ ।
यो पनि
आईएल टी-२० मा कुशलको टिमको दोस्रो जित, दीपेन्द्रआबद्ध गल्फको खराब प्रदर्शन जारी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।