logo-img

७०० जनाको नि:शुल्क आँखा परीक्षण

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविरअन्तर्गत सातसय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । नगरले बिहीबारदेखि स्थानीय आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा संयुक्त रुपमा नगरको ११ वटा वडामा चार दिनसम्म मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो ।

शिविरबाट सातसयभन्दा बढीको आँखा परीक्षण गर्दा एक सय ५० जनाको मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको संस्थाले जनाएको छ । शिविरमा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । आजदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा आँखाका बिरामीको शल्यक्रिया सुरु गरिएको संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीले बताए ।

‘आजदेखि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेका छौँ’, उनले भने । शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि सामग्री एवं औषधिको व्यवस्थासमेत गरिएको उनले जानकारी दिए । शिविरका लागि मातृका आइ सेन्टरले प्राविधिक सहयोग गरेको थियो । चार दिने शिविरअन्तर्गत पाँचखालको विभिन्न ११ स्थानमा शिविर सञ्चालन गर्दा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको हो ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत नगरसँगको सहकार्यमा शिविर आयोजना गरिएको पराजुलीले बताए । साथै पनौती नगरको वडा नं ७ स्थित स्वास्थ्य चौकीमा आँखा उपचार क्लिनिक ‘नियमित’ सञ्चालन सुरु गरिएको छ ।



नगरले बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पताल र लायन्स क्लब अफ पनौतीको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य चौकीमा प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार क्लिनिक सञ्चालन सुरु गरिएको हो । रेयुकाई आँखा अस्पतालका दृष्टि विशेषज्ञसहितको टोलीले सेवा दिने जनाइएको छ ।





  • प्रकाशित मिति : माघ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया