प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठूला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँहरू आफैँ बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताएका हुन् । सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको छ ।
‘हामीसँग आठ वटा औद्योगिक क्षेत्रहरू छन् । फलाम खानी र मल कारखाना खोल्दै छौँ । दैलेखमा ग्याँस उत्पादन हुँदै छ । ध्वस्त भएको उद्योगहरूले पुनः जीवन पाउँदै छन् । ती सबैमा ऊर्जाका खपत हुनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘ग्रीन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ । यस क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ । देशलाई आधुनिकीकरण र विकास गर्दै अँध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरूको योगदानको उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु । तपाईँहरू लगानी गर्नुस्, लगानी खोज्दै अरूलाई खोला दिइरहनु पर्दैन ।’
प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्त्व दिइएको जनाउँदै व्यवस्था बदलिँदो अवस्था बदलिएन भन्नेहरूलाई उत्पादकहरूले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गरे ।
राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको स्पष्ट गर्दै आगामी १५ दिनपछि हुने संसदको अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने जनाए ।
प्रधानमन्त्री ओलीले आयातित फोसिल फ्युलको कम प्रयोग गर्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गरे । ओलीले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले देशलाई आधुनिकीकरण र विकासको बाटोमा अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
‘इप्पानले अँध्यारोबाट उज्यालोतर्फ देशलाई डोर्याउन आफ्नो लगानी गरेको छ । इप्पानले धेरै उपलब्धिहरू हासिल गरेको छ । इप्पानले देश विकासमा पुर्याउनु भएको योगदान धेरै नै महत्त्वपूर्ण छ । देशलाई एउटा आधुनिकीकरण र विकासको बाटोमा अगाडि बढाउन धेरै भूमिका खेलेको छ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।