logo-img

राष्ट्रिय सङ्ग्रहालय : भएन प्रचार, गरिएन आधुनिकीकरण

विश्वका समृद्ध देशहरू घुम्न जाने पर्यटकहरूलाई सङ्ग्रहालय अनिवार्य रूपमा भ्रमण गराउने प्रचलन छ । वास्तवमा सङ्ग्रहालय एउटा ज्ञानको केन्द्र पनि भएकाले विद्यार्थी वा अनुसन्धानकर्ताहरूका त्यस्ता ठाउँको भ्रमण गर्नु अनिवार्य मान्ने गर्छन् ।

नेपालको सबैभन्दा जेठो छाउनी सङ्ग्रहालय अर्थात् ‘राष्ट्रिय सङ्ग्रहालय’ वर्षौँ पुरानो मानव जीवनशैली वा मानव सभ्यता संग्रहित गरिएको एक ऐतिहासिक केन्द्र हो । यसलाई समयसापेक्ष रूपमा परिवर्तन गर्नुपर्ने आवाजहरू उठ्न थालेको छ ।

ऐतिहासिक घटनाको साक्षीको रूपमा रहेको सङ्ग्रहालयलाई आधुनिकीकरण गर्नुपर्ने माग उठ्न पनि थालेको छ । यसका लागि सरकारले प्राथमिकताका साथ योजना र बजेटको व्यवस्थापन गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । 



मानव सभ्यताको ढुंगेयुगदेखि संस्कृतिका बारेमा बुझ्नका लागि उपयुक्त मानिएको यो सङ्ग्रहालय नव जीवनको पर्खाइमा छ । प्राचीन हातहतियार, वस्त्र, सिक्का तथा प्राचीन राजाका उपहारहरू अवलोकन गर्न सकिने यहाँ जुद्ध कारीगरी कलाशाला, बुद्ध कारीगरी कलाशाला र मुख्य भवन (ऐतिहासिक सङ्ग्रहालय भवन) गरी तीन वटा भवन रहेका छन् । 

१९२८ सालमा हतियार सङ्ग्रहालयका रूपमा प्रधानमन्त्री भीमसेन थापाद्वारा आफ्नो निवासमा स्थापना गरिएको राष्ट्रिय सङ्ग्रहालय १९३८ सम्म सर्वसाधारणहरूको पहुँचमा नभए पनि हिजोआज सबैका लागि खुला छ । 



१९३८ सालको डिसेम्बर महिनामा सर्वसाधारणहरूको लागि खुल्ला गरिएको सङ्ग्रहालयलाई छाउनी सिलखाना र नेपाल सङ्ग्रहालय भनेर नामकरण गरिएको थियो । सन् १९४२ मा प्रधानमन्त्री जुद्दशमशेरले नेपाल सङ्ग्रहालयमा कलाको लागि एउटा भवनको निर्माण गरे । त्यो भवनको नाम जुद्ध जातीय कलाशाला राखे । सन् १९६७ सालमा नेपाल सङ्ग्रहालयलाई नेपाल राष्ट्रिय सङ्ग्रहालय भनेर नामकरण गरियो ।



राष्ट्रिय सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठले सङ्ग्रहालय मानव शास्त्र, कला वस्तु, चित्रहरू र पुराना हतियार सबैलाई संरक्षित गरेर राखिएको भन्दै अन्य सङ्ग्रहालयभन्दा फरक रहेको बताउँछन् । 

उनी भन्छन्, ‘अन्य सङ्ग्रहालयभन्दा राष्ट्रिय सङ्ग्रहालय फरक किन छ भने मानव शास्त्र, कला वस्तु, चित्रहरू, पहिलाको समयमा नेपाल कुन अवस्थामा थियो र कस्तो हतियार प्रयोग गर्ने गरेका थिए ती सबैलाई संरक्षित गरेर राखिएको छ । सङ्ग्रहालयले नेपाली समाज, नेपालीको तत्कालीन समयको अवस्था र विगतदेखि अहिलेसम्मको सभ्यता पनि हेर्न वा अवलोकन गर्न सकिन्छ ।’

यस्तै, उनले मानवको सुरुवात भएको समय जंगली युग अथवा ढुंगे युगमा कस्तो खालको समाज थियो, हतियार थियो भन्नेदेखि हाल जति मानव समाजको विकास भएका छन् त्यसलाई नियाल्न सक्ने सामाग्रीहरू सङ्ग्रहालयमा रहेको पनि बताए । 

ढुंगे युगमा प्रयोग गरेका विभिन्न ढुङ्गाका हतियारहरू नेपालको विभिन्न ठाउँबाट उत्खनन गरेर यहाँ राखेको पनि उनको भनाइ छ । उनले समग्रमा सङ्ग्रहालयको स्तर अलिकति उकास्नु पर्ने बताए । हाल सरकारले विनियोजन गरेको बजेट अपुग रहेको उनले सुनाए । सङ्ग्रहालयलाई अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्नुपर्ने र प्रदर्शनी कक्ष परम्परागतबाट सुधार गरेर नयाँ प्रविधिहरू राख्नुपर्ने पनि उनको भनाई छ । 

उनी भन्छन्, ‘अहिले सङ्ग्रहालयको अवस्था राम्रो नै छ तर यसलाई अझ राम्रो बनाउनको लागि यसलाई अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्नुपर्छ । प्रदर्शनी कक्ष परम्परागत खालको छ । सङ्ग्रहालयमा हालको नयाँ प्रविधिहरू राख्नु पर्नेछ । समग्रमा सङ्ग्रहालयको स्तर अलिकति उकास्नु पर्नेछ । यसको लागि बजेटको लागि पुरातत्त्व विभागमार्फत संस्कृति मन्त्रालयमा योजनासहित जानकारी गराएका छौँ । अहिले राखेको बजेट अलिकति अपुगजस्तै छ ।’

उनले सङ्ग्रहालय र आगन्तुकहरूसँग टिकटको रकम भनेको राजश्व उठाउने भन्दा पनि नेपाली सभ्यतालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रयासका रूपमा रहेको बताए । उनले भने, ‘सङ्ग्रहालय र आगन्तुकहरूसँग टिकटको पैसा उठाउने भनेको राजस्व बढाउने भन्दा पनि कला संस्कृति र सभ्यतालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने भएको कारणले गर्दा टिकटको पैसा निकै कम छ । विद्यार्थीहरूको लागि १०, नेपालीहरूको लागि २५ विदेशीहरूको लागि सय रुपैयाँ छ ।’ 

सङ्ग्रहालय घुम्न आउनेहरूको सङ्ख्या जति हुनुपर्ने हो त्यो नभएको पनि कर्मचारीहरूको भनाइछ । योभन्दा पहिला वर्ष ७० देखि ८० हजार आगन्तुकहरू आएका थिए भने यो वर्ष एक लाख आगन्तुकहरू लक्ष्य राखेका र त्यो पूरा हुने आशा गरेको पनि उनले उल्लेख गरे । 

यसको साथै, उनले सङ्ग्रहालयमा एक दिनमा बढीमा २५ सय र कम्तीमा तीन चार सय मानिस आउने गरेको र त्यसमा नेपालीमा विद्यार्थीहरू एवम् विदेशीको हकमा चिनियाँ पर्यटकहरूको सङ्ख्या बढी रहेको उनले जानकारी दिए । नेपाल न्युज बैंक  

  • प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया