काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
आजै सकिएको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धानले भनेको थियो । सभापति लामिछानेविरुद्ध पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० रुपैयाँ बिगो माग दाबी गरिएको थियो ।
सभापति लामिछानेकोतर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । बचतकर्ता (जाहेरवाला) को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र सहायक न्यायाधिवक्ता गणेशकुमार शर्माले जवाफी बहस गरेका थिए ।
पीडितकोतर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. दिनेश त्रिपाठी बहस गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।