logo-img

सम्भव छ नेपालमै पेट्रोलियम पदार्थको उत्पादन, तर बाधा पनि उस्तै [भिडियोसहित]
​भेट्टियो पेट्रोलियम खानी, उत्पादन भने अनिश्चित

पेट्रोलियम पदार्थ उत्पादनका लागि भएका पछिल्ला अन्वेषण र कामले गति लिएसँगै नेपालकै पेट्रोलको प्रयोग गर्न पाइने चर्चा चुलिएको छ । उसो त, नेपालमा पेट्रोलियम पदार्थको खानी भएको चर्चा पहिलैबाट चल्दै आएको हो । देशभित्रै पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासका खानीहरू फेला पर्दा र बेलाबखत भएका प्रारम्भिक अध्ययनबाट आशा जगाउने प्रसस्तै ठाउँ भेटिएका छन् ।

यसैबीच, दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा पेट्रोलियम भण्डार रहेको पुष्टि भइसकेकाले छिट्टै त्यसको उत्पादन हुने आशा गरिएको छ । यसअघि, कयौँ पटक पेट्रोलियम खानी खोज्ने प्रयास गरिएको थियो । तर, पर्याप्त अन्वेषण हुन नसक्दा नेपालमा उत्खनन गर्न सकिने गरी पेट्रोलियम पदार्थ भए-नभएको टुङ्गो लाग्न सकिरहेको थिएन । 

यस पटक भने दैलेखमा पेट्रोलियम भण्डार रहेको पुष्टि गर्ने कामसम्म भइसकेको छ । अब नेपालको पेट्रोलियम उत्खनन र प्रयोगमा कति वर्ष लाग्ला यो महत्त्वपूर्ण विषय बनेको छ ।  

दैलेखमा कति प्रगति ?



दैलेखमा लामो समयदेखि पेट्रोलियम खानी रहेको चर्चा हुँदै आएको थियो । तर, ठोस अनुसन्धानको काम भने अघि बढ्न सकेको थिएन । २८ वैशाख २०८१ बाट पेट्रोलियम खानीको विषयमा दोस्रो चरणको अनुसन्धान सुरु भयो । सोही अनुसन्धानमा दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा पेट्रोलियम भण्डार रहेको पुष्टि भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

विभागका अनुसार, पुस २० गते ड्रिलिङको काम सकिएसँगै दैलेखमा पेट्रोलियम भण्डार रहेको पुष्टि भएको हो ।  ड्रिलिङ भनेको ग्यास र पेट्रोलियम पदार्थ छ वा छैन, छ भने कति परिमाणमा छ भनेर देखाउने अन्तिम चरणको काम हो ।



वैशाखबाट सुरु भएको ड्रिलिङको काम असोज मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, कडा चट्टानका कारण आयोजना लम्बिन गएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका भूगर्भविद् एवम् सूचना अधिकारी प्रकाश लुइँटेल बताउँछन् । उनका अनुसार हाल ४२ सय मिटर गहिराइमा खन्ने काम सम्पन्न भएको छ । 

‘४ हजार मिटर ड्रिलिङ गर्ने लक्ष्यसहित काम सुरू गरिएकोमा ४ हजार १३ मिटर ड्रिलिङ गर्ने काम सम्पन्न भएको छ,’ उनी भन्छन्, ‘ड्रिलिङ गर्दा पेट्रोलियम पदार्थ अन्तर्गत प्राकृतिक ग्यासहरू भेटिएको छ । ड्रिलिङ गर्दा भेटिएको चट्टानका नमुनाहरू परिक्षणका लागि आइतबार मात्रै चीन पठाएका छौँ ।’



चैत २०७२ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । माघ २०७५ मा चीनलाई नेपालका दुई क्षेत्रमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्बन्धी परियोजना स्वीकृत भएको थियो । सोही सहमति अनुसार, २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जियोलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । सम्झौताको अवधि आगामी फेब्रुअरी २८ मा सकिँदै छ ।
 
