नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या रहेको बताएका छन् । उनले बिहीबार आफ्नै निवास बूढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा ब्रिफिङ गरेका हुन् ।
त्यसक्रममा उनले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको बताएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
उनले भने, ‘सभापतिको भनाई यही हो । एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने हो । मुलुकमा सुशासन र मुलुकमा आर्थिक समृद्धि गर्ने हो यसै विषयमा केन्द्रित भएर तपाईँहरू काम गर्नुस् । हामी दुई दलबीचमा कुनै समस्या छैन भन्ने नै आजको निष्कर्ष हो ।’
उनले बैठकमा मन्त्रीहरूसँग सेवा प्रवाहको कुरामा नागरिकलाई बढी भन्दा बढी सेवा राम्रो ढंगले प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि गर्ने सुशासन कायम गर्ने कुरामा केन्द्रित रहेर काम गर्ने कुरामा छलफल भएको बताए ।
उनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको घटना दुःखद भएको भन्दै घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने पनि बताए ।
‘यो देशमा लोकतन्त्र छ । व्यावसायिक स्वतन्त्र छ । मानिसले आफ्नो व्यवसाय गर्न पाउँछ । त्यसमा बाधा व्यवधान गर्ने र अराजकता गर्ने कानुन विपरीत काम गर्ने जो सुकैलाई पनि दण्डित हुन्छ । जुन दिनेश त्रिपाठीमाथि घटना भएको छ यो अत्यन्तै निन्दनीय र गलत काम भएको छ । यस्तो अराजकता गर्ने जुनसुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।