महिला प्रधानमन्त्री कपमा कोशीले बागमती प्रदेशलाई १० रनले हराएको छ । आइतबार धनगढीस्थित फाफ्ला क्रिकेट मैदानमा जारी प्रतियोगितामा कोशीले विजयी सुरुवात गरेको हो ।
बागमतीले भने खराब सुरुवात गर्यो । आइतबार भएको यस खेलमा कोशीले दिएको ६४ रनको सामान्य लक्ष्य पछ्याएको बागमती १२.१ ओभरमा ५३ रनमा अलआउट भयो ।
उसका लागि साविका यादवले २० र विपिशा शाहीले १२ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् ।
कोशीका लागि ज्योति दनुवार, रुबिना क्षेत्री र सङ्गीता राईले दुई/दुई तथा निशा शाहले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको कोशीले निर्धारित १३ ओभर खेलेर ७ विकेटको क्षतिमा ६३ रन बनायो ।
उसका लागि विमला मलाहाले १९ र कप्तान रुबिना क्षेत्रीले १५ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बागमतीका लागि मनीषा उपाध्यायले ह्याट्रिकसहित कुल विकेट लिइन् । उनले तीन ओभरमा एक मेडनसहित ७ रन दिएर चार विकेट लिएकी हुन् ।
यस्तै, पूजा साउद, विपिशा शाही र संस्कृति फुँयालले एक/एक विकेट लिए । प्रधानमन्त्री कपअन्तर्गत आजै भइरहेको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश खेलिरहेका छन् । प्रतियोगितामा ९ टिमको सहभागिता छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।