logo-img

किमाथांका र मुगु-कर्णाली आयोजनाको टेण्डर रद्द, ऊर्जामन्त्री खड्कालाई धक्का
फाइल तस्बिर

किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको टेण्डर रद्द भएको छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेडले साढे ५ खर्ब लागतका २ जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने भनेर गरेको टेण्डर रद्द भएको हो । 

बिहीबार बसेको विद्युत् उत्पादन कम्पनी लिमिटेडको सञ्चालक समितिले उक्त प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । सरकारले किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा निर्माणका लागि लगानी जुटाउन गत २३ मंसिरमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर वित्तीय लगानी आह्वान गरेको थियो । 

उक्त प्रस्तावमा ६ वटा कम्पनीले आवेदन दिएका थिए । किमाथांका अरुणमा बेला नेपाल इन्डस्ट्रिज प्रालि, भिजन इनर्जी एन्ड पावर प्रालि, एन जे हाइड्रो इनर्जी प्रालि, नोबल ग्रुप अफ हाइड्रो इनर्जी प्रालि, अनेक हाइड्रोपावर कम्पनी लिमिटेडले आवेदन दिएका थिए भने मुगु कर्णालीमा सिजी इनर्गो प्रालिको आवेदन परेको थियो । 

सिजी इनर्गो प्रतिनिधिसभा सदस्यसमेत रहेका अर्बपति व्यवसायी विनोद चौधरीको हो । चौतर्फी विरोधपछि अहिले योग्य लगानीकर्ता नआएपछि प्रस्ताव रद्द गरिएको जनाइएको छ । 



किमाथांका अरुण अर्धजलाशय आयोजनाको विद्युत् उत्पादन क्षमता ४ सय ५४ मेगावट रहेको र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता १९ सय २ मेगावाट रहेको छ ।  

यी २ आयोजना बनाउन ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको हो । तर, यी आयोजना निर्माणका लागि ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लगानी जुटाउने बहानामा कौडीको मूल्यमा व्यापारीलाई सुम्पनेगरी टेण्डर आह्वान भएको भन्दै चौतर्फी विरोध भएको थियो ।  





  • प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया