logo-img

विश्वविद्यालयको कुलपतिमा प्राज्ञिक व्यक्ति चयन गर्न सांसदको सुझाव

विश्वविद्यालयको कुलपतिमा प्राज्ञिक व्यक्ति चयन गर्न सांसदले सुझाव दिएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज भएको छलफलका क्रममा उनीहरूले उक्त सुझाव दिएका हुन् ।

समितिमा ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्ता’सँग भएको छलफलमा सांसदहरुले संशोधन प्रस्ताव पेस गर्नुभयो । संशोधनकर्ता सांसद माधव सापकोटाले विश्वविद्यालयको कुलपति र सहकुलपतिमा प्राज्ञिक व्यक्ति चयन गर्दा उपयुक्त हुनुपर्ने धारणा राखे ।

विधेयकको दफा २१ मा विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री तथा दफा २२ मा सहकुलपतिमा शिक्षामन्त्री चयन हुने उल्लेख छ । सांसद सापकाटोले भने, ‘कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई चयन गर्नु बढी प्रभावकारी हुन्छ । विदेशमा प्राज्ञिक व्यक्तिले नेतृत्व गरेका विश्वविद्यालयले सफलता हासिल गरेका छन् ।’ उनले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विश्वविद्यालयको संरक्षक राख्नुपर्नेमा सुझाव दिए । 

सांसद सापकोटाले विधेयकको दफा ४७ मा सिट सङ्ख्या निर्धारण र विद्यार्थी भर्ना सम्बन्धी संशोधन माग गर्दै सहिद परिवार, बेपत्ता पारिएका, जनयुद्ध, जनआन्दोलन तथा विभिन्न आन्दोलनका घाइते तथा अपाङ्ग, पछाडि परेकालाई निश्चित कोटाको व्यवस्था गरी छात्रवृत्ति दिनुपर्ने विषय समावेश गर्नुपर्ने बताए । 



सांसद नारायणी शर्माले विधेयकको दफा २१ मै संशोधनको आवश्यकता रहेको भन्दै प्रधानमन्त्रीलाई संरक्षकका रूपमा राखिनुपर्ने बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्री देशको अभिभावक हो । उहाँले विश्वविद्यालयलाई समय त्यति दिन सक्नुहुन्न । त्यसैले कुलपति होइन संरक्षकका रूपमा राख्न उपयुक्त हुन्छ । विधेयक स्वागत योग्य छ ।’ 

त्यसैगरी संशोधनकर्ता सांसद चन्द्रबहादुर विश्वकर्माले दफा ७ (सभाको गठन), १० (प्राज्ञिक परिषद्को गठन), १२ (कार्यकारी परिषद्को गठन) र १४ (विद्या परिषद्)  मा संशोधनको आवश्यकता रहेको बताए । 



‘संविधानको मर्मलाई विधेयकले सम्बोधन गरेको छैन । संविधानमा आर्थिक, सामाजिक र शैक्षिक रुपले पछाडि पारिएका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिता गराइने भनेर स्पष्ट पारेको छ । त्यसैले यी दफाहरूमा संशोधनको आवश्यकता देखिन्छ,’ उनले भने ।  

सांसद दुर्गा राईले विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्रीलाई चयन गर्नुभन्दा शिक्षा तथा स्वास्थ्यसम्बन्धी विज्ञ राख्नुपर्ने सुझाव दिइन् । 



  • प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया