logo-img

समाजवादी मोर्चाको आन्दोलनले के सरकार ढल्न सक्छ ?
समाजवादी मोर्चा पुनः सक्रिय, बन्न सक्छ सत्ताखेल

लामो समयपछि बुधबार समाजवादी मोर्चाको बैठक बस्यो । झण्डै ६ महिनापछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाले आफ्नै गम्भीर समीक्षा  गर्ने, सरकारविरुद्ध थप सशक्त भएर जाने लगायतका निर्णय गर्‍यो ।

त्यस्तै, मोर्चाले यही माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । सरकारका काम–कारबाहीप्रति तीव्र असन्तुष्टि जनाउँदै मोर्चाले राजधानीमै कार्यक्रम गर्न लागेको हो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलगायत सहभागी थिए । अहिले यी सबै नेताहरू तिनले नेतृत्व गरिरहेका पार्टीले सरकारसँग चरम असन्तुष्टि जनाइरहेका छन् । 

बैठक पश्चात् नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले छलफलबारे जानकारी दिँदै भनेका थिए, ‘बैठकमा समाजवादी मोर्चाले गम्भीर समीक्षा गरेको छ । आगामी माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट भव्य कार्यक्रम गरौँ भन्ने हामीले निर्णय गरेका छौँ ।  अब त्यो  कार्यक्रम सम्पन्न भयो  भने जति प्रश्न छन्  त्यसको यो कार्यक्रमले उत्तर दिने छ । र सकारात्मक सन्देश समेत दिने छ ।’ उनको भनाई अनुसार पछि यसले सरकार विरुद्ध आन्दोलनको रुप पनि लिन सक्छ ।



उसो त, यसअघि कांग्रेस नेतृत्वको गठबन्धनमा हुँदा प्रचण्डले आफ्नो सरकार टिकाउने अस्त्रका रूपमा यी चार दललाई समेटेर मोर्चाको ‘प्रयोग’ गरेका थिए । अहिले सरकार बाहिर रहँदा पनि प्रचण्डले नै मोर्चालाई पुनः सक्रिय बनाउन जोडबल गरिरहेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैढल्दैन भन्दै हिँडिरहेका बेला प्रचण्डको यो सक्रियतालाई महत्त्वपूर्ण रूपमा हेर्न सकिन्छ । 

हालै राष्ट्रपतिबाट अध्यादेश जारी भइसकेपछि गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले मजबुत सरकार नढल्ने दाबी गरेका थिए । उनले भनेका थिए, ‘सरकार टिकाउने मात्र हाम्रो काम होइन, टिक्न त टिकिहाल्छन् नि यत्रो मजबुत सरकार ! तर यसलाई सफल बनाउनु छ, काम गरेर ।’ कांग्रेस–एमाले सरकारप्रति आधा वर्षमै विपक्षी दलहरूले आक्रामक हुने सङ्केत गरिरहँदा ओलीले कयौँ पटक सरकार ढल्नै नसक्ने प्रष्टोक्ति दिइसकेका छन् । 



आजै सत्ता सहयात्री कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका मन्त्रीलाई बूढानीलकण्ठ बोलाएर छलफल गरेका छन् । उक्त छलफलपछि देउवाले पनि कांग्रेस–एमाले सरकार सञ्चालनमा कुनै अप्ठ्यारो नरहेको दाबी गरे । यसरी संसदका दुई ठूला दल मिलेर बनेको सरकारका प्रधानमन्त्री र शीर्ष नेताले पटकपटक सरकार दरिलो छ भनिराख्नु आफैँमा कमजोर हुँदै गएको बताउने हरू पनि धेरै छन् । 

सत्तामा रहेकाले सरकार मजबुत छ भन्नु र विपक्षीले त्यसका विरुद्ध गतिविधि गर्नुले सत्ताखेल र कुर्सी फेरबदलको आशंका उब्जिएको छ । मोर्चाले तय गरेको कार्यक्रमबाट यी विपक्षीहरूले सरकारविरुद्ध खरो उत्रने रणनीति बनाए सरकार थप धर्मराउने देखिन्छ । 



  • प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया