logo-img

५० हजार धरौटीमा छुटे निकोलश भुसाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेको आरोप लागेका डा. निकोलश भुसाल ५० हजार रुपैयाँ धरौटी राखेर छुटेका छन् । 

कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मुद्दामा दिएको आदेश बमोजिम   भुसाल अदालतमा ५० हजार रुपैयाँ धरौटी राखेर छुटेका हुन् ।  

डा. भुसालले अदालतको आदेश बमोजिम धरौटी बुझाए पनि प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएको र उनको स्वास्थ्य परीक्षण गर्न नजिकैको फिस्टेल अस्पतालमा लगिएको जनाएको छ । स्वास्थ्य परीक्षण गरेपछि उनीविरुद्ध प्रहरीमा अन्य मुद्दा नभएमा हिरासतमुक्त हुने बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा आजै जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले डा. भुसालविरुद्ध एक लाख जरिवाना र पाँच वर्षको कैद सजायको माग दाबी गर्दै कास्की जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मुद्दा दर्ता गरेको थियो । 



विद्युतीय सञ्चारमाध्यमको दुरुपयोग गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजनसमेतमा आँच पुर्‍याउने, गोपनीयता भङ्ग हुने सामग्री प्रकाशन गरेकाले भुसालमाथि कारबाही हुनुपर्ने माग अभियोजन पत्रमा गरिएको थियो ।

भुसालले विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ को दफा ४७ को उपदफा (१) ले निषेधित कसुर गरेको पुष्टि हुन आएकाले माग दाबी अनुसार आदेश पाउँ भन्दै सरकारी वकिल कार्यालयले अभियोजन पत्र दर्ता गरेको थियो ।

मुद्दा दर्ता भए पछि आजै भएको थुनछेक बहसमा उनलाई ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न अदालतले आदेश दिएको थियो । गत २९ मंसिरमा भुसाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका बेला रवि लामिछानेलाई भेट्न पुगेका थिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा त्यतिबेला हिरासतमा रहेका प्रतिवादी लामिछाने गत ५ पुसमा ६५ लाख धरौटी बुझाएर छुटेका छन् ।



यसअघि ७ पुसमा पक्राउ गरी त्यसको भोलिपल्ट पोखरा पुर्‍याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

  • प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया