दोस्रो संस्करणको आइसिसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि मलेसियामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित १६ देशको सहभागिता रहनेछ ।
नेपाली टिम एसिया छनोट विजेताका रूपमा विश्वकप खेल्न लागेको हो । नेपाल गत कात्तिकमा भएको विश्वकप छनोटमा सबै टोलीलाई हराउँदै च्याम्पियन बनेको थियो ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । समूह चरणमा नेपालले पहिलो खेलमा टेस्ट टिम बंगलादेशको सामना गर्ने तालिका छ । नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा शनिबार दिउँसो सवा १२ बजेदेखि मलेसियाको बांगीमा सुरु हुनेछ ।
बंगलादेशसँग विगत नतिजा
हालसम्म यू–१९ महिला क्रिकेटमा नेपालले एकपटक मात्र बंगलादेशसँग खेलेको छ । गत डिसेम्बरमा भएको यू–१९ एसिया कपमा उक्त पहिलो भेटमा नेपाल ९ विकेटले पराजित भयो ।
नेपाल अब उक्त हारको बदला विश्वकपमा लिने सोचमा छ । त्यसका लागि नेपालले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्न आवश्यक छ । किनकी तुलनात्मकरूपमा बंगलादेशको टिम अनुभवी छ । उसले पहिलो संस्करणको यू–१९ विश्वकपमा अस्ट्रेलियालाई हराएर सनसनी मच्चाएको थियो । र, बंगलादेशको टिममा रहेका केही खेलाडीसँग सिनियर टोलीबाट क्रिकेट खेलेको अनुभव पनि छ ।
बंगलादेशी टिमको कप्तानी सुमैया अख्तरले गर्ने छिन् । उनले गत संस्करणको विश्वकपका पनि खेलेकी थिइन् । साथै, अख्तरले बंगलादेशको सिनियर टिमबाट दुईवटा म्याच खेलिसकेकी छन् । उनीसँगै सिनियर टोलीबाट खेलिसकेका हबिबा इस्लाम र निशिता अख्तर निशी पनि बंगलादेशको यू–१९ टिममा छन् ।
यता नेपालको टिममा कप्तान पूजा महतो सर्वाधिक अनुभवी खेलाडी हुन् । उनले सिनियर टिमबाट २० टी–२० आई म्याच खेलिसकेकी छन् । र, पूजाले राम्रो अलराउन्ड प्रदर्शन गर्दै आएकी छन् ।
यू–१९ क्रिकेटमा त उनी नेपाली टिमकी प्रमुख हतियार हुन् । पूजाकै कप्तानीमा नेपाल विश्वकपमा छनोट भएको थियो । यस्तै, उनको नेतृत्वमा नेपालले यू–१९ एसिया कपमा पाकिस्तानलाई हराउँदै इतिहाससमेत रचिसकेको छ ।
त्यस्तै, नेपाली टिमकी अर्की महत्वपूर्ण खेलाडी हुन्, उपकप्तान सोनी पाख्रिन । उनले नेपालका लागि दुई टी–२० आई खेलेकी छन् । नेपाली टिममा अनुभवी खेलाडीको रूपमा सना प्रवीन पनि छिन् । उनी ओपनिङ ब्याटर हुन् । सनाले सन् २०२२ को यू–१९ विश्वकपको छनोटदेखि नेपालको यू–१९ टिमबाट खेलिरहेकी छन् ।
उनीहरूसहित नेपालको विश्वकप टिममा सावित्रा धामी, किरणकुमारी कुँवर, अनु कडायत, कुसुम गोदार, सिमाना केसी, कृष्मा गुरुङ, अलिशाकुमारी यादव, रिया शर्मा, रचनाकुमारी चौधरी, ज्योत्सनिका मरासिनी, तृष्णा विक र स्नेहा महरा रहेका छन् ।
विश्वकपमा नेपालले दोस्रो खेलमा २० जनवरीमा स्कटल्याण्ड र २२ जनवरीमा अस्ट्रेलियाको सामना गर्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।