logo-img

गाउँघरमा उत्पादन, देश-विदेश व्यापार

धरान–१५ की मनिता घिमिरे सात वर्षदेखि तीतेपाती, नीम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालन गर्दै आएकी छन् । उनले उत्पादन गरेको साबुन मेला, महोत्सव, प्रदर्शनीलगायत अन्यत्र बिक्री हुने गर्दछ । नेपालमा मात्र नभएर विदेशका धेरै ठाउँहरूबाट ‘अनलाइन’बाट माग गर्ने ग्राहक धेरै भएको उनी बताउँछिन् ।

केही वर्षअघि काठमाडौंको ठमेलमा एकजना विदेशीबाट साबुन बनाउने तालिम लिएर त्यहाँबाट सिकेको सीपको उपयोग गर्दै उनले उद्योग सञ्चालन गरेकी हुन् । उनले सात वर्षदेखि धरान–१५ स्थित आफ्नै घरमा साबुन उद्योग सञ्चालन गरिरहेकी हुन् । २५–३० हजार रुपैयाँको लगानीमा सुरु गरिएको व्यापार अहिले राम्रो आम्दानीको स्रोत बनेको छ । नेपालमै सिकेको सीपलाई उपयोग गर्न सकियो भने थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । 

उनले आफूमा रहेको सीपलाई विस्तार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा आयोजित तालिमहरूमा महिलालाई प्रशिक्षित गराएकी छन् । उनले इटहरी, उदयपुर, धनकुटालगायत ठाउँहरूमा तालिमहरू दिइसकेका छन् । महिलाहरूले फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्न सक्ने उनी बताउँछिन् । भन्छिन्, ‘गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन बनाउन सकिन्छ, यसबाट उपभोक्तादेखि मुलुकलाई नै फाइदा हुन्छ ।’ 

सानो लगानीबाट गर्न सकिने यस्ता व्यवसायका लागि स्थानीय सरकार र स्थानीय तहमा वडा कार्यालयले पनि विपन्नलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनको सुझाव छ । पछिल्लो समय जलवायु अनुकूलको दृष्टिले पनि रैथाने बालीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । अहिले धरानमा सञ्चालन गरिएको एक्स्पोमा पनि उनले बनाएको साबुन किन्नेको घुइँचो देख्न सकिन्छ । मेलामा राखिएका रैथाने उत्पादनहरूप्रति उपभोक्ताहरूको आकर्षण बढेको छ । 



किबीको व्यावसायिक खेती

पाँचथरका जुनु लावती २०६८ सालदेखि किबीखेती गर्दै आएकी छन् । उनले सनम फलफूल उत्पादन तथा प्रशोधन उद्योग फार्म सञ्चालन गर्दै आएकी छन् । परम्परागत निर्वाहमुखी खेतीभन्दा व्यावसायिकखेती गरी आम्दानीसँग जोडिने नगदेबालीका रुपमा किबीखेती उपयुक्त लागेकोले २०६८ सालदेखि यसको खेती सुरु गरेको उनले बताइन् ।



उनले यसमा कृषि फर्म, नर्सरी र प्रशोधन केन्द्र स्थापनामा झण्डै एक करोड रुपैयाँ बराबरको लगानी गरिसकेकी छन् । उनले अहिले ४५ रोपनी क्षेत्रफलमा किबीखेती गरिरहेकी छन् भने भाडामा जग्गा लिएर १५ रोपनी क्षेत्रफलमा नर्सरी उत्पादन गरेकी छन् । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन, मिहेनत गरेमा कृषि पेसामै आत्मनिर्भर हुन सकिने उनको भनाइ छ । उनी भन्छिन्, ‘कृषिमा लागेर पनि सफल व्यवसायी बन्न सकिने रहेछ ।’ 

उनी धरान एक्स्पोमा किबीको व्यापार गर्दै आएकी छन् । किबी र किबीबाट उत्पादन गरिएका जुसको व्यापार अत्यधिक मात्रामा बिक्री भइरहेको छ । लावतीले अहिले एक्स्पोमा किबी फलबाट उत्पादन गरिएको किबीको जुस, अचारलगायत किबीबाट उत्पादन गरिएको विभिन्न वस्तुहरु बिक्रीका लागि राखिएको छ । सूचना प्रविधिको पहुँचबाट टाढा रहेका कारण आफूले अनलाइनको माध्यमबाट बजारीकरण गर्न नसकेका कारण विभिन्न जिल्लामा आयोजित एक्स्पो मेला, महोत्सवलगायत ठाउँहरूमा पुगेर आफ्ना उत्पादनहरु बिक्रीका लागि लैजाने गरेको उनले भनिन् ।  



यस्ता मेला, महोत्सवहरूमा दैनिक ८० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुने गरको उनको भनाइ छ । उनी भन्छिन्, ‘दुर्गम ठाउँहरुमा उत्पादन गरिएका कृषि रैथाने बाली पर्याप्त पौष्टिक तत्वले भरिपूर्ण हुने र स्वास्थ्यका लागि फाइदाजनक हुने हुँदा बिस्तारै उपभोक्ताहरूको आकर्षण बढ्दो छ । अझै यसबारे प्रचारप्रसार र आम सर्वसाधारणमा जानकार र चेतना पुर्याउन सकिएमा बजारको समस्या हुने थिएन ।’ 

लावतीले भनिन्, ‘किबी उत्पादन भए पनि बजारको समस्या छ । किसानले उत्पादन गरेको वस्तुहरु सरकारले उचित मूल्यमा खरिद गरी बजारीकरण गरिदिए किसानलाई सहज हुनेछ । किसानहरुले उत्पादन गरेका वस्तुहरु बिक्री हुने कुरा सुनिश्चित गर्न सकिए नेपालमै स्वरोजगार सिर्जना गर्न सकिन्छ ।’ 

उनले किबी खेतीबाहेक नर्सरीबाट पनि राम्रै आम्दानी गरेकी छन् । उनको नर्सरीबाट उत्पादन गरिएका विभिन्न जातका बिरुवाहरु पाँचथर, सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा मात्र होइन, भारतका विभिन्न सहरहरुमा समेत बिक्री हुने गरेको छ । 

सक्खरको गुलियो व्यापार

विगत २० वर्षदेखि सख्खरको व्यापारमा रमाई रहेका सङ्खुवासभाका दिलीप मगरलाई पनि यस पटकको  धरान एक्स्पो निकै फाइदाजनक बन्यो । उनी सक्खरको व्यापारबाट राम्रै आम्दानी भएको बताउँछन् ।  लामो समयसम्म सँगुरपालन र दानाखेती गर्दै आएका उनी २० वर्षदेखि सक्खरको व्यापारमा लागेको छ । अहिले डिएलएमएस बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म खोलेर सक्खरबाहेक अम्रिसोको कुच्चो, निबुवाको चुक साथै अन्य अग्र्यानिक कृषि उत्पादनको व्यापार पनि गर्ने गर्छन् ।

सक्खरको व्यापार मौसमी पेसा भएकाले वर्षमा नौ महिना मात्रै यसको व्यापार हुने गरेको गर्दछ । नौ महिनामा मात्र उनले पाँच हजार केजीभन्दा बढी सक्खर बनाएर बिक्री गरेको र यसबाट १२ लाखसम्म आम्दानी भएको उनको भनाइ छ । सक्खर बनाउनका लागि मात्र उनले अहिले ९५ रोपनी जग्गामा उखुखेती गर्दै आएका छन् । उनी भन्छन्, ‘सक्खर बनाउनका लागि उखु बाहिरबाट खरिद गर्नु पर्दैन, आफैँले खेती गरेको कारण निकै सहज भएको छ ।’ 

  • प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया