पहिलो संस्करणको खो खो विश्वकपको उपाधिका लागि नेपाली पुरुष र महिला टिमले आज आयोजक भारतको सामना गर्दै छन् । प्रतियोगिताअन्तर्गत महिलातर्फको फाइनल बेलुका ७ बजे तथा पुरुषतर्फको फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ ।
दुवै खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्सको इन्डोर हलमा हुने तालिका छ । हालसम्म नेपालले कुनै पनि स्पोर्ट्स स्पर्धामा विश्वकपको फाइनल खेल्न लागेको यो पहिलोपटक हो ।
महिलातर्फ नेपाल र भारत दुवै अपराजित रहँदै फाइनल खेल्न लागेका हुन् । पुरुषतर्फ भारत अपराजित रहेर फाइनल पुग्दा नेपालले समूह चरणमा भारतसँगै एक खेल हारेको थियो ।
प्रतियोगितामा नेपाली महिला टोलीले समूहमा सबै चार खेल जित्यो । नेपालले समूह चरणमा पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले हरायो ।
यस्तै, नेपालले प्रतियोगिताको क्वाटरफाइनलमा इरानलाई १०३–८ अंकको अन्तरले पाखा लगायो । सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गरेर फाइनलको यात्रा गर्यो ।
नेपाल अब आफ्नो लय कायम राख्दै आयोजक भारतलाई हराएर इतिहास रच्ने योजनामा छ । यस्तै, पुरुषतर्फ नेपाल समूह ‘ए’ को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो ।
पहिलो खेलमा भारतसँग ४२–३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरुलाई ८०–३४, तेस्रो खेलमा ब्राजिललाई १३४–८ र चौथो खेलमा भुटानलाई ९८–८ अन्तरले हरायो ।
क्वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७–१८ को अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनायो । यस्तै, सेमिफाइनलमा नेपालले इरानलाई ७२–२० ले हरायो । अब नेपाली टिम भारतविरुद्ध समूह चरणको बदला लिँदै उपाधि जित्ने दाउमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।