लामो प्रयासपछि इजरायल र हमासबीच बहुप्रतिक्षित युद्धविराम गर्ने तथा बन्धक छाड्ने सहमति भएको छ । यससँगै १५ महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ ।
सम्झौताका लागि कतार र अमेरिकाले मध्यस्थता गरेका थिए । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले युद्धविराम आइतबारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरायली मन्त्रिपरिषदबाट यो स्वीकृत हुने तालिका रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरायली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकको रिहा समेटिएको जनाएका छन् ।
६ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरायली बन्धक छाडिनेछ । त्यसको साटो इजरायलले प्यालेस्टिनी बन्दीसमेत छाड्ने र केही क्षेत्रबाट इजरायली फौज फिर्ता हुनेछ ।
यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ता हुनेछन् । यस सम्झौताले प्यालेस्टिनीसम्म थप सहायता पुग्ने बाटो खोलिदिनेछ । भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरायल त्यस भू–भागबाट पूर्णरूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिनेछ ।
हमाससँग अझै ९४ जना बन्धक छन् । तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको बीबीसीले जनाएको छ । सम्झौताको खबर फैलिएसँगै गाजाभर हर्षोल्लास छाएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरायलमा गरेको अप्रत्याशित हमलामा १ हजार २ सय जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए । त्यसपछि हमासविरुद्ध इजरायलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७ हजारभन्दा बढी मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको दल लिकुड पार्टीकै सदस्यलगायत कतिपय वामपन्थी नेताहरू सङ्घर्षविरामको विपक्षमा उभिएका बेला पछिल्लो सम्झौता भएको हो ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताले बन्धकको रिहाइ, युद्धको अन्त्य, इजरायलको सुरक्षा र प्यालेस्टिनीका लागि मानवीय सहायतामा अभिवृद्धि गराउने बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।