अर्बपति जेफ बेजोसले स्थापना गरेको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले बिहीबार पहिलोपटक आफ्नो विशाल न्यू ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
अमेरिकी राज्य फ्लोरिडास्थित ‘केप क्यानाभेरल स्पेस फोर्स बेस’ बाट स्थानीय समयअनुसार बिहान २ः०३ बजे रकेट प्रक्षेपण गरिएको हो ।
यो मिसनलाई ब्लु ओरिजिनले एलन मस्कको व्यावसायिक अन्तरिक्ष उद्योगमा हाबी स्पेसएक्ससँग प्रतिस्पर्धा गर्ने प्रयासको लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
‘लिफ्ट अफ ! न्यू ग्लेनले आफ्नो पहिलो आरोहण ताराहरूतर्फ सुरु गर्दैछ,’ ब्लू ओरिजिनले एक्समा एक सन्देश जारी गरी उल्लेख गरेको छ ।
न्यू ग्लेन इन्जिनबाट छुट्टिएर दोस्रो चरणमा प्रवेश गरिसकेको छ र अहिले न्यू ग्लेनको दोस्रो इन्जिन र पेलोड अब कक्षमा पुगेका छन् ।
प्रसिद्ध अमेरिकी अन्तरिक्ष यात्री जोन ग्लेनको सम्मानमा न्यु ग्लेन नाम दिइएको ३२० फिट (९८ मिटर) अग्लो रकेटको प्रारम्भिक परीक्षण सोमबार बिहान गरिने तयारी भएपनि प्रक्षेपणको तयारीको अन्तिम क्षणमा पटक–पटक रोकिएपछि प्रक्षेपण मिसनलाई स्थगित गरिएको थियो ।
अमेजनका संस्थापक बेजोसले विश्वको एक मात्र आफूभन्दा धनी व्यक्ति एलन मस्कसँगको प्रतिस्पर्धालाई न्यु ग्लेन–१ (एनजी–१) को सफलतासँग हेरेको अन्तरीक्षबारे जानकार विश्लेषकहरूले बताउने गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।