प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनिले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’को आधुनिक रुप ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको स्पष्ट गरे ।
उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको जनाए ।
प्रधानमन्त्री ओलीले विश्वको यस भू–भाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनुअगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराए ।
‘हामी उठ्न नसक्ने कुनै कारण छैन । हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘चीनले त्यत्रो जनसङ्ख्यालाई छोटो समयमा गरिबीको रेखामुनिबाट उठायो । हामीले पनि हाम्रो देश आफैं बनाउन लाग्नुपर्छ । लागेपछि नेपाल बन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।