मकवानपुरको राक्सिराङमा एक वृद्ध चेपाङ दम्पतीले पहिलोपटक आफ्नै पक्की घर पाएका छन् । ९२ वर्षीय जयराम र ८० वर्षीया लक्ष्मी चेपाङले नयाँ घर पाएका हुन् ।
जयरामले घर पाउँदाको खुसी चेपाङ भाषामै भने ‘किम दोती आसतेआया’ घर पाउँदा खुसी लाग्यो यस्तै उनकी श्रीमती लक्ष्मीले पनि मर्ने बेलामा नयाँ घर पाएको भन्दै खुसी व्यक्त गरिन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–५ साचक टोलमा अभियन्ता रेखा लोप्चन तामाङको अगुवाइमा निर्माण गरिएको थियो ।
३ लाख ७ हजार रुपैयाँमा निर्माण गरिएको यो घरमा दुई वटा पलङसहितको कोठा, सोलार बत्ती, पिउने पानीको धारा र पक्की शौचालय छन् । अभियन्ता लोप्चन तामाङले उनीहरूलाई थप खर्चका लागि २ लाख ४२ हजार रुपैयाँ सहयोग गरेकी छन् ।
मनहरी बजारबाट दुई घण्टाको दूरीमा रहेको यो बस्तीमा सरकारी जनता आवास कार्यक्रमअन्तर्गत घर बन्दै छन् । तर जग्गाको स्वामित्व नभएका कारण यी दम्पती त्यस कार्यक्रमबाट वञ्चित थिए । उनीहरुले दम्पती वृद्ध भत्ताबाट जीवन निर्वाह गर्दै आएका छन् ।
नेपालमा चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६४ रहेको छ । सबैभन्दा बढी चितवनमा ३५ हजार ६३७, त्यसपछि मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा ४ हजार २६८ जना बसोबास गर्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।