खेलकुदको इतिहास हेर्दा हालसम्म नेपालले कुनै पनि विश्वकप प्रतियोगिताको फाइनल खेलेको भेटिँदैन । तर, अब भने त्योक्रम तोडिएको छ । र, अब गर्वका साथ भन्न पाइनेछ, नेपालले पनि विश्वकप फाइनल खेलेको छ ।
नेपालले यो ऐतिहासिक उपलब्धि खो-खो विश्वकपमा हासिल गरेको हो । यस विश्वकपमा एउटा मात्र होइन नेपालको महिला/पुरुष दुवै टिमले फाइनलमा स्थान बनाए ।
विश्वकपमा नेपालको प्रदर्शन
जारी खो-खो विश्वकपमा नेपाली टिमको प्रदर्शन उच्चस्तरीय रह्यो । फाइनलसम्म पुग्दा नेपाली महिला टिम अपराजित छ । पुरुष टोलीले एक खेलमा हार बेहोरेको छ ।
महिला टोलीले समूहमा सबै चारवटै खेल जित्यो । नेपालले समूह चरणमा पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रोमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले हरायो ।
यस्तै, नेपालले क्वाटरफाइनलमा इरानलाई १०३–८ अंकको अन्तरले पाखा लगायो । नेपालले सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले हराउँदै फाइनलको यात्रा गर्यो ।
नेपाल अब आफ्नो लय कायम राख्दै आयोजक भारतलाई हराएर इतिहास रच्ने योजनामा छ । यस्तै, पुरुषतर्फ नेपाल समूह ‘ए’ को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो ।
समूह चरणको पहिलो खेलमा भारतसँग ४२–३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरुलाई ८०–३४, तेस्रो खेलमा ब्राजिललाई १३४–८ र चौथो खेलमा भुटानलाई ९८–८ अन्तरले हरायो ।
क्वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७–१८ को अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनायो । यस्तै, सेमिफाइनलमा नेपालले इरानलाई ७२–२० ले हरायो । अब नेपाली टिम भारतविरुद्ध समूह चरणको बदला लिँदै उपाधि जित्ने दाउमा छ ।
महिलातर्फको फाइनल आइतबार बेलुका ७ बजे तथा पुरुषतर्फको फाइनल खेल आजै राति ८ः१५ बजे सुरु हुनेछ । दुवै खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्सको इन्डोर हलमा हुने तालिका छ ।
खो खो खेलका नियम ?
विभिन्न अभावबीच पनि खो-खोमा नेपालले हासिल गरेको उपलब्धिको जति प्रशंसा गरे पनि कम हुन्छ । जारी विश्वकपमा नेपालले ऐतिहासिक प्रदर्शन गरेपछि खो खोले खेलकुदप्रेमीको ध्यान खिचेको छ । र, अहिले यो खेलको नियम बुझ्न खोज्नेको संख्या पनि बढ्दै गएको छ ।
खो खो खेल समूहमा खेलिन्छ र यसमा दौड, रणनीति र चुस्तीको आवश्यकता पर्छ । यो खेलको सुरुवातमा टस गरिन्छ । टस जित्ने टिम कप्तानले चेजिङ वा डिफेन्स अप्सनमध्ये एउटा चुन्छन् ।
यो खेलका लागि मैदान २७ मिटर लामो र १६ मिटर चौडा आवश्यक पर्छ । मैदानको बीचमा मध्यरेखा हुन्छ, जसले दुई भागमा खेललाई विभाजन गर्छ । मैदानमा ८ क्रस लाइनहरू हुन्छन्, जहाँ चेसरहरू बस्छन् । प्रत्येक टोलीमा १२ जना खेलाडी हुन्छन् । यद्यपि मैदानमा ९ जना मात्र खेल्न पाउँछन् । एउटा टोलीले पहिले चेसिङ भूमिका लिन्छ र अर्को टोली दौड्ने भूमिका ।
मध्यरेखाको दायाँ/बायाँ ८ जना चेसर बस्छन् । धाउने चेसरले विपक्षी टोलीका दौड्ने खेलाडीहरूलाई ‘खो’ भनेर छुनुपर्छ । दौड्ने टोलीका खेलाडी मैदानभरि दौडिन्छन् र चेसरहरूले छुन नपाऊन् भनेर प्रयास गर्छन् । उनीहरू मैदानभित्रै दौडिनुपर्छ ।
धाउने चेसरले आफ्नो टोलीका साथीलाई ‘खो’ भनेर छोएपछि मात्र उनी सक्रिय चेसर बन्छन् । चेसरहरू मध्यरेखाबाट मात्र घुम्नुपर्छ, अर्को क्रस लाइनको दिशामा जान मिल्दैन । यो खेल ९ मिनेटमा २ हाफ गरेर खेलिन्छ ।
प्रत्येक हाफमा टोलीहरू चेसिङ र दौड्ने भूमिकामा परिवर्तन गर्छन् । चेसरले दौड्ने खेलाडीलाई छुन सकेको आधारमा स्कोर पाउँछन् । दुवै टोलीले चेसिङ र दौड्नेमा राम्रो प्रदर्शन गर्नुपर्छ । अन्त्यमा जसको बढी स्कोर भयो सोही टिम नै विजेता घोषित हुन्छ ।
खो-खोको नियमबारे थप जानकारी पाउन तलको भिडियो हेर्नुहोला :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।