जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो ।
आर्मीलाई उपाधि जित्ने सुनौलो मौका थियो । तर, ऊ फाइनल खेलको दोस्रो इनिङमा ७४ रनमै अलआउट भयो ।
आर्मीका लागि यस इनिङमा इमरान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले ११/११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
आर्मीलाई ७४ रनमै अलआउट गर्नेक्रममा पुलिस क्लबका स्पिनर सागर ढकालले १४.२ ओभरमा ३५ रन दिएर ६ विकेट लिए ।
यस्तै, अर्का स्पिनर ललितनारायण राजवंशीले १५ ओभरमा ३९ रन दिएर ४ विकेट हात पारे । पहिलो इनिङमा आर्मी १७० रनमा अलआउट भएको थियो ।
उसका लागि भीम सार्कीले ५८, बसिर अहमदले ४०, सोमपाल कामीले ३२, विनोद भण्डारीले १४ र इमरान शेखले १० रन बनाए । पुलिसका लागि सागर ढकालले पाँच, कुशल भुर्तेलले तीन तथा गुलशन झा र ललित राजवंशीले एक/एक विकेट लिए ।
वीरगञ्जस्थित नारायणी क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको मौका पाएको पुलिसले पहिलो इनिङ १३३/९ को अवस्थामा समाप्तिको घोषणा गर्यो । उसका लागि कुशल भुर्तेलले ५१, अर्जुन साउदले २८, अमित श्रेष्ठले २० र राशिद खानले १० रन बनाए ।
आर्मीका लागि साहब आलमले १२.४ ओभरमा ३७ रन दिएर सात विकेट लिए । यस्तै, सोमपाल कामी र बसिर अमदले एक/एक विकेट लिए ।
दोस्रो पारीमा पुलिस १३९ रनमा अलआउट भयो । उसका लागि कुशल भुर्तेलले ४५, दिलिप नाथले ३४, राशिद खानले १८ र अमित श्रेष्ठले १३ रन जोडे । आर्मीका लागि साहब आलम र बसिर अहमदले पाँच/पाँच विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।