नेपाललाई टेस्ट राष्ट्रको मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नसक्ने प्रतियोगिता ठानिएको जय ट्रफी एलिट कप २०२५ को उपाधि नेपाल पुलिस क्लबले जित्यो ।
बिहीबार सम्पन्न फाइनल खेलमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो । लामो समयपछि रेडबल क्रिकेट खेल्न पाएकोमा खेलाडी उत्साहित थिए ।
प्रतियोगितामा कुल ७ खेल भए, जहाँ ब्याटरभन्दा बढी बलर हाबी देखिए ।
४ खेलमै ३३ विकेट !
जय ट्रफीमा बायाँहाते स्पिनर साहब आलमले जादुमयी प्रदर्शन गरे । त्रिभुवन आर्मी क्लबलाई फाइनलसम्म पुर्याउन उनी ‘नायक’ साबित भए । साहबले ४ खेलमा २.८८ को इकोनमीमा सर्वाधिक ३३ विकेट हात पारे । उनी ८ मध्ये एक इनिङमा मात्र विकेटविहीन बने ।
साहबले कीर्तिमानी बलिङ गर्दै जय ट्रफीमा डेब्यू गरेका थिए । पुलिस क्लबविरुद्ध उनले पहिलो इनिङमा ५९ रन दिएर ८ विकेट लिए । जय ट्रफीमा कुनै पनि बलरले गरेको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।
यस्तै, साहबले त्यस खेलको दोस्रो इनिङमा ३२ रन दिएर २ विकेट लिए । बागमतीविरुद्धको खेलमा भने उनले दुई इनिङमा २ विकेट मात्र हात पारे । तेस्रो खेलमा साहबले सानदार कमब्याक गरे ।
मधेश प्रदेशविरुद्धको त्यस खेलमा उनले दुवै इनिङ गरी ९ विकेट लिए । साहबले फाइनलमा पनि लय जारी राखे । पुलिसविरुद्धको उपाधि भिडन्तमा उनले पहिलो इनिङमा ३७ रन दिएर सात तथा दोस्रो पारीमा २५ ओभरमा ७५ रन दिएर ५ विकेट लिए ।
प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका साहब ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । जय ट्रफीमा गरेको प्रदर्शनका कारण उनले राष्ट्रिय टिममा कमब्याक गर्ने सम्भावना बढेको छ ।
विशेषगरी साहबले ओडिआई टिममा पुनरागमन गर्न सक्छन् । टी–२० आईमा डेब्यू गरिसकेका उनले ओडिआईमा भने मौका पाएका छैनन् ।
ललितको लय जारी
अर्का बायाँहाते स्पिनर ललितनारायण राजवंशीले पनि जय ट्रफीमा उत्कृष्ट प्रदर्शन गरे । उनले ४ खेलमा २.८५ को इकोनमीमा २४ विकेट लिए । प्रतियोगितामा ललितको उत्कृष्ट बलिङ ४७ रन दिएर ७ विकेट लिनु हो ।
ललित पछिल्लो समय सानदार लयमा छन् । गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो । जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन ललितको भूमिका अहम् रह्यो ।
एनपिएलमा ललितले १० खेलमा ५.३२ को उत्कृष्ट इकोनमीमा १७ विकेट लिए । उनी सर्वाधिक विकेट लिने सूचीमा संयुक्तरूपमा दोस्रो स्थानमा रहे ।
दुई बलरको ह्याट्रिक
जय ट्रफीमा दुई बलरले ह्याट्रिक विकेट लिए । ह्याट्रिक लिने बलर हुन्, आर्मी क्लबका श्रवन यादव र पुलिसका कुशल भुर्तेल । श्रवनले लिग चरणमा बागमतीविरुद्ध तथा कुशलले फाइनलमा आर्मीविरुद्ध ह्याट्रिक विकेट लिएका हुन् ।
कुशलले फाइनल खेलमा आर्मीको पहिलो इनिङको ३७औँ ओभरको अन्तिम र ३९औँ ओभरको सुरुआती २ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले विवेक यादव, सुमित श्रेष्ठ र साहब आलमलाई आउट गर्दै यो उपलब्धि हासिल गरे ।
यस्तै, लिग चरणमा आर्मीमा आबद्ध तीव्र गतिका बलर श्रवन यादवले बागमतीविरुद्ध ह्याट्रिक लिएका थिए । उनले पहिलो इनिङको २७औँ ओभरमा प्रतीक श्रेष्ठ, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेलाई आउट गर्दै ह्याट्रिक पूरा थिए । श्रवन जय ट्रफीमा ह्याट्रिक विकेट लिने पहिलो बलर हुन् ।
जय ट्रफीमा सर्वाधिक विकेट लिने सूचीको तेस्रोमा स्थानमा संयुक्तरूपमा पुलिसमा आबद्ध कुशल भुर्तेल र बागमतीका कप्तान सन्दीप लामिछाने रहे । यी दुवै खेलाडीले समान १८ विकेट लिए ।
ब्याटिङमा मयन उत्कृष्ट
जय ट्रफीमा ब्याटिङतर्फ मधेश प्रदेशबाट प्रतियोगिता खेलेका मयन यादवले उत्कृष्ट प्रदर्शन गरे । उनले तीन खेलमा एक शतक र एक अर्धशतकको सहयोगमा सर्वाधिक २ सय ६८ रन बनाए ।
जय ट्रफीको यस संस्करणमा मयन शतक हिर्काउने एक्लो ब्याटर बने । यस्तै, दोस्रो स्थानमा रहेका पुलिसका अमित श्रेष्ठले ४ खेलमा २५७ तथा कुशल भुर्तेलले २ सय ४ रन बनाए ।
यसरी हेर्दा यस सिजनको जय ट्रफीमा तीन ब्याटरले मात्र २ सय प्लसको स्कोर बनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।