सो सम्झौता कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त कार्य योजना बनाएका थिए । पहिलो चरणमा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा ड्रिलिङ साइट पहिचानको काम गर्ने, दोस्रो चरणमा ड्रिल गर्ने र तेस्रो चरणमा सर्भे प्रतिवेदन बुझाउने सहमति भएको थियो । सोही सम्झौता अनुसार  ड्रिलिङको काम चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा भएको हो । 

नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुसार ड्रिलिङ कार्य दोस्रो चरणको काम हो । त्यसअघि पहिलो चरणको सम्झौता अनुसार, चीनका प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पहिचान गरेको थियो । 

अब के हुन्छ ?

पहिलो र दोस्रो चरणको काम सकिएसँगै अब तेस्रो चरणको काम सुरु हुने भएको छ । तेस्रो चरणमा ड्रिलिङ गर्दा भेटिएका विभिन्न चट्टानका नमुनालाई प्रयोगशालामा परीक्षण गरिनेछ । त्यसका लागि चिनियाँ प्राविधिक टोलीले चट्टानका नमुनाहरू सङ्कलन गरेर आइतबार मात्रै चीन पठाइसकेको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी लुइँटेल बताउँछन् । अब ती नमुनाहरूको प्रयोगशालामा थप परीक्षण गरेर चीनले नेपाललाई विस्तृत प्रतिवेदन दिने छ । 

‘अहिले हामी नमुनाको प्रतिवेदन पर्खेर बसेका छौँ,’ लुइँटेल भन्छन्, ‘पेट्रोलियम उत्खनन् तथा अन्वेषणबाट हालसम्म चीन पठाइएका नमुनाहरूको परीक्षण भएपछि सत्य तथ्य डाटाहरू समावेशसँगै विश्लेषणसहितको प्रतिवेदन तयार पारेर चिनियाँ कम्पनीले नेपाल सरकारलाई बुझाउने छ । त्यसपछि बाँकी काम अघि बढ्ने छ ।’

प्रतिवेदन प्राप्त भएपछि पेट्रोलियम पदार्थ कुन परिमाणमा छ भन्ने सम्भावित जानकारी प्राप्त हुने सूचना अधिकारी लुइँटेल बताउँछन् । सोही आधारमा सरकारले आगामी कदम लिन सहज उने उनको तर्क छ । उक्त प्रतिवेदन आउन करिब ३/४ महिना लाग्न सक्ने उनले बताए । ‘उक्त नमुनाको रिपोर्ट आउन करिब ३/४ महिना लाग्न सक्छ । रिपोर्ट पाएपछि थप परीक्षणका लागि फेरि काम सुरु गर्छौं,’ उनले भने ।  

प्रतिवेदनका आधारमा सम्भावना भए फेरि त्यो इनारमा गएर तेल निकालिनेछ ।  त्यसको फेरि विश्लेषण पनि हुनेछ । गुणस्तर जाँच गर्ने काम पनि हुनेछ । आर्थिक र व्यावसायिक रूपमा ग्यास तथा पेट्रोलियम पदार्थको उत्पादन सम्भव भए मात्र उत्पादन र बिक्री वितरण सुरु हुने उनले बताए । लुइँटेलका अनुसार डिलिङ गरेका बनाइको खाल्डो (इनार)मा तेल र ग्यास भेटिँदैमा परियोजना अघि बढ्दैन ।  ग्यास र तेल ठूलो मात्रामा भेटिनुपर्छ । थोरै मात्रामा ग्यास र तेल भेटिए परियोजना अघि बढाउन खर्चले धान्न नसकिने उनको तर्क छ । 

नेपालकै पेट्रोलियम प्रयोग कहिले ? 

दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा पेट्रोलियम भण्डार रहेको पुष्टि भएपछि नेपालकै पेट्रोल कहिलेदेखि प्रयोग गर्न सकिएला भन्ने कौतुहलता छ । अहिले नै यो विषयमा केही भन्न नसकिने तर्क गर्छन्, पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी लुइँटेल । ‘पेट्रोलियम पदार्थ प्रयोगमा ल्याउनलाई अझै धेरै समय कुर्नु पर्छ । यो आजको भोलि हुने कुरा होइन,’ उनी भन्छन्, ‘यदि आजैबाट काम सुरु गर्ने भने भने पनि नेपाली बजारमा नेपालकै पेट्रोल उपलब्ध गराउनका पेट्रोलियम चक्रका प्रत्येक खुड्किलालाई १ वर्ष समय दिँदासमेत कम्तीमा ७ वर्ष लाग्ने देखिन्छ । त्यो पनि छिटो छरितो कुनै रोक रोक बिना काम गर्दा हो । तर, हाम्रोजस्तो देशमा यो सम्भव छैन । त्यसैले अहिले नै यति वर्ष लाग्छ भनेर भन्न सकिँदैन ।’ 

यसअघिका प्रयास 

यसरी विस्तृत अध्ययन भएको यो पहिलो पटक होइन । सरकारले यसअघि पनि पेट्रोलियम पदार्थमा विस्तृत अध्ययन गरेको थियो । खानी तथा भूगर्भ विभागले वर्ल्ड बैंकलगायत दातृ निकायको सहयोगमा सन् १९८० को दशकमा पेट्रोलियम पदार्थको सर्भे गरेको थियो । उक्त सर्भेले नेपालको धनगढी, कर्णाली, लुम्बिनी, वीरगन्ज, मलंगवा, नेपालगन्ज, चितवन, जनकपुर, राजविराज र विराटनगरमा गरी दशवटा ब्लकमा पेट्रोलियम पदार्थ रहेको देखाएको थियो ।

त्यसपछि २०४५ सालमा सरकारले गरेको अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् एउटा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा अन्वेषण गरेको थियो । सेल्टाइट्रन नामक कम्पनीले साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको थियो । तर, त्यति गहिराइसम्म पुग्दा पनि तेल नभेटिएपछि कम्पनी अन्वेषणबाट पछि हट्यो । अहिले पनि राधानगरमा पेट्रोल खोज्न खनिएको खाडल यथावत् छ । 

खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन परियोजनाले हालसम्म गरेका र गराएका भौगर्भिक, भूभौतिक अध्ययन तथा अन्वेषणको परिणामले नेपालको दक्षिणमा रहेको तराई, भित्री मधेस र चुरे पर्वतमाला क्षेत्र पेट्रोलियम पदार्थ हुनसक्ने क्षेत्रको रूपमा देखाएको छ । तर, नेपालको कुन कुन क्षेत्रमा कति ठूलो परिमाणको भण्डार रहेको छ भनेर अहिले भन्न सकिने अवस्था भने नरहेको लुइँटेलको तर्क छ । 

नेपाल पेट्रोलियम पदार्थमा पूर्णतः परनिर्भर छ । नेपालले ठूलो मात्रामा विदेशी मुद्रा खर्च गरेर पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ र हरेक वर्ष यस्तो आयातको परिमाण बढ्दै गइरहेको छ । जमिनको सतहभन्दा धेरै गहिराइमा पाइने गरेको कारणले पेट्रोलियम पदार्थको अन्वेषण अन्य कुराको लागि गरिने अध्ययन तथा अन्वेषण भन्दा फरक, जटिल, जोखिमयुक्त र निकै महँगो हुने उनको तर्क छ । 

नेपालको भूगर्भ तथा यसको भौगर्भिक इतिहाससँग मिल्ने भारतको आसाम तथा पाकिस्तानको पोतवार क्षेत्रमा लामो समयदेखि पेट्रोलियम पदार्थको उत्पादन भइरहेको कारणले नेपालको भूगर्भमा पनि पेट्रोलियम पदार्थको भण्डार हुनसक्ने सम्भावना रहेको चर्चा विगतदेखि नै हुँदै आएको थियो । 

४ असोज २०७२ मा नेपालको नयाँ संविधान जारी भए लगत्तै छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी लगायो । पेट्रोलियम पदार्थमा पूर्ण रूपमा परनिर्भर नेपाल नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव चुलियो । अभावकैबीचमा देशभित्रै सम्भावित पेट्रोलियम पदार्थको खोजी थालियो । त्यसपछि दैलेखमा पेट्रोलियम पदार्थको उत्खननका लागि अन्वेषणको काम सुरु भएको हो । भारतीय नाकाबन्दीले नै दैलेखमा पेट्रोलियम पदार्थको उत्खननका लागि अन्वेषणको काम गर्ने साइत जुरेको थियो ।

तर, भारतले नेपालको पेट्रोलियम पदार्थ अनुसन्धानमा हस्तक्षेप गर्ने रणनीति बनाउने गरेको तर्क गरिन्छ । नेपालको इन्धन बजारमा एकाधिकार जमाएको भारतले यहाँको आन्तरिक अनुसन्धानमा पनि नियन्त्रण राख्ने गरेको पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ आफू निकटकासँग भन्दै आएका थिए । उनले भनेका थिए, ‘पेट्रोलियम अन्वेषणका लागि पेट्रोक्यानडाको अन्तर्राष्ट्रिय सहयोग नियोग प्रतिनिधि नेपाल आइसकेको थियो । तराईको चुरे शृंखलामा पेट्रोलियम अन्वेषणको लागि ड्रिलिङ सुरु भइसकेको थियो । नेपालगन्जको आसपास क्षेत्र प्राकृतिक ग्यास र दाङको निश्चित केही ठाउँमा पनि पेट्रोल पाइएको पत्ता लागिसकेको थियो । २७ कात्तिक २०४५ को गतेको गोरखापत्रले पेट्रोलियम अन्वेषण भनेर समाचार पनि लेखेको थियो । भारतको नाकाबन्दी नलागेको भए केही महिनामै पेट्रोल र ग्यास नेपालमा उहिल्यै निक्लेको हुन्थ्यो ।’

उनको यो भनाइबाट पनि प्रस्ट हुन्छ, भारत नेपालले पेट्रोलियम पदार्थ उत्पादन नगरोस् भन्ने चाहन्छ । साथै नेपालमा पेट्रोलियम खानी पत्ता लाग्यो र पेट्रोलियम झिक्न थालियो भने स्रोत चट्टानबाट पेट्रोलियम नेपालतर्फ बहने सम्भावना हुन्छ । यसले छिमेकी देशमा रहेको खानीमा असर पार्न सक्छ । यस्ता कारणले पनि नेपालमा पेट्रोलियम सर्वेक्षण र उत्खनन कार्यलाई छिमेकी देश भारतले सजिलै अगाडि बढ्न नदिने तर्क गरिँदै आइएको छ । हाल दैलेखमा मात्र होइन, पाल्पाको तानसेन क्षेत्रमा चीनले अध्ययन गरेको छ । विभागले चितवन र लुम्बिनीको लागि टेन्डर आह्वान गरेको छ । 

सम्भावना अथाह, चुनौती उत्तिकै 

नेपालको जुन भूभागमा अहिले पेट्रोलियम पदार्थ छ भनेर अनुमान गरिएको छ, भारत र पाकिस्तानका त्यस्तै श्रृङ्खलामा पर्ने भूभागमा डिजेल/पेट्रोल भेटिएका छन् । त्यसैले पनि नेपालमा अथाह पेट्रोलियम पदार्थ रहेको अनुमान गर्न सकिने उनको तर्क छ । यदि अनुसन्धानबाट यो कुराको पुष्टि भएमा देशको अर्थतन्त्र कायापलट हुने उनको भनाई छ । उनका अनुसार  यी सम्भावनालाई पहिल्याउन ठूलो लगानी जरुरी छ । ‘लामो समयदेखि नेपालमा पेट्रोलियमको सम्भावना रहेको चर्चा हुँदै आए पनि हालसम्म पुष्टि गर्न नसक्नुको एउटा कारण बजेट पनि हो,’ लुइँटेल भन्छन्, ‘यसको अन्वेषणका लागि नै ठूलो खर्च हुन्छ ।’

नेपालको भूपरिवेष्टित अवस्थिति, विकट भौगोलिक बनावट, पेट्रोलियम पदार्थको अन्वेषणसँग सम्बन्धित उच्च प्रविधि र दक्ष जनशक्तिको अभाव आदिका कारण यहाँ हुने अन्वेषणको कार्य तुलनात्मक रूपमा जटिल तथा महँगो हुन्छ  । पेट्रोलियम अन्वेषण कार्य सम्पन्न हुँदा सम्बन्धित अन्वेषण खण्ड वा क्षेत्रमा व्यापारिक महत्वको तेल वा ग्यासको भण्डार फेला नपरेमा ठूलो धनराशि (अरबौँ रुपैयाँ) खेर जाने भएकाले यस्तो लगानी आर्थिक दृष्टिकोणले पनि जोखिमपूर्ण मानिन्छ । 

सरकार त्यसमा ठूलो खर्च लाग्ने देखेपछि विस्तृत अनुसन्धानमा अघि सरेको छैन । ‘आफैँ गर्छु’ भनेर आएका विदेशी कम्पनीले पनि वातावरण नभएको भन्दै काम गर्न सकेका छैनन् । यसका साथै नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणको लागि मौजुदा कानुनी व्यवस्था, सहज रूपमा कार्य गर्नको लागि शान्ति सुरक्षा, भूसतहमुनि रहेको पेट्रोलियम पदार्थ भण्डारको गहिराइका साथै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यले पेट्रोलियम पदार्थको अन्वेषणमा हुनसक्ने बाह्य लगानी प्रभाव पार्न सक्छन् ।

नेपालका अन्वेषण खण्डहरूसँग मेलखाने भौगर्भिक अवस्था भएका भारत र पाकिस्तानका सीमित क्षेत्रमा मात्र सफलता हासिल भएको, अधिकांश क्षेत्रको पेट्रोलियमको सम्भाव्यता सम्बन्धमा विस्तृत अध्ययन र अनुसन्धान जारी रहेको र नेपालमा हालसम्म प्रमाणित पेट्रोलियम भण्डार नभेटिएको अवस्थामा विश्वमा ख्यातिप्राप्त, स्थापित र पेट्रोलियम कार्यमा सफल इतिहास बोकेका अन्वेषण कम्पनीहरूलाई नेपालमा अन्वेषण कार्यको लागि आकर्षित गर्नु प्रमुख चुनौती रहेको छ ।

नेपालमा हालसम्म गरिएका अन्वेषणका कार्यहरू करिब २५ वर्ष अगाडिको प्रविधिमा आधारित छन् । यस अवधिमा विश्वले प्रविधिमा निकै लामो फड्को मारिसकेको छ । विश्वमा नवीनतम विधि तथा प्रविधिको उपयोग गरेर निकै सस्तो मूल्यमा पेट्रोलियम पदार्थको उत्पादन भइरहेको छ । त्यसैले नेपालमा पनि नयाँ प्रविधिको प्रयोग गरेर विस्तृत अन्वेषणको कार्य अगाडि बढाउन आवश्यक छ ।

साथै साधन स्रोतको आपूर्ति, परिचालन, सर्वसाधारणको दैनिक गुजारा, विकास र देशको सुरक्षादेखि हरेक कार्यमा पेट्रोलियम पदार्थ कतै न कतै जोडिएको छ । यस्तो महत्त्वपूर्ण मानिने पेट्रोलियम पदार्थमा नेपाल अझै पनि परनिर्भर छ । अहिले पेट्रोलियम पदार्थ उत्खननका लागि अनुसन्धान सुरु भएपनि  नेपालमै पेट्रोलियम उत्पादन गरी प्रयोग गर्न लामो समय पर्खिनु पर्ने देखिन्छ । त्यसैले दीर्घकालीन रूपमा देशमै पेट्रोलियम उत्खनन तथा प्रशोधन गर्ने नीति सरकारले लिनु जरुरी छ । 

  • प्रकाशित मिति : माघ २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया