logo-img

नेपालमा जाने भूकम्पले किन गर्छ ठूलो मानवीय क्षति ?

विगत २६ वर्षदेखि प्रत्येक २ माघमा सुरक्षा दिवस मनाइरहँदा यसको क्षति कम गर्ने विषयमा सोच्नुपर्ने बेला आएको छ । २०९० र २०७२ सालको भूकम्पबाट के स्पष्ट हुनुपर्छ भने हामी जोखिममुक्त हुन सकिरहेका छैनौँ । त्यसकारण जोखिम न्यूनीकरण गर्नको लागि अथवा क्षति कम गर्नका लागि चनाखो बन्नैपर्छ । भूकम्प नेपालमा केन्द्रविन्दु बनाएर आउँदा मात्र हल्लाउने होइन छिमेकी मुलुकतिर गयो भने पनि अथवा हाम्रो सिमानाभन्दा टाढा जाँदा पनि नेपालमा क्षति हुनसक्छ । हालै तिब्बत केन्द्रविन्दु भएर गएको भूकम्पले पनि त्यो पाठ पढाएको छ । यो सामान्य लागे पनि साधारणतया नेपालमा जाने भूकम्प टेक्टोनिक प्लेटको जुधाइको कारण अथवा दुईवटा टेक्टोनिक प्लेटहरू एकआपसमा ठोक्किँदा हिमालय क्षेत्रमा त्यसको सिर्जना हुने हो । हाल त्यही प्रक्रिया चलिरहेको छ । जुन प्रक्रिया अहिले पनि चलिरहेको छ । त्यही सिलसिलामध्ये हिमालयभन्दा उत्तरतर्फ इन्डियन प्लेट र युरोसिन प्लेटको जुधाइ अथवा इन्डियन प्लेटको मुनि युरोसिन प्लेट छिर्दा शक्ति सञ्चय हुन्छ ।

अर्को भनेको उत्तरतर्फ  रहेको युरोसिन प्लेटको आफ्नै गति हुन्छ त्यसले नेपालमा जाने भूकम्प र उत्तरतिर जाने भूकम्पको प्रकिया फरक हुन्छ । नेपालमा जाने प्रक्रिया एकआपसमा जुध्दाखेरी उत्तरतर्फ रहेको हिमालयको भाग ठूलो भूकम्प जाँदा त्यो दक्षिणतर्फ सर्छ भने तिब्बतमा गएको भूकम्प साधारण प्रकृतिको नै रहेको देखिन्छ । तिब्बतका भूकम्प साधारण प्रकृतिको नै हुन्छ । त्योविपरीत दिशामा हुनेखालको हुन्छ । हिमालयमा जाने भूकम्पभन्दा कमजोर पनि हुन्छन् । तिब्बततिर धेरै गहिराइमा पनि जाने हुन्छन् किनभने इन्डिएन प्लेट तिब्बततिर पुग्दा धेरै गहिराइमा जान्छ । नेपालमा भन्दा त्यसको गहिराइ तल हुन्छ । यसपटक चाहिँ दुर्भाग्यवश धेरै माथि केन्द्रविन्दु बनाएर आयो । जसले क्षति गरायो । 

नेपालमा भूकम्पको जोखिमको कुरा गर्दा हिमालयको मात्र गरेर हुँदैन । नेपालमा भूकम्प कति गएका छन् भनेर ऐतिहासिक तथ्यांक हेर्ने हो भने १२५५ इस्वी संबतमा गएको सबैभन्दा पुरानो तथ्यांक छ ।  जुन भूकम्पमा परी राजा अभय मल्लको समेत मृत्यु भएको थियो । त्यसभन्दा पछाडि वा अगाडिको भूकम्पका बारेमा जानकारी छैन ।  त्यसपछि ९० र ०४५ सालको पूर्वी नेपालमा भएको देखिन्छ । मध्य नेपालमा  भने सोह्राैँ र अठाराैँ शताब्दीमा अर्थात् १८९० मा गएको पाइन्छ । चौधौं शताब्दीमा पनि भूकम्प गएका छन् । त्यसपछि ०७२ सालमा मध्यम खालका भूकम्प गए । त्यस्तै, पश्चिमतिर करिब ५ सय वर्ष अगाडिको मुस्ताङ केन्द्रविन्दु बनाएर महाभूकम्प गएको देखिन्छ । यी सबै तथ्यांकले हामी भूकम्पीय जोखिममा अहिले मात्र होइन विगतदेखि नै रहेछौँ भन्ने देखाउँछ ।

भूकम्पसम्बन्धी जानकारी, भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न के गर्नुपर्छ भन्ने कुरा सिकाउनका लागि स्कुल तहदेखि नै अन्य पाठ्यक्रमसँगै भूकम्पको बारेमा पनि पढाउनुपर्छ । त्यसमा सबैभन्दा ठूलो कुरा भूकम्प गइसकेपछि कस्तो खालको व्यवहार गर्ने भन्ने कुरा सिकाउनको लागि र अभ्यास नियमितरूपमा गराउन सक्याैँ भने भूकम्प जाँदा आत्तिन पर्दैन होला र भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्छ भनेर पनि भन्न पर्दैन होला । 



भूकम्प जब हिमालय क्षेत्रमा बन्ने प्रकृया सुरु भयो त्यो चाहिँ ५ करोड पहिलेदेखिको प्रकृया हो । त्यही प्रक्रिया अहिले पनि चलिरहेको छ । यो अझै करोडौं वर्ष चल्छ ।  त्यसले गर्दा हामी सदैव नेपाल भूकम्पीय जोखिममा रहिरहन्छ । सचेतनाको कुरा गर्दा विश्वमा के भइरहेको छ भन्ने कुराहरू हेर्नुपर्छ । संसारको सबैभन्दा ठूलो भूकम्प चिलीमा १९६० मा गयो । ९.५ म्याग्निच्युडको भूकम्प थियो । त्यसपछि गोरखा केन्द्रविन्दु भएर भूकम्प गयो । मानवीय क्षति र थोरै भौतिक क्षति भएको देखिन्छ । त्यसैगरी गोरखा भूकम्पजस्तै न्युजिल्यान्डमा जाँदा दुईजना मानिसको मृत्यु भयो । तर, हाम्रोमा करिब ९ हजारको मानवीय क्षति भयो ।

नेपालमा गइरहेका भूकम्पले मानवीय र भौतिक क्षति पुर्याइरहेको छ । अहिलेसम्मको क्षतिको विवरण हेर्दा पूर्वतयारी पुगेको छैन । विशेषतः भूकम्पका लागि हामी कहिले पनि तयारी भएनौँ । परापूर्व कालदेखि जुन क्षति भइरहेको थियो त्यसबाट पाठ सिक्नुपर्ने हो । तर, हामी सचेत हुन सकेका छैनौँ । जोखिम न्यूनीकरणमा गरेका कामहरू कम भएको देखिन्छ । त्यस्तै गरेर ७२ सालको भूकम्पपछि चाहिँ जनता धेरै सूसुचित भइसकेका छन् । सबैलाई भूकम्प जान्छ त्यसबाट कसरी बच्ने भन्ने कुरामा छलफल भएको पाइन्छ । राज्यबाट नीति नियम धेरै बनिसकेको छ । हुन त भूकम्प जाँदाखेरी हामीले बनाएका संरचनाले नै क्षति गर्ने हो । 



क्षति कम गर्नका लागि भवन आचारसंहिता बनिसकेको अवस्था छ । तर, यति हुँदाहुँदै पनि जाजरकोट र बझाङमा भूकम्प जाँदा पनि सोचेको भन्दा धेरै ठूलो क्षति भयो । यी सबै कुरा हेर्दा ९० र ०७२ सालको भूकम्पपछि जनता सचेत त भएको देखिन्छ । तर, सीमित सहरी र सुगम क्षेत्रमा मात्र त्यो चेतना छ । जाजरकोट, रुकुम, बझाङजस्ता ठाउँमा पुग्नुपर्ने सूचना नपुगेको अनुभव हुन्छ । 

यसमा स्थानीय तह सबैभन्दा बढी जागरूक हुनुपर्छ । किनभने हामीले जति नियम कानुन बनाउँछौँ, त्यो जनताको दैलोसम्म पुर्‍याउने स्थानीय निकायले हो । त्यसकारण स्थानीय निकाय सक्रिय भएर काम गरे बढी प्रभावकारी हुन्छ । जनतामा भूकम्प आउन सक्छ, म जोखिममा छु भनेर थाहा पाउनुपर्छ र सुरक्षित हुनुपर्छ भन्ने ज्ञान आवश्यक छ । जबसम्म जानकारीबोध जनमानसमा हुँदैन तबसम्म जनता सुरक्षित हुँदैनन् । भूकम्पसम्बन्धी जानकारी, भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न के गर्नुपर्छ भन्ने कुरा सिकाउनका लागि स्कुल तहदेखि नै अन्य पाठ्यक्रमसँगै भूकम्पको बारेमा पनि पढाउनुपर्छ । त्यसमा सबैभन्दा ठूलो कुरा भूकम्प गइसकेपछि कस्तो खालको व्यवहार गर्ने भन्ने कुरा सिकाउनको लागि र अभ्यास नियमितरूपमा गराउन सक्याैँ भने भूकम्प जाँदा आत्तिन पर्दैन होला र भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्छ भनेर पनि भन्न पर्दैन होला । 



भूकम्प जाँदा के गर्नुपर्छ, के गर्नु पर्दैन भन्ने कुराहरू सूचनाका रूपमा आइ नै रहेका छन् । सरकारले कति गर्ने हो भन्ने कुरा हो । एउटा भवन आचारसंहिता बनाएर लागू भएको वर्षौँ भइसक्यो । गत वर्ष फेरि त्यसलाई सुधार गरेर लागू गरिएको छ । यो भनेको भूकम्पबाट हुने क्षतिलाई कम गर्नको लागि यसरी संरचना निर्माण गर्नुपर्छ है भन्ने कुरा त कानुनका रूपमा लागू भइ नै सक्यो । 

मानवीय क्षति मानवले निर्माण गरेका भौतिक संरचनाले नै गराउँछ । त्यसकारण सबैभन्दा पहिला हामीले बनाउने संरचना नै बलियो बनाउनुपर्छ तर त्यो बनाउनको लागि पनि अध्ययन अनुसन्धान देशभित्रै गर्‍यौं भने मात्र सम्भव हुन्छ । त्यस आधारमा संरचना बनाए मात्र जोखिम न्यूनीकरण गर्न सक्षम हुन्छौं । हामीले भूकम्पसम्बन्धी तथ्य सूचना जनतामा पुर्‍याउन सक्यौँ भने जनतालाई अस्वस्थ पार्न पनि सकिन्छ । यसो गर्न सके भविष्यमा हुने क्षति कम गर्न सक्छौँ ।

जोखिममा भएका घर र संरचना कुनै छन् भने त्यसलाई सबलीकरण गर्ने कुरामा सरकारले गर्न सक्ला भन्दैगर्दा देशको आर्थिक अवस्था हेर्ने हो भने त्यो सम्भव पनि नहोला ।  त्यसमा राज्यले गर्नपर्ने कुरा ७२ पछिको भूकम्पमा ऐन कानुन एवं प्राधिकरण नै बनिसकेको अवस्था छ । राहत वितरण, उद्धार कार्यमा सरकारले राम्रो काम गरेको कुरा देखेका छौ । तर, संरचना तुरुन्तै बनाइदिने र छाडिदिने गर्दा आवश्यक परेको बेला तुरुन्तै त्यसले काम गर्न नसक्ने अवस्था पनि देखिएको छ । सरकार र निजी क्षेत्रबाट पनि भूकम्पको क्षति न्यूनीकरण कार्य भूकम्प दिवस अथवा कुनै घटनाको सेरोफेरोलाई पारेर मात्र बढि सक्रिय हुने गरेको देखिन्छ । यो कुरालाई हटाउनुपर्छ र सरकारले अध्ययन, अनुसन्धानमा बढी ध्यान नदिएको जस्तो पनि देखिन्छ । 

त्यसबाहेक भइरहेका कुरा लागू गर्ने विषयमा पनि सरकारको कमजोरी भएको छ । हाम्रो देश यस्तो ठाउँमा छ, जहाँ भूकम्पीय शक्ति सञ्चित हुन्छ । त्यो भन्नुको अर्थ कुनै न कुनै समयमा यहाँ ठूलो भूकम्प जान्छ । लामो समयको लागि कुनै गतिविधि भएको छैन भन्दैमा जोखिम नभएको होइन । हामीसँग विभिन्न समयमा भूकम्प गएको धेरै इतिहास छन् । यी कुराहरू दोहोरिरहेका छन् । त्यसैले क्षति गर्ने नै हो भन्ने कुरा हामीले मनन् गर्नुपर्‍यो र भूकम्प जाँदा डराउने होइन त्यसको क्षति कम कसरी गर्ने भन्नेतर्फ सबैले ध्यान दिनुपर्छ । 

भूकम्प जाँदा के गर्ने, कसरी काम गर्ने भन्ने बारेमा अन्य ठाउँमा अध्ययन भइसकेको छ । प्राविधिक तयार भइसकेका छन् । ती प्रविधि हाम्रो देश अनुकूल प्रयोग गर्न सक्नुपर्छ । यही हिसाबले सबैले काम गरौं । भूकम्पले गर्ने क्षति भनेको दुई किसिमको हुन्छ । एउटा मानवीय र अर्को भौतिक क्षति हो । मानवीय क्षति मानवले निर्माण गरेका भौतिक संरचनाले नै गराउँछ । त्यसकारण सबैभन्दा पहिला हामीले बनाउने संरचना नै बलियो बनाउनुपर्छ तर त्यो बनाउनको लागि पनि अध्ययन अनुसन्धान देशभित्रै गर्‍यौं भने मात्र सम्भव हुन्छ । त्यस आधारमा संरचना बनाए मात्र जोखिम न्यूनीकरण गर्न सक्षम हुन्छौं । हामीले भूकम्पसम्बन्धी तथ्य सूचना जनतामा पुर्‍याउन सक्यौँ भने जनतालाई अस्वस्थ पार्न पनि सकिन्छ । यसो गर्न सके भविष्यमा हुने क्षति कम गर्न सक्छौँ । ९० सालको भूकम्पको नाम नै ‘बिहार–नेपाल’ छ किनभने त्यो बेला नेपाल र भारतमा केन्द्रविन्दु पत्ता लगाउन सक्ने व्यवस्था थिएन । त्यसमध्ये भूकम्पले करिब १६ हजार मानिसको ज्यान लियो । त्यसमध्ये ८ हजार बिहारमा मृत्यु भएको मानिसको संख्या थियो ।

नेपालको विभिन्न ठाउँ गरेर ८ हजार मानिसको मृत्यु भएको थियो भने भारतको एउटै ठाउँमा बिहारमा ८ हजारको मृत्यु हुँदा ९० सालको भूकम्पलाई नेपाल बिहार भूकम्प भनेर नाम दिइएको हो । हाम्रो भौगोलिक अवस्थाको कारण महाभूकम्प उत्तरी क्षेत्र हिमालयको मुनि केन्द्रविन्दु जान्छन् । तर, त्यो पहाडको चट्टान कता सर्छभन्दा दक्षिणतर्फ चुरेसम्म सर्छ । महाभूकम्प आफैंमा ठूलो भयो र चुरेसम्म पुगेर जमिन चिरा पार्दा सबैभन्दा बढी खतरा र क्षति बढी हुन्छ । नेपालमा हुने महाभूकम्पको क्षति सबैभन्दा बढी पहाडमा हुन्छ ।

(खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. अधिकारीसँग प्रमिला कार्कीले गरेको कुराकानीमा आधारित ।)

  • प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया